धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा।डा। स्मृति कार्कीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै प्रतिष्ठानको आर्थिक, प्रशासनिक तथा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिष्ठानको इतिहासमै पहिलो महिला उपकुलपतिका रूपमा नियुक्त हुनुभएकी उहाँले पदभार ग्रहणसँगै सुधारका स्पष्ट कार्ययोजना अघि सार्नुभएको हो।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपकुलपति कार्कीले प्रतिष्ठानको आर्थिक अवस्था सुदृढ बनाउने, सूचना प्रविधिमा आधारित सेवा तथा प्रशासनिक प्रणाली विकास गर्ने र एमआरआई सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढाउने विषयलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो।

उहाँले प्रतिष्ठानलाई आर्थिक रूपमा आत्मनिर्भर, प्रशासनिक रूपमा पारदर्शी तथा सेवामुखी संस्थाका रूपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रतिष्ठानमा देखिएका आर्थिक तथा व्यवस्थापकीय चुनौतीलाई योजनाबद्ध रूपमा समाधान गर्दै उपचार, शिक्षण र अनुसन्धानलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

उहाँले बिरामीले सहज, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न विशेष जोड दिइने बताउँदै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो। अस्पतालको अभिलेख प्रणाली, प्रशासनिक कार्यसम्पादन तथा सेवा व्यवस्थापनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

उपकुलपति कार्कीले मंगलबारदेखि प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, शिक्षक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिसँग चरणबद्ध छलफल सुरु गरिने जानकारी दिनुभयो। प्राप्त सुझावका आधारमा एक साताभित्र नयाँ कार्यसमिति गठन गरी नियमित प्रशासनिक तथा विकासका कामलाई गति दिइने उहाँले बताउनुभयो।

प्रतिष्ठानमा लामो समयदेखि आवश्यक मानिएको एमआरआई सेवा सञ्चालनका लागि उपकरण खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले आधुनिक स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो। एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने र उपचार सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो।

उहाँले आफ्नो नियुक्ति राष्ट्रिय स्तरबाट भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग आवश्यक समन्वय गरी प्रतिष्ठान सुधार अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। प्रतिष्ठानको गरिमा, विश्वसनीयता र शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर पुनः स्थापित गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

प्याथोलोजी विभागकी प्राध्यापकसमेत रहनुभएकी प्रा।डा। कार्की प्रतिष्ठानका समस्या र आवश्यकताबारे जानकार हुनुहुन्छ ।