- दिपेन्द्र राई
यदि संसारका लाखौं मानिसहरूले आफूले विश्वास गरेबमोजिम नै व्यवहार गर्ने हो भने, हामीले भोलि नै यो विश्व बदल्न सक्छौं।)
-डा. जेन गोडाल
मानव हुनु केवल एक जैविक प्रक्रिया होइन, यो त ब्रह्माण्डले हामीलाई दिएको एउटा अजस्र वरदान हो । तर, दुर्भाग्यवश, आधुनिकताको दौडमा हामीले त्यो वरदानको अर्थ बिर्सिएका छौं। हामी यति व्यस्त छौं कि प्रकृतिले सुनाउने मौन गीत सुन्नै बिर्सिसक्यौं । तर, इतिहासका पानाहरूमा एक यस्ती नारी छिन्, जसले कोलाहलपूर्ण सहरको सुरक्षा घेरा तोडेर जङ्गलको त्यो अनकन्टार मौनताभित्र मानवताको सबैभन्दा ठूलो सत्य फेला पारिन्-ती हुन् डा. जेन गोडाल ।
जङ्गलको त्यो अदृश्य डोरो
एक टेलिभिजन कार्यक्रममा होस्ट (Host)ले उनलाई प्रश्न गरे, "तपाईंले किन चिम्पाञ्जीहरूलाई नै रोज्नुभयो ?" जेनको ओठमा एउटा कोमल, तर गहन मुस्कान छायो । उनले शान्त स्वरमा उत्तर दिइन्, "सायद चिम्पाञ्जीहरूलाई मेरो खाँचो थियो होला, त्यसैले म एउटी आमाको ममता र धैर्य बोकेर तान्जानिया(Tanzania)को जङ्गलमा पुगें ।"
बेलायतको आधुनिक परिवेशमा हुर्किएकी एउटी युवतीका लागि हजारौं माइल टाढाको अफ्रिकाको जङ्गल केवल एक भूगोल थिएन, त्यो त उनको आत्माको घर थियो । सन् १९६० को दशकमा जब उनी तान्जानियाको Tanzania गम्बेको जङ्गलमा पाइला टेकिन्, तब उनले एउटा अद्भूत अनुभव गरिन् । त्यहाँका चिम्पाञ्जीहरूले उनलाई कुनै पराईका रूपमा होइन, आफ्नै कुलको सदस्यका रूपमा स्वीकार गरे । त्यही क्षण, मान्छे र जनावरबीचको मायाको एक अदृश्य तर दह्रो डोरो गाँसियो । उनले त्यही दिन निधो गरिन्-"मेरो संसार अब यिनै जङ्गली जीवहरूको काखमा हुनेछ।"
अनुसन्धानको कठिन मोड
सुरुवातका दिनहरू कष्टकर थिए। वैज्ञानिक डिग्री नभएकी उनलाई संसारले हेपेको थियो । तर, जब जेनले एउटा चिम्पाञ्जी (Chimpanzee) ले सिन्काको प्रयोग गरेर कमिला निकाल्ने र उपकरण बनाउने गरेको देखिन्, तब उनले विज्ञानको एउटा यस्तो पाटो खोलिदिइन् जसले सारा दुनियाँलाई चकित बनायो । उनले प्रमाणित गरिन् कि चिम्पाञ्जीहरू पनि मानवझैं सोच्न, संवाद गर्न, दुःख मान्न र सामाजिक सम्बन्ध बनाउन सक्षम हुन्छन् ।
त्यस समयको पुरुषप्रधान वैज्ञानिक समाजले उनलाई कडा आलोचना गर्यो। कतिले भने, "एउटी नारी, त्यो पनि जङ्गली बाँदरसँग ?" तर जेन विचलित भइनन् । उनलाई उनकी आमाको त्यो अटुट साथ र हौसलाले बलियो बनाएको थियो । आज उनी भन्छिन्, "महिलामा हुने नैसर्गिक सहनशीलता र करुणाले गर्दा नै ती प्राणीहरू मसँग नजिकिएका हुन् । सायद, करुणाले नै भाषाभन्दा माथिको सम्बन्ध बनाउँदो रहेछ।"
अविराम यात्रा र साझा जिम्मेवारी
उनको साहसले अरू महिलाहरूलाई पनि प्रेरित गर्यो । डायन फोसी र बिरुटे गाल्डिकास Dian Fossey ( Gorilla ) र Birute Galdikas( Orangutans ) जस्ता सशक्त व्यक्तित्वहरूले यसै अभियानमा आफ्नो जीवन समर्पित गरे । सन् १९७७ मा उनले 'जेन गोडाल इन्स्टिच्युट' (Jane Goodall Institute) स्थापना गरिन्, जसले आज विश्वभर वन्यजन्तु संरक्षणको मशाल बोकेको छ । उनी आज पनि संसारका कुना-कुना घुमेर मानिसहरूलाई प्रकृतिको सम्मान गर्न सिकाइरहेकी छिन् ।
जेन गोडालले हामीलाई एउटा ठूलो पाठ पढाएकी छिन् कि हामी केवल आफैं र आफ्ना लागि मात्र बाँच्न जन्मिएका होइनौं । जब हामी कुनै जनावरको आँखामा हेर्छौं, तब हामीले त्यहाँ आफैंलाई देख्न सक्नुपर्छ। आजका बालबालिकाको पाठ्यक्रममा उनको नाम समावेश हुनु नै प्रकृतिप्रतिको हाम्रो दायित्वबोधको पहिलो खुड्किलो हो।
निष्कर्ष
उनले बारम्बार भन्ने गरेकी छिन्, "यो संसारलाई बदल्न नारीको ममता मात्र होइन, हुलमा एकअर्काप्रति विश्वास र साहस राख्ने पुरुषहरूको पनि उत्तिकै खाँचो छ ।"
अन्तमा, जेन गोडालको त्यो अटुट साहस, करुणा र समर्पणलाई सलाम गर्दै, म उनलाई शब्द र रङ्गको माध्यमबाट नमन गर्न चाहन्छु । मानिस हुनु भनेको अरूको दुःखमा आफ्नो अनुहार देख्नु हो, र जेन गोडालले यो कुरा प्रमाणित गरिदिएकी छिन् । उनको जीवन एउटा यस्तो किताब हो, जसमा प्रकृतिको प्रेमको कविता लेखिएको छ । विश्वले उच्च नैतिकता र ममताको प्रतिमूर्तिको उपमा दिएको उनी Dr. Jane लाई "विश्वको प्रमुख चिम्पान्जी विशेषज्ञ"को रूपमा वर्णन गरिनुका साथै तान्जानियाको गोम्बे स्ट्रिम राष्ट्रिय निकुञ्जमा कासाकेला चिम्पान्जी समुदायमा जंगली चिम्पान्जीहरूको सामाजिक र पारिवारिक जीवनसँग राखिएको छ । यो पृथ्वीमा ९१ वर्षसम्म आफ्नो विराट ममता बाँडेर ब्रह्मलोकको महायात्रा गर्नुभएकी डा. जेन गोडालप्रति श्रद्धाञ्जली स्वरूप मैले यो चित्र कोरेर समर्पण गरेको छु।
चित्रकार/लेखक,
हङकङ ।















