काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।
एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको आरोपसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि रास्वपाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको हो।
पार्टीका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नलाई पार्टीले संवेदनशील रूपमा लिएको उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर प्रकृतिका रहेको पार्टीको भनाइ छ।
छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले अनुसन्धानको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सुनारमाथि लागेका आरोपको अनुसन्धानमा राज्यका सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।
सांसद सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो। उक्त सामग्री सार्वजनिक भएपछि रास्वपाले आन्तरिक छानबिन प्रक्रिया अघि बढाउँदै सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको हो।
यद्यपि, सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे पार्टीको छानबिन तथा राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानबाट थप तथ्य स्पष्ट हुनेछन्।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!