धरान । काठमाडौँमा हालै सम्पन्न १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक जित्न सफल आफ्ना कलेजका विद्यार्थीहरूलाई युएन नवोदय कलेज, धरानले मङ्गलबार एक समारोहका बीच सम्मान गरेको छ ।
कलेज परिसरमा आयोजित विशेष कार्यक्रममा अभिभावकहरूको उपस्थितिमा कक्षा ११ होटल म्यानेजमेन्टकी छात्रा युमी राई र कक्षा ११ कम्प्युटर म्यानेजमेन्टका छात्र प्रमोद राईलाई सम्मान गरिएको हो ।
प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा स्वर्ण पदक विजेता छात्रा युमी राई र , करातेतर्फ रजत पदक प्राप्त गर्न सफल छात्र प्रमोद राईलाई कलेजले सम्मान गरेको हो । उनीहरुसहित २७ जना खेलाडीहरुलाई कोशी प्रदेश सरकारले केही दिनअघि मात्र पुरस्कृति गरेको थियो । युमीले नगद एक लाख र प्रमोदले नगद ७५ हजार पाउनु भएको थियो ।
खेलकुदको क्षेत्रमा सानै उमेरमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो र होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठलगायतले दुवै खेलाडीलाई माला खादा र अमिर लगाएर सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा क्याम्पस प्रमुख तुम्बापोले सम्मानित विद्यार्थीहरू कलेजको मात्र नभएर राष्ट्रकै गहना भएको बताउनु भयो ।
यसैबीच, सोही कार्यक्रममा कलेजको होटल म्यानेजमेन्टतर्फ उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई पनि स्मरण गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३।९६ जीपीए हासिल गरी करुणा राई र ३।९२ जीपीएका साथ स्मारिका श्रेष्ठले राष्ट्रिय स्तरमा क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेको कलेज प्रशासनले जानकारी गराएको छ ।



















