जनताले निर्वाचित गरेर संसद्सम्म पु¥याएका प्रतिनिधिहरू सामान्य नागरिक मात्र होइनन् । उनीहरू सार्वजनिक व्यक्तित्व, नीति निर्माता र समाजका लागि मार्गदर्शक पनि हुन् । उनीहरूका बोली, व्यवहार र गतिविधिलाई हजारौं मानिसले नियालिरहेका हुन्छन् । विशेषगरी युवापुस्ताले उनीहरूलाई अनुकरणीय पात्रका रूपमा र एउटा समाजको ‘रोल मोडेल’ को रूपमा हेर्ने गर्छन् । त्यसैले जनप्रतिनिधिको हरेक सार्वजनिक गतिविधि व्यक्तिगत स्वतन्त्रताको विषय मात्र नभएर सार्वजनिक उत्तरदायित्वको विषय पनि हो ।
यही सन्दर्भमा चार दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद् तथा धरानका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले सार्वजनिक गरेको एउटा भिडियो चर्चाको विषय बनेको छ । उक्त भिडियोमा उनी मोटरसाइकल चलाउँदै गर्दा एक हातले मोबाइल समातेर सेल्फी भिडियो बनाइरहेको देखिन्छ । उक्त भिडियो साम्पाङ स्वयम्ले सार्वजनिक गरेका छन् । भिडियोसँगै लडेर पाखुरामा चोट लागेको भिडियो पनि सार्वजनिक गरेका थिए । उनको सन्देश थियो– “यति जाबो चोट । ज्यानलाई चोट लागे पनि देशलाई चोट नलागोस् ।” सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोले केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको बहस मात्र जन्माएको छैन, यसले सार्वजनिक जिम्मेवारी, सडक सुरक्षा र जनप्रतिनिधिको आचरणबारे गम्भीर प्रश्नहरू पनि उठाएको छ । उक्त भिडियो उदयपुरको कटारीबाट बेलका नगरपालिकास्थित एउटा पार्टीको कार्यक्रममा सहभागी हुन आउँदै गर्दा मदनभण्डारी राजमार्गमा कैद गरिएको भिडियो बताइएको छ ।
हर्क साम्पाङ सामान्य राजनीतिज्ञ होइनन् । स्वतन्त्र अभियानबाट उदाएका, धरानको खानेपानी अभियानमार्फत् लोकप्रिय बनेका र जनतामाझ स्थापित भएका नेता हुन् । उनी धरान उपमहानगरपालिकाको प्रमुख बने र त्यसपछि जनमतका आधारमा सङ्घीय संसद्सम्म पुगे । नगर प्रमुख बन्नुअघि उनी एक अभियन्ता थिए । सामाजिक मुद्दामा बोल्थे, अभियान चलाउँथे र आफ्नै शैलीमा जनताको ध्यान तान्थे । त्यतिबेला उनका गतिविधि व्यक्तिगत अभिव्यक्ति र अभियानको दायराभित्र सीमित थिए । तर आज परिस्थिति बदलिएको छ । उनी अब केवल अभियन्ता होइनन्, जननिर्वाचित सांसद् हुन् । कानून बनाउने सर्वोच्च निकाय संसद्का सदस्य हुन् । त्यसैले उनका हरेक गतिविधि अब सार्वजनिक चासो, बहस र मूल्याङ्कनको विषय बन्नु स्वभाविक हो ।
हर्क साम्पाङलाई धेरैले वैकल्पिक राजनीतिको प्रतीकका रूपमा हेर्छन् । संसद्मा उनको प्रस्तुति, सरकारप्रतिको आलोचनात्मक दृष्टिकोण र जनताका मुद्दामा खुलेर बोल्ने शैलीले उनलाई फरक पहिचान दिएको छ । कतिपयले त उनी आफ्नो दलभन्दा पनि व्यापक जनअपेक्षाका प्रतिनिधि भएको टिप्पणी गर्ने गरेका छन् । संसद्मा उनको उपस्थिति र अभिव्यक्तिलाई धेरैले भरोसायोग्य प्रतिपक्षको स्वरका रूपमा लिन्छन् । यही कारणले उनीमाथि आम जनताको अपेक्षा पनि अरूभन्दा बढी छ ।
यही कारणले एउटा प्रश्न उठेको छ– एक सांसद्ले सार्वजनिक सडकमा मोटरसाइकल चलाउँदै मोबाइल प्रयोग गरेर भिडियो बनाउनु उचित हो त ? पथप्रदर्शकले कानूनविपरीतको काम गरेर भिडियो सार्वजनिक गर्नु स्वभाविक होला त ? सडक सुरक्षासम्बन्धी विश्वव्यापी अध्ययनहरूले स्पष्टरूपमा देखाएका छन् कि सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु दुर्घटनाको प्रमुख कारणमध्ये एक हो । चालकको ध्यान केही सेकेन्डका लागि मात्र विचलित हुँदा पनि ठूलो दुर्घटना हुनसक्छ । यही कारण संसारका अधिकांश देशमा सवारी चलाउँदा मोबाइल प्रयोगलाई कानूनीरूपमा प्रतिबन्धित गरिएको छ । नेपालमा पनि ट्राफिक नियमहरूले चालकलाई सवारी सञ्चालनका क्रममा मोबाइल प्रयोग गर्न निषेध गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यस्तो गतिविधिलाई निषेध र दण्डजरिबानाको व्यवस्थासमेत गरेको छ ।
संयोग पनि कस्तो भने, त्यही दिन नेपाल ट्राफिक प्रहरीको केन्द्रीय कार्यालयले सामाजिक सञ्जालमार्फत् एउटा चेतनामूलक भिडियो सार्वजनिक गरेको थियो । त्यस भिडियोको सन्देश थियो–‘एकैछिनको आनन्दले जीवन बर्बाद नपारौँ, ट्राफिक नियम पालना गरौँ ।’ सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने, ध्यान विचलित हुने र त्यसबाट हुन सक्ने दुर्घटनाबारे चेतावनी दिने उद्देश्यले बनाइएको त्यो सामग्री र साम्पाङको भिडियोबीचको विरोधाभाषले धेरैलाई झस्काएको छ । के साम्पाङले ट्राफिक प्रहरीको सन्देशलाई चुनौती दिन खोजेका हुन् ? पक्कै पनि त्यसो नहुन सक्छ । हामी सम्मानित व्यक्तिबाट यस्तो आशा पनि नगरौँ । तर सार्वजनिक व्यक्तित्वका गतिविधिको मूल्याङ्कन उद्देश्यभन्दा पनि त्यसले दिने सन्देशका आधारमा हुन्छ । आखिर उनी एउटा सांसद् हुन् । पथप्रदर्शक हुन् । हजारौं युवाले पछ्याउने ‘रोल मोडेल’ हुन् । उनका बानी, व्यवहार र गतिविधिले समाजमा प्रभाव पार्छ नै ।
यहाँ मुख्य प्रश्न केवल कानून उल्लङ्घन भयो कि भएन भन्ने मात्र होइन । प्रश्न यो पनि हो कि सार्वजनिक व्यक्तित्वले समाजलाई कस्तो सन्देश दिइरहेका छन् ? आज सामाजिक सञ्जालको युगमा ‘भ्युज’, ‘रिल’ र ‘भाइरल’ संस्कृतिले युवापुस्तामाथि ठूलो प्रभाव पारेको छ । चर्चित व्यक्तिले गरेको कामलाई धेरैले अनुकरण गर्छन् । यदि कुनै सांसद्, कलाकार वा खेलाडीले जोखिमपूर्ण गतिविधि गरेर त्यसलाई सामान्य रूपमा प्रस्तुत गर्छ भने त्यसले अप्रत्यक्ष रूपमा त्यही व्यवहारलाई वैधता दिएको सन्देश दिन सक्छ । भोलि कुनै युवाले ‘हर्क साम्पाङले पनि त गरेका थिए नि’ भन्दै त्यही शैलीमा मोटरसाइकल चलाउँदै भिडियो बनाएर दुर्घटनामा प¥यो भने त्यसको नैतिक जिम्मेवारी कसले लिने ?
सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कानूनको पालना गर्नु मात्र पर्याप्त हुँदैन । उनीहरूले कानूनप्रति सम्मानको उदाहरण पनि प्रस्तुत गर्नुपर्दछ । लोकतन्त्रमा नेतृत्वको मूल्य केवल भाषणबाट मापन हुँदैन । व्यवहारबाट पनि मापन हुन्छ । संसद्मा सुशासन, जवाफदेहिता र कानूनी शासनको पक्षमा बोल्ने व्यक्तिले आफ्नै व्यवहारबाट पनि त्यही सन्देश दिन आवश्यक हुन्छ । अर्को महŒवपूर्ण पक्ष भनेको सार्वजनिक जवाफदेहिता हो । यदि उक्त भिडियो साँच्चिकै जोखिमपूर्ण अवस्थामा खिचिएको हो भने त्यसबारे स्पष्टीकरण आउनु आवश्यक छ । भिडियो सुरक्षित अवस्थामा, सडक नियम उल्लङ्घन नगरी वा अन्य कुनै विशेष परिस्थितिमा खिचिएको हो भने त्यो पनि स्पष्टता सार्वजनिक हुनु पर्दछ । किनकि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले आफ्ना गतिविधिबारे उठेका सार्वजनिक चासोको जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको हिस्सा हो । भिडियो सार्वजनिक भयो । चर्चा भयो, सकियो भन्ने होइन । त्यसको सन्देश, प्रभावबारे प्रष्ट पारिनु बाञ्छनीय छ ।
यस विषयमा ट्राफिक प्रहरी र सम्बन्धित निकायको भूमिकामाथि पनि प्रश्न उठ्न सक्छ । कानून सबैका लागि समान हो भने त्यसको कार्यान्वयन पनि समान हुनुपर्दछ । सामान्य नागरिकले यस्तै गतिविधि गरे कारबाही हुने तर सार्वजनिक व्यक्तित्वका हकमा मौनता रहने हो भने कानूनप्रतिको विश्वास कमजोर हुन्छ । कानूनी शासनको मूल आधार नै समान व्यवहार हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी दिपक गिरीले माननीयको कार्य गैरकानूनी हो भन्नेसम्म बोलेको सार्वजनिक भएको छ तर उनलाई के कस्तो कारबाही र चेतावनी राज्यबाट दिइयो भन्ने जनमानसमा सार्वजनिक हुनु पर्दछ ।
तथापि यो बहसलाई व्यक्तिविरोधी अभियानका रूपमा लिनु हुँदैन । हर्क साम्पाङले सार्वजनिक जीवनमा गरेका सकारात्मक योगदान र उनले उठाएका जनसरोकारका मुद्दाहरूको मूल्य आफ्नै ठाउँमा छ । तर लोकतन्त्रमा लोकप्रियता वा योगदानले आलोचनाभन्दा माथि उठ्ने छुट कसैलाई पनि दिँदैन । बरु जनविश्वास जितेका नेताहरूबाट अझ उच्च स्तरको जिम्मेवारी अपेक्षा गरिन्छ । आजको समाजमा सामाजिक सञ्जालले लोकप्रियता त दिन सक्छ, तर त्यससँगै जिम्मेवारी पनि थप्छ । विशेषगरी सांसद्, मन्त्री, मेयर वा अन्य सार्वजनिक पदाधिकारीले आफ्नो हरेक गतिविधिको सामाजिक प्रभावबारे सचेत हुनुपर्दछ । उनीहरूले दिएको सन्देश हजारौं मानिससम्म पुग्छ र त्यसले व्यवहार निर्माण गर्न सक्छ ।
हर्क साम्पाङको ‘सेल्फी स्टर्न’ भिडियोले उठाएको बहसको सार–नेतृत्व केवल लोकप्रियता होइन, जिम्मेवारी पनि हो । जनप्रतिनिधिले कानून बनाउने मात्र होइन, कानूनप्रति सम्मानको संस्कार पनि स्थापित गर्नुपर्दछ । यदि समाजलाई सुरक्षित, अनुशासित र जिम्मेवार बनाउन चाहन्छौं भने त्यो अभियानको सुरुवात नेतृत्वबाटै हुनुपर्छ । अन्ततः नागरिकहरू अहिले यही अपेक्षामा छन् कि सार्वजनिक जीवनका व्यक्तिहरूले आफूले दिएका सन्देश र गरेका गतिविधिप्रति स्पष्ट जवाफदेहिता देखाऊन् । किनकि लोकतन्त्रमा विश्वासको आधार केवल जनमत होइन, उत्तरदायित्व पनि हो । त्यसैले आज आम नागरिक हर्क साम्पाङबाट एउटा स्पष्ट जवाफको अपेक्षामा छन् । के उनले गरेको गतिविधि उचित थियो ? के त्यो ट्राफिक नियमअनुसार थियो ? यदि थिएन भने उनले त्यसलाई स्वीकार गरेर नागरिकलाई सुरक्षित सवारी सञ्चालनको सन्देश दिन्छन् कि दिँदैनन् ? यी प्रश्नको उत्तर केवल एउटा भिडियोको विषय होइन, सार्वजनिक नेतृत्वको संस्कारसँग जोडिएको विषय हो । ब्लाष्टबाट

















