धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कराज राई (साम्पाङ) ले विगतदेखि नै पत्रकारितामाथि अपमानजनक टिप्पणी गर्दै आएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले कडा शब्दमा आपत्ति जनाएको छ।
धरानबाट सञ्चालित अनलाइन पोर्टल कपुरी न्युज डटकमलाई जोडेर बारम्बार अपमानजनक अभिव्यक्ति दिएको तथा यसअघि पत्रकारिता नै सिध्याइदिन्छु भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको घटनालाई महासंघ मङ्गलबार विज्ञप्ति जारी गरी निन्दनीय र आपत्तिजनक भनेको छ। महासंघले यस्तो अभिव्यक्तिले स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष आक्रमण गरेको ठहर गरेको छ।
महासंघका अनुसार साम्पाङले यस अघि पनि धरानमा सक्रिय पत्रकारलाई लक्षित गर्दै अशोभनीय टिप्पणी दोहोर्याएका थिए । यसका कारण खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल विस्थापित हुनुपरेको दुःखद अवस्थासमेत सिर्जना भएको उल्लेख गर्दै महासंघले पत्रकारितामाथिको निकृष्ट व्यवहार तत्काल रोक्न चेतावनी दिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको स्मरण गराउँदै महासंघका सचिव विनय वाह्रकोटीले जारी गरेको विज्ञपितमा भनिएको छ–‘प्रतिनिधिसभा सदस्यजस्तो गरिमामय पदमा उम्मेदवारी दिएका व्यक्तिबाट प्रेसको घाँटी निमोठ्ने शैली अस्वीकार्य छ ।’ आलोचना र प्रश्न पत्रकारिताको धर्म भएको स्पष्ट पार्दै महासंघले असहमतिलाई धम्की र अपमानमार्फत दबाउन खोज्नु निरंकुश प्रवृत्ति भएको ठहर गरेको छ।
महासंघले यस्ता अलोकतान्त्रिक र अमर्यादित गतिविधि नरोके थप आन्दोलनमा उत्रने चेतावनी दिएको छ। साथै, निर्वाचनको समयमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
पत्रकारमाथि हुने कुनै पनि किसिमको दुव्र्यवहार सह्य नहुने स्पष्ट पार्दै महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रहसमेत गरेको छ। साम्पाङले सार्वजनिक रुपमा उक्त अनलाइन पोर्टललाई सिध्याइदिने बताएका थिए । यता पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष जनकऋषी राईले सबैखाले अतिवादको डटेर सामना गदैं धरानलाई अराजक सहर हुनबाट जोगाउनल आग्रह गरेका छन् ।



















