धरान । नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको पक्राउप्रति नेकपा एमाले कोशी प्रदेश कमिटीको गम्भीर आपत्ति जनाएको छ। प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमलाई गैरकानुनी, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण भएको बताउनु भएको छ ।

अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा पार्टीको सांगठनिक कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई राज्य संयन्त्रको दुरुपयोग गर्दै पक्राउ गरिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा सार्वजनिक पद सम्हालिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वमाथि गरिएको व्यवहारले एमाले र उसका नेतृत्वविरुद्ध भइरहेको श्रृंखलाबद्ध प्रहारको निरन्तरता पुष्टि गरेको दाबी गरिएको छ।

एमाले कोशी प्रदेशले उपाध्यक्ष पौडेललाई पक्राउ गरी रातारात काठमाडौं ल्याइएको घटनालाई वर्तमान सरकारले विपक्षी दलप्रति अपनाएको अराजनीतिक र अलोकतान्त्रिक प्रवृत्तिको उदाहरणका रूपमा चित्रण गरेको छ। विज्ञप्तिमा सरकारले एमालेप्रति असहिष्णुता र प्रतिशोधको भावना राखेको आरोपसमेत लगाइएको छ।

त्यसैगरी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रबहादुर आङ्बोको निवासमा प्रहरीले गरेको भनिएको गतिविधिप्रति पनि प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिको एमाले कोशी प्रदेश कमिटीले निन्दा र भर्त्सना गरेको विज्ञप्तिमा उल्लेख छ।

एमाले कोशी प्रदेश कमिटीले संघीय सरकारको उक्त कदमलाई लोकतन्त्रविरोधी र दमनकारी कार्यको संज्ञा दिँदै विपक्षी दलका नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, सरकारका कथित स्वेच्छाचारी तथा अधिनायकवादी गतिविधिविरुद्ध प्रतिरोधमा उत्रिन नागरिक, लोकतान्त्रिक शक्तिहरू तथा पार्टीका कार्यकर्ताहरूलाई आह्वानसमेत गरिएको छ।