धरान । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घ नेपालको सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले इटहरीका शिक्षासेवी काशिनाथ दङ्गालको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

महासङ्घको उपाध्यक्षहरूमा ज्ञानबहादुर लोन (ललितपुर), राबहादुर टमाटा (हुम्ला), श्यामसुन्दर महतो (सर्लाही), महिला उपाध्यक्षमा सीता स्याङ्तान (सिन्धुली), महासचिवमा वीरेन्द्रराज विष्ट (कञ्चनपुर), सचिवमा समीर खान (मकवानपुर), प्रेमबहादुर थोकर (काभ्रे), महिला सचिवमा कमला पन्थी (रुपन्देही) र कोषाध्यक्षमा उषा सिंखडा(९काठमाडौँ) चयन हुनुभएको छ ।

महासङ्घले सामुदायिक विद्यालय सुधार र अभिभावकको भूमिकाबारे दुई दिने राष्ट्रिय सम्मेलनसहित काठमाडौँमा महाधिवेशन आयोजना गरेको थियो । उक्त अधिवेशनले नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष कृष्ण थापा, निवर्तमान अध्यक्ष गुणराज मुक्तानलगायतले ‘हामी सुधार्छौँ, हाम्रा विद्यालय’ अभियानको निरन्तरतासहित कार्यकाल सफलताको कामना गर्नुभयो ।

सम्मेलनको उद्घाटन सोमबार शिक्षाविद् केदारभक्त माथेमाले गर्नुभएको थियो । सम्मेलनका अवसरमा शिक्षा विज्ञ, सरकारी अधिकारी र स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाबिच तीन तहका सरकार र विद्यालय सुधारमा अभिभावकको भूमिकाबारे विचार विमर्श पनि गरिएको थियो ।

 नव निर्वाचित दंगाल यसअघि सचिव हुनुहुन्थ्यो । इटहरीको जनता माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनु भएका दङ्गालको नेतृत्वमा पूवृमा विद्यालय सुधार अभियान सुरु गरिएको छ । 

नवनिर्वाचित अध्यक्ष दंगालले महासंघलाई अझ सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । देशभरका विद्यालय व्यवस्थापन समितिलाई एकताबद्ध गर्दै सामुदायिक शिक्षाप्रतिको जनविश्वास पुनःस्थापित गर्न सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनु भयो । 

उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले सामुदायिक विद्यालयका अधिकांश शिक्षक तालिमप्राप्त भए पनि अपेक्षित नतिजा आउन नसक्नु व्यवस्थापकीय कमजोरीका कारण भएको बताउनु भयो । उहाँले शिक्षकको नियमित उपस्थिति, गृहकार्य परीक्षण, विद्यार्थीको निरन्तर मूल्याङ्कन र जवाफदेहितालाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समितिलाई अधिकारसम्पन्न गभर्निङ बोर्डका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भयो । स्थानीय तहलाई शिक्षक नियुक्ति, स्रोत व्यवस्थापन र नीतिगत निर्णयको अधिकार दिनुपर्ने समेत उहाँले बताउनु भयो ।  

सम्मेलनमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, नेपाल सरकारका पूर्वसचिव डा. महाश्रम शर्मा, डा. विष्णु कार्की, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, शिक्षा पत्रकार समाजका संस्थापक अध्यक्ष प्रकाश सिलवाल तथा देशभरबाट आएका महासंघका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।