धरान । धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको करिब १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार मन्दिरको नाममा रहेको साविक भादगाउँ सिनवारी–४क का कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर जग्गा झुट्टा सर्जमिन मुचुल्का तथा नाता प्रमाणित कागजात तयार गरी मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा नामसारी गरिएको थियो।
आयोगले उक्त जग्गाको हालको न्यूनतम मूल्यांकन ३६ लाख १० हजार रुपैयाँ कायम गरेको छ। अनुसन्धानका क्रममा साविक सिंगिया गाविस र धरान नगरपालिका–१४ बाट झुट्टा विवरणसहितका कागजात तयार गरिएको तथा सोही आधारमा मालपोत कार्यालय, सुनसरीले २०६५ जेठ २१ गते जग्गा नामसारी गर्ने निर्णय गरेको खुलेको आयोगको दाबी छ।
आयोगले तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष(सचिव) कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृत सुशील वैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी र नायब सुब्बा केदारबहादुर कार्कीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा बिगो असुल तथा कैद र जरिवानाको मागदाबी गरेको छ।
त्यस्तै, तत्कालीन धरान नगरपालिका–१४ का वडा सचिव उत्तम आलेविरुद्ध झुट्टा कागजात तथा प्रतिवेदन तयार गरेको कसुरमा कैद र जरिवानाको मागदाबी गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीलाई भने सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मतियार रहेको आरोप लगाइएको छ। उनले कागजपत्र मिलाइदिएबापत तत्कालीन सिंगिया गाविसका अध्यक्षरसचिव दाहाललाई ५ हजार रुपैयाँ दिएको समेत अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। चौधरीविरुद्ध मुख्य कसुरदारसरह सजाय र उक्त रकमसमेत जफत गर्न माग गरिएको छ।
स्थानीय जग्गा कारोबार गर्ने धरान–१४ का पंकज घिमिरेलाई पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा मतियार रहेको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।
आयोगका अनुसार जग्गा हाल भागमैन थरूनीको नाममा दर्ता कायम रही भोगचलनमा रहेको छ। उक्त जग्गा सार्वजनिक सम्पत्ति भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी पुनः नरसिंह भगवान मन्दिरको नाममा कायम गर्न मागदाबी गरिएको छ।
अख्तियारले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारीमा रहेका सरकारी कर्मचारी तथा अन्य व्यक्तिको मिलेमतोमा मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पुर्याइएको निष्कर्षसहित आरोपपत्र दायर गरेको हो।


#Dharan


















