धनकुटा /  नेपाली कांग्रेसले आफ्नो मुल्य, मान्यता र आर्दश भुलेको नेकपा (एमाले)का सचिव तथा पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताएका छन् । धनकुटाका कांग्रेसले सुनिलबहादुर थापालाई मत मागेर आफ्नो इतिहास, आर्दश र अग्रजलाई भुलेको बताए ।
शनिबार पाख्रीबासमा वामगठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले धनकुटाका कांग्रेसले राप्रपा(प्रजातान्त्रिक)का उम्मेदवार थापालाई मत माग्नु बिडम्बना भएको बताए । धनकुटाका कांग्रेसले थापालाई मत मागेर हिड्नु विपी, सहिद भिमनारायण श्रेष्ठ र खोकु छिन्ताङका जनताहरुप्रतिको अपमान भएको बताए । उनले सोधे,‘जसले विपीलाई फासी दिनु पर्छ भनेर मुद्दा लड्यो, जसले भिमनारायण श्रेष्ठललाई फासीदियो । खोकु–छिन्ताङ्गका जनताको रगतमा होली खेल्यो । तिनैका सन्तानलाई किन बोकेर हिडिरहेको छ कांग्रेस ? यो इतिहास र अग्रजप्रतिको अपमान हो ।’ उनले विपी, गणेशमान र किसनुजीले देखेको सपना अब कांग्रेसको वर्तमान नेतृत्वले पुरा गर्न नसक्ने बताए । अब विपी, गणेशमानहरुको सपना वामगठबन्धनले नै पुरा गर्ने बताए । विपीको राष्ट्रियता कांग्रेसले पोलेर खाइसकेको उनको जिकिर छ ।
नेपालमा सामन्तवाद सदाका लागि समाप्त भएको भन्दै धनकुटामा पनि सामन्तवादको अन्त्य जरुरी भएको बताए । सामन्तवादमा मात्रै विरासतको राजनीति चल्ने भन्दै सुनिलबहादुर सामन्तवादको अवेशषको रुपमा रहको बताए । उनले भने, ‘धनकुटामा सामन्तवादको प्रेत जाग्न खोज्दैछ, अब यो प्रेतलाई खरानी बनाएर तमोरमा बगाइदिनुपर्छ ।’कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको उनको आरोप छ । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता गन्हाएको सिनो बोक्नु कांग्रेसको आर्दश विपरित भएको उनको भनाई छ ।
यो निर्वाचनपछि ५ वर्षसम्म बाम सरकार चल्ने र त्यो सरकारले गरेको कामको आधारमा ५० वर्षसम्म हुने सबै निर्वाचन बामपन्थीहरुले कब्जा गर्ने दाबी सचिव भट्टराईले गरे । बाम सरकार बने अधिनायकवाद आउने र जनता रुनुपर्ने आरोप लगाइरहेका विपक्षी कटाक्ष गर्दै सचिव भट्टराईले भने, ‘रोइरहेका जनता हाँसेपछि किन रुनु । ।
उनले पहाडी जिल्लाको समृद्धि लागि मध्येपहाडी लोक मार्ग र तमोर करिडोरको बाटो बर्षभित्रमा कालोपत्रे गर्ने बताए । तमोर नदीमा विद्युत उत्पादनको लागि जलासय बनाएर पानी जाहाज चलाउने योजना सुनाउँदै सचिव भट्टराईल भने, ‘त्यो जाहाजको ड्राइभर केपी ओली र प्यासेन्जर शेरबहादुर देउवा हुन्छ ।’ जोगबनी किमाथांका नाका खोलेर धनकुटालाई मुख्य ट्रान्जित प्वाइन्ट बनाउने, कृषि र पर्ययनको हब बनाउने र प्रत्येक नगरपालिकामा एक अर्ब र गाउँपालिकामा ५० करोड बजेट दिने योजना सचिव भट्टराईले सुनाए ।