धरान  / धरान उपमहानगरपालिकामा लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा धरान मेघा कलेजले उपाधि हात पारेको छ।

केवाइसी पुनर्जीवन केन्द्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा मेघा कलेजले हिमशिखर कलेज तरहरा लाई १७–१५ को रोमाञ्चक अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयसम्म दुवै टोलीबीच कडा टक्कर देखिएको थियो।

प्रदेशभरका १३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा हिमशिखर कलेजले होलील्याण्ड स्कुललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने धरान मेघा कलेजले सुनाखरी स्कुललाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो। सिनियर रेफ्री तथा जिल्ला बास्केटबल संघका सहसचिव युगल लिम्बूका अनुसार प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र उत्साहजनक बनेको थियो।

प्रतियोगिताको समापन समारोहमा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले युवामाझ बढ्दो लागुऔषध समस्यालाई न्यूनीकरण गर्न यस्ता खेलकुदमूलक कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । “खेलकुदमार्फत सकारात्मक सन्देश दिन सकिन्छ, यो प्रतियोगिताले त्यही सन्देश दिएको छ,” उहाँले भन्नु भयो । आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई उपमहानगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनु भएको छ । 

त्यस्तै, कार्यक्रममा अखिल नेपाल फुटवल संघका(एन्फा)का कोशी प्रदेश अध्यक्ष  किशोर राईले प्रतियोगिता आकारमा सानो भए पनि सन्देशका हिसाबले निकै ठूलो प्रतियोगिता भएको बताउनु भयो । उहाँले केवाइसी पुनर्जीवन केन्द्रले थालेको यो अभियानलाई निरन्तरता दिँदै आगामी संस्करण अझ भव्य र व्यवस्थित बनाउन सुझाव दिनु भयो । धरानमा खेलकुद विकासका लागि आफूले सक्दो सहकार्य गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नु भयो । 

विजेता तथा उपविजेता टोलीलाई एन्फा अध्यक्ष राई, प्रतियोगिता संयोजक अनिस गुरुङ, बास्केटबल संघका केन्द्रीय सदस्य रोसन राईलगायतले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नु भयो । 

प्रतियोगितामा विजेता मेघा कलेजले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता हिमशिखर कलेजले १३ हजार रुपैयाँमा चित्त बुझाएको प्रतियोगिता संयोजक गुरुङले जानकारी दिए।

लागुऔषध विरुद्ध सचेतना फैलाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले खेलकुद र सामाजिक सन्देशलाई एकसाथ अघि बढाएको आयोजक संस्थाका अनिस गुरुङले जानकारी दिनु भयो । आगामी दिन अझ कार्यक्रम भव्य बनाउने उहाँको भनाई थियो । 

basketball 1