हङकङ / नेपाली कवितालाई मञ्चीय कला )परफर्मेन्स आर्ट) को नवीन र जीवन्त शैलीमार्फत प्रस्तुत गर्दै आएका युवा कवि उत्तम तुम्सा लिम्बुले हङकङमा आफ्नो एकल ‘कविता कन्सर्ट’ प्रस्तुत गर्नु भएको छ । ‘द नेप्लिज एसोसिएसन हङकङ’को आयोजनामा जोर्डनस्थित एभरेस्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा कवि लिम्बुको सशक्त प्रस्तुति दर्शकका लागि अविस्मरणीय अनुभव बनेको थियो।
हङकङ नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याउ ची मोङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । विशेष अतिथिका रूपमा नेपाली महासङ्घका अध्यक्ष नवीन सुहाङ, वुमेन्स कमिसनकी सदस्य रिता गुरुङ, याक्थुङ मुन्धुम अध्ययन प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र चेम्जोङ, आयोजक संस्थाका सल्लाहकारहरू कुलप्रसाद गुरुङ, टङ्क राना र देव राजन गुरुङ, एनआरएनए हङकङकी अध्यक्ष अनु राई, हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनू राना, संरक्षक दाजु गुरुङ, राजकुमार राई, टङ्क सम्बाहाम्फेलगायत साहित्यिक, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धनकुटाको कुरुलेतेनुपामा जन्मिएका कवि लिम्बुले कार्यक्रममा आफ्ना करिब एक दर्जन कविता प्रस्तुत गर्नु भयो । तर उहाँको प्रस्तुति केवल कविता वाचनमा सीमित रहेन। शब्द, स्वर, अभिनय, हाउभाउ र भावभङ्गीको प्रभावकारी संयोजनमार्फत उहाँले कवितालाई सजीव दृश्यमा रूपान्तरण गर्दा दर्शक दीर्घाबाट ताली पाउनु भयो । कहिले तमोर नदीको सुसाहट, कहिले सल्लाघारीमा बहने बतास, कहिले च्याब्रुङको तालमा धान नाचिरहेको ग्रामीण परिवेश, त कहिले परदेशमा रहेका नेपालीको मनलाई मातृभूमिसँग जोड्ने संवेदनशील अनुभूति उहाँका कवितामा सशक्त रूपमा अभिव्यक्त भयो।
परम्परागत कविता वाचनभन्दा पृथक् परफर्मेन्स शैलीले प्रस्तुत गरिएको उहाँको कन्सर्टले उपस्थित दर्शकलाई भावुक मात्र बनाएन, नेपाली कविताको सम्भावना र प्रस्तुति शैलीबारे नयाँ दृष्टिकोण पनि प्रदान गर्यो। कवितालाई अभिनय, संगीतात्मक लय र मञ्चीय कलासँग जोडेर दर्शकमाझ पुर्याउनुपर्छ भन्ने उहाँको अवधारणा यस कार्यक्रममा प्रभावशाली रूपमा अभिव्यक्त भएको देखिन्थ्यो।
कार्यक्रममा हङकङकी चर्चित कवि जुनू रानाले पनि आफ्ना दुई उत्कृष्ट कविता वाचन गर्दै साहित्यिक वातावरणलाई थप समृद्ध बनाउनुभयो ।
वि.सं २०७३ मा प्रकाशित कविता सङ्ग्रह ‘क्यालिग्राफी’ मार्फत साहित्यिक यात्रालाई थप उचाइ दिएका कवि लिम्बुले नेपालका विभिन्न सहरमा दर्जनौँ सफल ‘कविता कन्सर्ट’ गरिसक्नुभएको छ । युवा कविहरूको साहित्यिक अभियान ‘सम्भव समूह’सँग आबद्ध उनी सन् २०१७ मा आयोजित प्रतिष्ठित सार्क साहित्य सम्मेलनमा समेत सहभागी भइसकेका छन्।
प्रवासमा नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले हङकङमा रहेका नेपाली साहित्यप्रेमीहरूलाई एक फरक स्वाद र गहिरो साहित्यिक अनुभूति प्रदान गरेको सहभागीहरूको प्रतिक्रिया थियो। उपस्थित बुद्धिजीवी, साहित्यकार तथा समाजसेवीहरूले कवि लिम्बुको सिर्जनात्मक प्रस्तुति नेपाली कविताको मञ्चीय विकासतर्फको सशक्त अभ्यास भएको उल्लेख गर्दै खुलेर प्रशंसा गरेका थिए।



















