धरान । नेपाल पत्रकार महासंघ सुनसरीले निर्वाचन सम्बन्धि रिपोटिङ र पत्रकार आचारसंहिताबारे पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ । 

धरान उपमहानगरपालिका र आनतारिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा शनिवार सुनसरी भरकिा ४० जना पत्रकारहरुलाई प्रशिक्षण दिएको हो । 

शनिवार भएको उद्घाटन कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बाले नक्कली मिडियाले गर्दा मुलुक बिग्रदैं गएको बताउनु भयो । पत्रकार आचारसंहिताबारे अद्यावधिक हुनुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नु भयो, ’राज्यका पहिलो, दोस्रो र तेस्रो अंग पक्षपातीपूर्ण हुने गरेको चर्चा हुन्छ । चौथो अंगले खबरदारी गर्नुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका कार्यबाहक प्रमुख अइन्द्र विक्रम बेघाले अप्रशोधित र असम्पादित सामग्री प्रकाशन, प्रशारण गर्दा समाज र राष्ट्र नै दुर्घटनामा पर्ने बताउनु  भयो । 

उद्घाटन पछि निर्वाचन सम्बन्धि समाचारका मुद्दाबारे ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्कीले र पत्रकार आचार संहिताबारे पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काले सहजिकरण गर्नु भयो ।  निर्वाचन आचारसंहिताबारे सुनसरी १ का मुख्य निर्वाचन अधिकृत दिव्यराज घिमिरे, र सुनसरी ३ का मुख्य निर्वाचन अधिकृत पदमबहादुर कार्कीले सहजिकरण गरिएको महासंघका अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनु भयो ।