धरान । सामान्यतया गाउँ वा नगरका वडा कार्यालय भन्नेबित्तिकै हाम्रो दिमागमा सिफारिस पत्र बनाउने, नागरिकताको कागज प्रमाणित गर्ने र विकासका योजनाका लागि सरकारी बजेट पर्खिएर बस्ने अखडाको चित्र आउँछ। तर, धरान उपमहानगरपालिका वडा नं। १३ का वडाध्यक्ष नेत्र काफ्लेको कार्यशैलीले यो परम्परागत भाष्यलाई निकै बलियो गरी चुनौती दिएको छ। उपमहानगर वा केन्द्र सरकारको मात्र मुख ताकेर बस्ने परिपाटीलाई तोड्दै उहाँले वडावासीका लागि एकपछि अर्को उदाहरणीय काम गरेर देखाइरहनुभएको छ।

यसैको पछिल्लो कडी हो– धरान–१३ स्थित आधारभूत स्वास्थ्य चौकीमा बुधबारदेखि सुरु भएको आधुनिक प्रयोगशाला (ल्याब) सेवा। धरानभरिका आधारभूत स्वास्थ्य केन्द्रहरूमध्ये ल्याब सेवा उपलब्ध गराउने यो नै पहिलो स्वास्थ्य चौकी भएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो। स्वास्थ्य प्रयोगशालाको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम वेघाले गर्नुभएको हो।

पहिलो दिनमै उत्साहजनक सेवा

सेवा सञ्चालनमा आएको पहिलो दिनमै २९ जना स्थानीयले ल्याब सेवा लिएका छन्, जसमा ८ जना महिला छन्। यसले स्थानीय स्तरमै ल्याब सेवाको आवश्यकता कति गहिरो गरी खड्किएको थियो भन्ने प्रष्ट पार्छ। हाल न्यूनतम स्रोत–साधनका बीच सर्मिला राईलाई ल्याब टेक्निसियनका रूपमा नियुक्त गरेर सेवा अगाडि बढाइएको छ।

स्वास्थ्य चौकीबाट अब सुगर, प्रेसर, युरिक एसिड, युरिन र क्रियाटिनिनलगायतका परीक्षण सेवा न्यूनतम शुल्कमा उपलब्ध गराइँदै आएको वडाध्यक्ष काफ्लेले बताउनुभयो। उहाँका अनुसार थाइराइड परीक्षणबाहेक अधिकांश सामान्य ल्याब परीक्षणहरू यही केन्द्रबाट प्रदान गरिनेछ।

बजारभन्दा आधी सस्तो, असहायलाई पूर्ण छुट

यो ल्याब केवल सेवा सुरु गर्नका लागि मात्र खोलिएको होइन, यसको उद्देश्य नितान्त सेवामुखी र लोककल्याणकारी छ। वडाध्यक्ष काफ्लेले भन्नुभयो, ूबालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई शुल्कमा पूर्ण विशेष छुट दिइनेछ भने अन्य सेवाग्राहीलाई बजार मूल्यभन्दा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइनेछ।ू

स्वास्थ्य चौकीमा हाल तीन वटा बेड रहेको र केही समयभित्र थप व्यवस्थापन गरी बेडसहितको स्वास्थ्य सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। आगामी दिनमा ल्याब टेक्निसियनको तलब व्यवस्थापनका लागि धरान उपमहानगरपालिकासँग समन्वय गरिने योजना रहेको पनि वडाध्यक्ष काफ्लेले बताउनुभयो। वडाको यो पहलबाट विशेषगरी धरानका वडा नं। १३, ४, २० तथा आंशिक रूपमा वडा नं। १४ का बासिन्दाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

दाता फकाउने र विकास भित्र्याउने नेत्र मोडल

धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले उपमहानगर तथा सरकारको मात्र मुख ताकेर बस्नुहुन्न। आफ्ना वडाका नागरिकका सुविधाका लागि उहाँले विभिन्न सङ्घ–संस्था र व्यक्तिहरूसँग सहकार्य गरेर सेवा प्रवाह गर्दै आउनुभएको छ।

दाताहरूको सहयोगमा उहाँले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन बनाउनुभएको छ। स्वास्थ्य क्षेत्रको अन्य सुविधाका लागि पनि उहाँले विभिन्न दाताहरूबाट सहयोग लिएर सुविधा प्रदान गर्दै आउनुभएको स्थानीयहरू बताउँछन्। उहाँले नागरिकको अन्य सेवा सुविधाका लागि पनि संघसंस्थाहरुसँग सहकायृ गरेर सुलव सेवा प्रदान गदैं आउनु भएको छ ।