धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल फार्मेसीमा कर्मचारीहरको मिलेमतोमा साढे २ करोडभन्दा बढी आर्थिक अनियमितता भएको पाइएको छ ।
अस्पताल निर्देशक डा. जगत नारायणको क्षेत्राधिकारमा पर्ने अस्पताल फार्मेसीमा अनियमितता भएको जानकारी आए पछि प्रतिष्ठानले बनाएको छानबिन समितिको प्रतिवेदनले कुल २ करोड ५२ लाख ६० हजार ९६८ रुपैयाँ १४ पैसा बराबरको प्रत्यक्ष नोक्सानी भएको देखाएको हो ।
उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठको निर्देशनमा प्रतिष्ठानका डा. विष्णु पोखरेलको संयोजकत्वमा गठित समितिले करिब ५ महिनाको अध्ययनपछि फार्मेसीभित्र गम्भीर बेथिति रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार औषधि खरिद, मौज्दात व्यवस्थापन र दैनिक बिक्रीबाट उठेको रकम बैंक दाखिला नगर्ने जस्ता क्रियाकलापमार्फत ठूलो रकम अपचलन गरिएको पाइएको छ ।
छानबिनले फार्मेसी प्रणालीलाई “अव्यवस्थित, अपारदर्शी र संस्थागत मिलेमतोमा आधारित” भन्दै कडा टिप्पणी गरेको छ । डा। विष्णु पोखरेल संयोजकत्वको समितिले फार्मेसी सेवा बिरामीको हितभन्दा सीमित समूहको लाभतर्फ केन्द्रित भएको उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार विभिन्न काउन्टरहरूमा औषधि मौज्दातमै ठूलो अन्तर भेटिएको छ । ओपिडी, आकस्मिक, सर्जरी र गाइनो काउन्टरमा मात्र करिब ८४ लाख रुपैयाँ बराबरको औषधि अभाव देखिएको छ भने बल्क र एक्स्पायरी काउन्टरमा थप १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सामग्री फेला नपरेको उल्लेख छ । यसबाहेक दैनिक बिक्रीबाट उठेको १० लाखभन्दा बढी रकमसमेत बैंकमा दाखिला नभएको पाइएको छ ।
फार्मेसी अस्पताल निर्देशक डा. जगत नारायण प्रसादको क्षेत्राधिकारमा पर्ने भए पनि जिम्मेवारी निर्धारणमा अन्योल देखिएको छ । प्रतिवेदनले नेतृत्व तहकै लापरवाही र मिलेमतोको संकेत गरेको छ । साथै, आउटसोर्सिङमार्फत कर्मचारी व्यवस्थापन, सम्झौता नवीकरण नगरी काम सञ्चालन र सफ्टवेयर दुरुपयोगजस्ता विषयलाई पनि अनियमितताको मुख्य कारणका रूपमा औंल्याइएको छ ।
छानबिन समितिले दोषी पदाधिकारी तथा कर्मचारीमाथि कडा विभागीय र कानुनी कारबाही गर्दै नोक्सानी असुल गर्न सिफारिस गरेको छ । साथै, वित्तीय पारदर्शिता कायम गर्न नयाँ प्रणाली विकास, दक्ष जनशक्ति नियुक्ति र नियमित अनुगमन व्यवस्था लागू गर्न सुझाव दिएको छ ।
प्रतिवेदन सार्वजनिक भएपछि प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निर्देशन माग गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराइएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुडाथोकी ले प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय लिइने बताउनु भएको छ ।
लामो समयदेखि औषधि उपलब्ध गराउन नसकेको भन्दें आलोचना खेप्दै आएको प्रतिष्ठानको फार्मेसीमै यति ठूलो अनियमितता भेटिएपछि संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।



















