धरान । सिन्धुलीको फिक्कलमा बसको ठक्करपछि सडक किनारमा रोकिएको कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।
सार्वजनिक यातायात सुधारका लागि गठित संयुक्त समन्वय समितिको बुधबार बसेको बैठकले बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारका लागि आवश्यक सबै संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको हो।
समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी आबद्ध हुनुहुन्छ ।
बैठकले बेपत्ता व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै खोजी तथा उद्धार कार्यमा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्न सरकारलाई आग्रह गरेको छ।
समितिले उक्त घटनालाई दुःखद् सडक दुर्घटनाका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रशासनिक तथा जनदबाबका माध्यमबाट यातायात व्यवसायी र मजदुरलाई अनावश्यक रूपमा आतंकित नगर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यसैबीच, देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोले सडक सञ्जालमा व्यापक क्षति पुर्याएको तथा धेरै स्थानमा यातायात सेवा अवरुद्ध भएको अवस्थाप्रति पनि बैठकले गम्भीर चासो व्यक्त गरेको छ।
समितिले सडक अवरोधका कारण हजारौं यात्रु, चालक, सहचालक, मजदुर तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै सडक पुनःसञ्चालन, जोखिमयुक्त सडकको तत्काल मर्मत, यात्रुको सुरक्षा तथा प्रभावित यातायात क्षेत्रको संरक्षणका लागि आवश्यक स्रोत–साधन परिचालन गर्न सरकारसँग माग गरेको छ।
यातायात व्यवसायी तथा श्रमिकहरूलाई मौसम र सडकको अवस्थाबारे सरकारी निकायबाट जारी सूचना पालना गर्दै पूर्ण सावधानीका साथ मात्रै सवारी सञ्चालन गर्न समितिले आग्रह गरेको छ। यात्रुहरूलाई पनि अत्यावश्यक बाहेकको यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।



















