धरान / दसैँ नजिकिएसँगै धरानका बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ। नयाँ कपडा, घरायसी सामान, फर्निचर तथा घर सजावटका सामग्री खरिद गर्न ग्राहक बजार पुग्न थालेपछि धरानको व्यापारिक क्षेत्रमा चहलपहल बढेको हो।

दसैँका लागि परिवारका सदस्य तथा आफन्तका लागि कपडा, जुत्ता–चप्पलदेखि घरायसी सामग्रीसम्म खरिद गर्नेको सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन्। बजारमा ग्राहकको आवागमन बढेसँगै लामो समयदेखि सुस्त रहेको व्यापारमा समेत सुधार आउने अपेक्षा व्यवसायीको छ।

धरानका फर्निचर व्यवसायी मनोज राउतका अनुसार दसैँ नजिकिएसँगै फर्निचर तथा घरायसी सामानको माग बढ्न थालेको छ। दसैँलाई लक्षित गरेर घरको सरसफाइ तथा नयाँ सामान थप्ने ग्राहक बजारमा आउन थालेको उहाँले बताउनु भयो ।  “दसैँअघि घरमा नयाँ सामान राख्ने चलन भएकाले फर्निचरको माग पनि बढ्छ,” राउतले भन्नु भयो, “अहिले ग्राहकको चहलपहल बढ्दै गएको छ, मुख्य कारोबार भने अबका दिनमा अझ बढ्ने अपेक्षा गरेका छौँ।”

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका सदस्य अशोक जैनले चाडपर्व सुरु भएसँगै धरानको समग्र व्यापारिक गतिविधि बढ्न थालेको बताउनु भयो । उहाँका अनुसार दसैँमा हुने खर्चले बजार चलायमान बनाउने भएकाले व्यवसायीले पनि मागअनुसार सामानको मौज्दात बढाएका छन्।

निर्माण तथा डेकुरसम्बन्धी व्यवसाय गर्दै आएका नरेश मगरका अनुसार दसैँअघि घरको रंगरोगन, सजावट तथा डेकुरका सामान खरिद गर्ने ग्राहक पनि बढेका छन्। लामो समयदेखि घरको मर्मत तथा सजावटको योजना बनाएका ग्राहकले दसैँलाई त्यसका लागि उपयुक्त समयका रूपमा लिने गरेको उहाँले बताउनु भयो । 

धरानको मुख्य बजार भानुचोक, महेन्द्र पथ, पुतलीलाइन, छाताचोक, देशीलाइन, पुरोना बजारलगायत क्षेत्रमा किनमेल गर्नेको चाप बढेको व्यवसायीहरू बताउँछन्। दसैँका लागि आवश्यक कपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, फर्निचर, घर सजावट तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न ग्राहक बजार पुगिरहेका छन्।

चाडपर्वमा परिवारका सदस्यका लागि नयाँ कपडा र घरका लागि आवश्यक सामग्री खरिद गर्ने परम्परा रहेकाले दसैँको समयमा व्यापार बढ्ने गरेको व्यवसायीको भनाइ छ। सीमित आम्दानी भएका उपभोक्ताले समेत मूल्य र गुणस्तर तुलना गरेर सामान खरिद गर्ने गरेका छन्।

व्यवसायीहरूले दसैँलाई लक्षित गरी विभिन्न मूल्य र गुणस्तरका सामानको मौज्दात बढाएका छन्। ग्राहकको माग र क्रयशक्तिअनुसार विभिन्न ब्रान्ड, डिजाइन र मूल्यका सामान उपलब्ध गराइएको उनीहरू बताउँछन्।

दसैँको मुख्य किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा धरानको बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ। चाडपर्वको किनमेल बढेसँगै लामो समयदेखि सुस्त रहेको व्यापार व्यवसायसमेत चलायमान हुने उनीहरूको विश्वास छ।

धरानमा नयाँ मिनी मार्केट सुरु भयो 

20261006_150252

धरान–१२ रत्न रोडमा कोशी राजमार्गसँगै नयाँ मिनी मार्केट एम एम पि कम्प्लेस सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी पवन पोद्दार, गिरिधारी सापकोटा, नरेश मगर र निरज तोदीको संयुक्त लगानीमा असोज १ गतेदेखि मिनी मार्केट सञ्चालनमा ल्याइएको हो।

ग्राहकको दैनिक आवश्यकतालाई लक्षित गरी एउटै स्थानबाट विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको सञ्चालक पवन पोद्दारले बताउनु भयो । उहाँका अनुसार मिनी मार्केटमा कफी सप, होटल, कस्मेटिक्स, कपडा, टेलरिङ, जुत्ता–चप्पल, औषधि पसललगायतका व्यवसाय सञ्चालनमा आएका छन्। केही पसल भने सञ्चालनको तयारीमा छन्।

“ग्राहकले आवश्यक सामानका लागि धेरै ठाउँ धाउन नपरोस् भनेर एउटै स्थानमा विभिन्न व्यवसायलाई समेटेका छौँ,” पोद्दारले भन्नु भयो, “ग्राहकको माग र आवश्यकताअनुसार बजारलाई थप विस्तार गर्दै लैजाने योजना छ।”

कोशी राजमार्गसँगै रहेको एनआइजी एसिया बैंकदेखि केही तल रहेको मुख्य व्यापारिक क्षेत्रमा नयाँ बजार सञ्चालनमा आएसँगै यस क्षेत्रमा आर्थिक गतिविधिसमेत बढ्ने अपेक्षा सञ्चालकको छ। सडकसँगैको सहज पहुँच र विभिन्न प्रकारका व्यवसाय एकै ठाउँमा उपलब्ध हुने भएकाले ग्राहकलाई समेत सुविधा पुग्ने उनीहरूको भनाइ छ।

नयाँ मिनी मार्केटमा अहिले सबैभन्दा बढी आकर्षण ‘नेपाली जुत्ता घर’ले बनाएको छ। मिडिया उद्याेगीसमेरहेका मातृका नेपालले सञ्चालनमा ल्याएको जुत्ता पसलमा नेपालमै उत्पादन भएका विभिन्न ब्रान्डका जुत्ता तथा चप्पल उपलब्ध छन्। ९ वटा सटर भाडामा लिएर जुत्ता चप्पलको व्यवासाय सुरु गरिएको हो ।

नेपाली जुत्ता उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता तथा चप्पल एउटै पसलमा उपलब्ध भएपछि ग्राहकको आकर्षण बढेको व्यवसायी नेपालले बताउनु भयो । बजारमा उपलब्ध विदेशी ब्रान्डका तुलनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने ग्राहक पनि बढ्दै गएको उहाँको भनाई छ।

नयाँ बजार सञ्चालनमा आएको केही दिनमै ग्राहकको भीड देखिन थालेको स्थानीय दीपक कटवालले बताउनु भयो । “नयाँ बजार खुलेपछि सामान हेर्न र किन्न आउनेको चहलपहल बढेको छ,” धरान–१५ का विमल राईले भन्नु भयो, “यहाँ केही सामान अन्य बजारको तुलनामा सस्तोमा पाइने भएकाले ग्राहकको आकर्षण बढेको देखिन्छ।”

मिनी मार्केटमा कपडा, कस्मेटिक्स, जुत्ता–चप्पलजस्ता सामग्रीसँगै होटल तथा कफी सपसमेत सञ्चालनमा आएकाले किनमेलसँगै खानपिन र भेटघाटका लागि समेत सहज हुने सञ्चालकको भनाइ छ। टेलरिङ र औषधि पसल थपिएपछि ग्राहकको दैनिक आवश्यकता अझ धेरै समेटिने उनीहरूले बताएका छन्।

सञ्चालकहरूका अनुसार बजारमा अहिले सञ्चालनमा आएका व्यवसायसँगै थप पसलहरू खुल्ने क्रम जारी छ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार नयाँ व्यवसाय थप्दै मिनी मार्केटलाई धरानको एकीकृत किनमेल केन्द्रका रूपमा विकास गर्ने योजना उनीहरूको रहेको छ।

कोशी राजमार्गसँग जोडिएको रत्न रोडमा नयाँ व्यापारिक केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रको व्यापारिक गतिविधि थप विस्तार हुने व्यवसायीहरूको अपेक्षा छ। नयाँ लगानी र नयाँ व्यवसाय थपिँदा स्थानीय स्तरमा रोजगारीका अवसरसमेत सिर्जना हुने उनीहरूको भनाइ छ।