विराटनगर / विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा कक्षा ११ को नयाँ भर्ना गर्नेहरुको भीड लागेको छ । भर्नाका लागि विद्यालयमा विद्यार्थी तथा अभिभावकको भिड देखिएको छ ।
विद्यालयका अनुसार यस वर्ष कक्षा ११ मा अध्ययनका लागि सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिएका छन् । विद्यार्थीहरूले निजी कलेजको तुलनामा पोखरिया माविमा गुणस्तरीय पढाइ, अनुशासित वातावरण र अनुभवी शिक्षक रहेको भन्दै विद्यालय रोजेको बताएका छन् ।
अभिभावकहरूले पनि कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले पोखरिया मावि आफ्नो पहिलो रोजाइ बनेको जनाएका छन् । पछिल्ला वर्षहरूमा एसईई नतिजा, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक उपलब्धिका कारण विद्यालयप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।



















