धरान । चाडपर्वको समयमा जुवातास तथा डाइस खेल्ने र खेलाउने गतिविधि बढ्दै गएको भन्दै धरानमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । धरानका विभिन्न चोक तथा बस्तीमा खुलेआम डाइस खेलाइरहे पनि प्रहरी भने मौन रहेको छ ।  धरान उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै जुवातास नखेल्न र नखेलाउन चेतावनी दिएको थियो । प्रहरीले पनि जुवातास तथा डाइस नियन्त्रण गर्ने नीति लिएको भए पनि विभिन्न स्थानमा यस्ता गतिविधि जारी रहेको छ ।

स्थानीयका अनुसार धरान–१६ स्थित अन्नपूर्ण चोक, माछाभौडी, तरकारी बजार, लक्ष्मी चोक, रेल्वेलगायतका स्थानमा डाइस खेलाउने काम भइरहेको छ । चाडपर्वको मौका छोपेर विभिन्न स्थानमा जुवाजन्य खेल सञ्चालन हुँदा स्थानीय क्षेत्रमा असुरक्षा र सामाजिक विकृति बढ्ने भए पनि पहरी भने बेखवर छ । 

स्थानीय आनन्द श्रेष्ठका अनुसार धरान–१६ को अन्नपूर्ण चोकमा असोज १ गतेदेखि नै खुलेआम डाइस खेलाइँदै आएको छ । जुवाजन्य खेल खेलाईरहेको विषयमा स्थानीयले प्रहरीलाई पटकपटक मौखिक जानकारी गराए पनि वेवास्था गरेको उनीहरुको आरोप छ । नाम उल्लेख नगर्ने सर्तमा एक छिमेकीले प्रहरीलाई पटकपटक जानकारी गराउँदासमेत गतिविधि नरोकिएको बताउनु भयो । स्थानीयले धरान प्रहरी र धरान–१६ स्थित प्रहरी बिटलाई डाइस खेलाइने गरेको जानकारी गराउँदासमेत बेवास्था गरेको आनन्द श्रेष्ठले बताउनु भयो । 

स्थानीयका अनुसार माछाभौडी, तरकारी बजार, लक्ष्मी चोक र रेल्वे क्षेत्रमा समेत युवाहरूले डाइस खेलाउने गरेका छन् । धरानमा प्रहरीका विभिन्न बिट तथा प्रहरी कार्यालयहरू रहे पनि खुलेआम डाइस खेलाइने गरेको भनिएका स्थानमा नियमित निगरानी र नियन्त्रण किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न स्थानीयले उठाएका छन् । सडक तथा सार्वजनिक स्थानमा हुने गतिविधिमाथि निगरानी बढाउने र जुवाजन्य खेल सञ्चालन भएको पाइए कानुनअनुसार कारबाही गर्ने जिम्मेवारी प्रहरीको हो । तर प्रहरीले कुनै चासो नदिएको स्थानीयको आरोप छ ।  चाडपर्वका बेला मनोरञ्जनका नाममा ठूलो रकमको हारजित हुने खेल सञ्चालन हुँदा आर्थिक क्षति, पारिवारिक विवाद र शान्तिसुरक्षामा समस्या हुने गरेको छ । 

यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले प्रहरीले व्यापक निगरानी बढाइरहेको दावी गर्नु भएको छ । 'आइतबार मात्र डाइस खेलाउने तीन जना पक्राउ गरेर मुद्दा दर्ता गरिएको उहाँले बताउनु भयो । स्थानीयको जनगुनासो अनुसार धरानका १२ वटै विटबाट नियन्त्रणका लागि प्रहरी परिचालन गरेका छौं । चाडपर्वमा जनशक्ति पनि अभाव हुन्छ ।'-डिएसपी राईले भन्नुभयो ।