• बज्रकुमार राई

जोर्डनमा रहेको विशाल भेन्यू एभरेस्ट रेस्टुरेन्टमा आयोजित 'द नेप्लिज एसोसिएसन हङकङ'को साहित्य विशेष कार्यक्रम एउटा साधारण साहित्यिक गोष्ठी मात्र रहेन, यो त युवा कवि उत्तम तुम्सा लिम्बुको एकल कविता कन्सर्टका माध्यमबाट निर्मित एक भव्य कवितात्मक उत्सव बन्न पुग्यो। नेपालबाट आयोजक संस्थाको निमन्त्रणामा हङकङ आइपुगेका उत्तमले आफ्नो पृथक प्रस्तुति शैली र ओजस्वी कवितामार्फत नेपाली साहित्यिक मञ्चमा एउटा नयाँ मानक स्थापित गर्न सफल देखिए।

जब उत्तम मञ्चमा उत्रिए, हलको वातावरणमा एक किसिमको कम्पन पैदा भयो। उनको प्रवेश नै आफैंमा एउटा नाटकीय र विद्रोही उद्घोष थियो। मञ्चमा उभिनसाथ उनले दाहिनेतिर राखिएको दमाहामा छोटो डण्डाले बेस्मारी प्रहार गरे। पिठ्युँमा एउटा कालो झोला भिरेका, एकातिर दाहिने हातमा दमाहाको डण्डा र देब्रे हातमा बासुरी बोकेका उत्तमको त्यो रूपले कविताका बिम्बहरू केवल शब्दमा मात्र नभई साङ्गीतिक धुनमा पनि उत्तिकै जीवन्त हुन्छन् भन्ने अड्कल गर्न कसैलाई गाह्रो परेन। अनि लिम्बू 'हाक्पारे' शैलीको गीतको लयसँगै कविता शुभारम्भ गरे। त्यो देख्दा/सुन्दा यस्तो लाग्थ्यो—कविले एउटा आन्दोलनको उद्घोष गरे। आफ्नो पृथक प्रस्तुतिको सामुद्रिक छालको रौनकले दर्शक-स्रोतालाई स्पर्श गरे। त्यो दमाहाको गर्जन, बाँसुरीको सुमधुर आलाप र उनको कवितात्मक गीतको सशक्त फ्युजनले पहिलो क्षणमै दर्शकहरूलाई मन्त्रमुग्ध पार्दै कार्यक्रमको केन्द्रमा बाँधिहाल्यो। उनको त्यो कालो झोला केवल एउटा वस्तु नभएर प्रवास र जीवन-भोगाइको भारी बोकेको कविताको एउटा सशक्त बिम्ब बनेको थियो।

कविता वाचनका स्थापित र परम्परागत धारहरूलाई पूर्णतः भत्काउँदै उनले मञ्चमा जे देखाए, त्यो केवल वाचन नभएर एक जीवन्त अभिनय र भोगाइको प्रतिध्वनि थियो। हातमा कुनै कागज वा पुस्तक नलिई, पूर्णतः कण्ठस्थ कविताहरू प्रस्तुत गर्दा उनी आफ्नै जीवन र युगको पीडालाई मञ्चमा साक्षात् उभ्याइरहेका थिए। उनको प्रस्तुतिको सबैभन्दा चकित पार्ने पाटो भनेको मिठासपूर्ण भारी आवाज, वाद्यवादनको प्रयोग र छोटो-मिठो कवितालाई जीवन्त पार्ने अभिनयको कुशलता थियो। कविता जब आफ्नो चरम उत्सर्गमा पुग्थ्यो र भावनाहरू कुनै आन्दोलनको आवेशजस्तै तीव्र बन्थे, तब उनले दमाहालाई बेस्सरी प्रहार गर्थे, जसले कविताको प्रत्येक पङ्क्तिलाई दर्शकको नसा-नसामा गुञ्जायमान गराउँथ्यो।

'एउटा प्रश्न गर्नु थियो' कविताबाट सुरु भएको उनको यो एकल कन्सर्टले दर्शकलाई भावुकताको उत्कर्षमा पुर्‍यायो। 'अम्लारीफुङको पातभरि खबर' र 'चराको प्वाँखमा चिठी' जस्ता बिम्बहरू प्रयोग गर्दा हलको गम्भीर शान्तिमा पूर्वी पहाडको अर्गानिक माटोको बास्ना फैलिएको अनुभव भयो। 'तस्बिरमा अल्झिएको सम्झनाको मफलर' मार्फत डायस्पोराको नोस्टाल्जियालाई प्रस्तुत गर्दा हङकङमा रहेका हामी सबैले आफ्ना प्रियजनहरूलाई देशमै छोडेर आएको रिक्ततालाई आफ्नै काँधमा महसुस गर्‍यौं।

उत्तमको प्रस्तुतिको सबैभन्दा सशक्त र साहसपूर्ण पाटो 'ठुलीले जाँड बेच्न छोडिन्' रह्यो। उनले ठुलीको पात्रमार्फत वर्गीय, लैंगिक र सामाजिक यथार्थको जुन निर्भीक चित्रण गरे, त्यसले पितृसत्तात्मक समाजको अनुहारमा कडा व्यङ्ग्य प्रहार गर्‍यो। 'जाँड अमिलो भएको थाहा पाउनेले ठुलीको मन अमिलो भएको किन थाहा पाएनन्?' उनको यो प्रश्न केवल कविताको हरफ मात्र थिएन, यो त समाजले उपेक्षा गरेको एउटा सिंगो वर्गको आर्तनाद थियो। उनी मञ्चमा त्यो पात्रलाई जसरी उभ्याए, त्यो क्षण साँच्चै विस्मयकारी थियो। उनको त्यो युवा जोश, अभिनयको कुशलता र लिम्बू शैलीको 'हाक्पारे' तथा मौलिक सांस्कृतिक चेतले उनलाई समकालीन युवा पुस्ताको एक सशक्त र मौलिक आवाजका रूपमा स्थापित अवश्य गर्नेछ भन्न कत्ति पनि हिच्किचाहट भएन।

यसै विशेष अवसरमा, हङकङ साहित्यिक साझा श्रृंखलाकी संयोजक तथा कवयित्री जुनू रानाले पनि आफ्नो दुई थान कविता वाचन गरेर काव्यिक उपस्थिति जनाइन्। उनले आफ्नो कविता संग्रह 'रातो नदी' बाट 'नुन' शीर्षकको कविता सुनाउँदा पुर्खाको इतिहास र संघर्षको गाथालाई निकै मार्मिक ढङ्गले पस्किएकी थिइन्। साथै, आफ्नो अर्को कविता 'पईङ खोलाको लय' मार्फत उनले प्रवासको सकस र बाल्यकालको सम्झनालाई जुन कलात्मक लयमा प्रस्तुत गरिन्, त्यसले कविता कन्सर्टको गरिमालाई थप उचाइ दियो।

'युगका स्वरहरू' मा राष्ट्रियता र पहिचानको मुद्दा उठाउने होस् वा 'त्यस दिन' को आधुनिक प्रयोगवादी शैलीमा निराशाभित्र आशा खोज्ने होस्, उत्तमले कवितालाई बन्द कोठा र कागजका पानाहरूबाट बाहिर निकालेर दर्शकको सामूहिक संवेदनासँग जोडे। एक साहित्य अनुरागी दर्शक/श्रोताको रूपमा, हलमा उपस्थित हुँदा म उत्तमका शब्द, उनका हरेक प्रस्तुति र उनले मञ्चमा गरेका ती गहन कवितात्मक हर्कतहरूलाई नजिकबाट महसुस गर्न पाएकोमा आफैँलाई भाग्यमानी ठानें। उनका कविताका शब्दहरू मात्र होइनन्, तिनको उच्चारण, भावभङ्गीमा र प्रस्तुतिको शिल्पले मलाई एउटा छुट्टै ब्रह्माण्डको यात्रा गरायो।

हलबाट बाहिर निस्किँदा पनि उनका ती दार्शनिक प्रश्नहरू र मञ्चमा देखिएका ती दृश्यहरू कानमा र मनमा गुञ्जिरहेका थिए। र, सदैव रहने छन्। त्यति महसुस गरिसकेपछि उत्तम तुम्सा लिम्बुले नेपाली कविता क्षेत्रमा एउटा नयाँ मानक स्थापित गर्ने कुरामा म ढुक्क मान्दा हुन्छ भन्ने लाग्नु अस्वाभाविक लागेन; उनको यो अद्वितीय सिर्जनशीलता र कलाप्रतिको समर्पणलाई नमन गर्दै, उनको उज्ज्वल र कीर्तिमय भविष्यको लागि म हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु। साँचो अर्थमा, उत्तमको यो एकल प्रस्तुति हङकङेली नेपाली साहित्यिक इतिहासमा एउटा दुर्लभ एवं अविस्मरणीय कोसेढुङ्गाका रूपमा सदैव दर्ज भइरहनेछ। यो मेरो दर्शक दीर्घाको दृष्टिकोणमा उब्जिएको प्रेमिल विश्वासको शुभेच्छाले कवि उत्तम लिम्बु नेपाली काव्यिक जगतमा पृथक, शक्तिशाली र मौलिक प्रकृति बोकेर शिखरतर्फ उक्लदै जाने क्रममा एक झिल्का स्मृति बनोस् भन्ने अन्तर्भावसहित कवि उत्तमलाई शुभकामना।

हङकङ।

utam 1