हङकङ । हातमा मेहन्दी, गलामा तीजको माला र ओठमा गीत हुनुपर्ने दिन हङकङका नेपाली महिलाले दीप प्रज्वलन गरे, मन्त्र पढे र एक मिनेट मौनधारण गरे । तीजको उल्लासलाई थाती राख्दै उनीहरूले नेपालको रसुवागढीको विपत्तिमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा सामूहिक प्रार्थना गरे । मातृभूमिमा परेको पीडामा परदेशबाट ऐक्यबद्धता जनाउँदै ओभरसिज नेपाली वर्कर्स एसोसिएसन हङकङले यस वर्षको तीजलाई श्रद्धाञ्जली र सहयोगको अवसर बनाएको हो ।

मातृभूमिमा भएको प्राकृतिक विपत्तिको पीडालाई सम्झिँदै तीजलाई शान्ति प्रार्थनामा रूपान्तरण गरेका छन् । जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा भएको तीज कार्यक्रम रसुवागढी क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाइएको हो ।

कार्यक्रमको सुरुवात दीप प्रज्वलनबाट गरिएको थियो । संस्थाकी सदस्य लीला निरौलाले संस्कृतमा मन्त्र वाचन गरेपछि सहभागीले एक मिनेट मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जली र दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

यसपटकको तीज कार्यक्रमलाई विगतको जस्तो औपचारिक र मनोरञ्जनात्मक नबनाई सामूहिक प्रार्थना र श्रद्धाञ्जलीमा केन्द्रित गरिएको थियो । खादा, माला र आसन ग्रहणलगायतका औपचारिक कार्यक्रमसमेत स्थगित गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भएको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै तीजका अवसरमा संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष पूर्णिमा शाहले विपत्तिमा परेका नेपालीप्रति समवेदना प्रकट गर्दै तीजबाट संकलित रकम राहतका लागि सहयोग गरिने जानकारी दिनु भयो । 

कार्यक्रममा सामान्य भेटघाट र तीजको रमझमसमेत गरिएन । बरु विपत्तिग्रस्त क्षेत्रका दृश्य, उद्धार तथा क्षतिको भिडियो क्लिप र शवका दृश्य स्क्रिनमार्फत देखाइएको थियो । ती दृश्यले सहभागीलाई भावुक बनाएको थियो ।

विदेशी भूमिमा रहेर पनि नेपाली चाडपर्व, संस्कार र संस्कृतिलाई निरन्तरता दिँदै आएका प्रवासी नेपालीले यसपटक तीजलाई आफ्नै मातृभूमिको दुःखसँग जोडेर मनाएका हुन् । परदेशमा रहे पनि देशमा आइपरेको विपत्तिको पीडा आफ्नै परिवारको पीडाजस्तै अनुभूति गर्दै उनीहरूले उत्सवलाई प्रार्थना, श्रद्धाञ्जली र सहयोगको माध्यम बनाएका छन् ।

संस्थाले तीजको सांस्कृतिक पक्षसँगै मानवीय संवेदनालाई जोडेर कार्यक्रम आयोजना गरेको जनाएको छ । विपत्तिमा ज्यान गुमाएकाको सम्झना, प्रभावित परिवारप्रति समवेदना र राहतका लागि सहयोग गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो ।