धरान  / प्रायः यातायात मजदुरलाई सडक, सवारी र दैनिक श्रमसँग मात्र जोडेर हेरिन्छ। तर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आफ्नो ४७औँ स्थापना दिवसलाई मानव सेवा, सामाजिक उत्तरदायित्व र आत्मअनुशासनको सन्देशसँग जोड्दै फरक उदाहरण प्रस्तुत गरेको छ।

नेपाल यातायात स्वतनत्र मजदुर संगठनको ४७औँ स्थापना दिवसको अवसरमा संगठनले धरानका विभिन्न सामाजिक संस्थामा पुगेर राहत वितरण गर्नुका साथै बिरामी, अशक्त र ज्येष्ठ मजदुर नेताहरूको घरमै पुगेर अवस्था बुझ्ने तथा सहयोग गर्ने अभियान सञ्चालन गर्यो। त्यही अभियानको निरन्तरतास्वरूप मंगलबार धरानको भानुचोकमा आयोजित रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको छ।

रक्तदान कार्यक्रम विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा यातायात मजदुरहरूले समाजप्रति आफ्नो जिम्मेवारी झल्काउने आठबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन्।

संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँका अनुसार प्रतिबद्धतापत्रमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, यात्रुहरूसँग नम्र र सम्मानजनक व्यवहार गर्ने, ट्राफिक नियमको पूर्ण पालना गर्ने, सुरक्षित यात्रामा ध्यान दिने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने विषयहरू समेटिएका छन्।

स्थापना दिवसको अवसरमा संगठनले धरान–छाता चोकस्थित अपांगता भएका व्यक्तिहरूलाई ८ बोरा चामल, धरान–१६ मा रहेका सुस्त मनस्थिति भएका भाइबहिनीहरूलाई ४ बोरा चामल, बहिरा संघलाई ४ बोरा चामल तथा धरान–३ स्थित अनाथ आश्रमलाई ८ बोरा चामल वितरण गरेको थियो।

त्यसैगरी, अग्रज मजदुर नेतृ आसा राईको निवासमै पुगेर संगठनले ३ बोरा चामल र दाल सहयोग गरेको छ। लामो समयदेखि शय्याग्रस्त रहेका संगठनका साधारण सदस्य पुण्य प्याकुरेललाई पनि चामल, दाल र साबुन उपलब्ध गराउँदै संगठनका प्रतिनिधिहरूले आत्मीय साथ दिएका थिए।

धरान बालिका माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा मजदुरका शुभेच्छुक इन्द्रबहादुर राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र शीघ्र स्वास्थ्य लाभको कामना गर्न पनि मजदुर टोली उहाँको निवास पुगेको थियो।

संगठनका अध्यक्ष किरन थापाको नेतृत्वमा सम्पन्न कार्यक्रमहरूको संयोजन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले गर्नु भएको थियो ।  

नेपाल कम्युनिस्ट पार्टी कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले राहत वितरण तथा सामाजिक सेवाका गतिविधिलाई अनुकरणीय कार्यको संज्ञा दिँदै संगठनलाई धन्यवाद दिनु भएको छ । 

दैनिक जीवनमा यात्रु बोकेर जीविकोपार्जन गर्ने मजदुरहरू समाजका कमजोर, असहाय र पीडित वर्गको सहारामा उभिँदा स्थापना दिवस केवल औपचारिक उत्सवमा सीमित नभएको आफुले अनुभव गरेको नेपाल यातायात स्वातनत्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मोतिराज सुनुवारले बताउनु भयो । 

rahat