धरान । बुढासुब्बा गोल्डकपको २६औँ संस्करणमा पहिलोपटक सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं विजेता बनेको छ। शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलको अन्तरले पराजित गर्दै प्लानिङले च्याम्पियन बनेको हो । 

प्लानिङ ब्वाइज युनाइटेड नेपालको एक उदीयमान फुटबल क्लब हो । उनीहरू २०१२ मा स्थापित भए र लगातार उकालो यात्रा गर्दै Martyr's Memorial B-Division League मा उत्कृष्ट प्रदर्शनमार्फत पदोन्नति र शीर्ष स्थान हासिल गरिसकेका छन् । २०२५ मा ‘A’ डिभिजन च्याम्पियन बनेपछि एसोसिएसन अफ नेपाली फुटबल (एन्फा) को निर्णयले उनीहरूले नेपालका शीर्ष ‘A’ डिभिजन लिगमा स्थान सुरक्षित गरेका छन्, जसले उनीहरूको फुटबल प्रतिष्ठालाई थप मजबुत बनाएको छ ।

फाइनलमा कप्तान प्रतापसिंह राईले दोस्रो हाफको १८ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाउनु भयो ।  विजेताले १० लाख रुपैयाँसहित ट्रफी तथा मेडल पाए भने उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी तथा मेडल पायो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विजेता टिम र खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा प्लानिङका प्रतापसिंह राईले होन्डा डियो स्कुटर प्राप्त गर्नु भयो । अन्य पुरस्कारहरूमा बेस्ट डिफेन्डर प्लानिङका निङ्मा घिसिङ, बेस्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, बेस्ट स्ट्राइकर चर्चका अबोयमी फाकुन्ले, बेस्ट गोलकिपर प्लानिङका योगेश धिमाल, र बेस्ट कोच पनि प्लानिङका सन्जित सिंह घोषित भए । उनीहरूले २५ हजार रुपैयाँ पुरस्कार समेत पाउनु भयो । 

प्रतियोगिताको हाइस्कोररमा प्लानिङका कप्तान प्रतापसिंह राई, झापा–११ का एरोन थापा मगर र राजेश दाहाल रहे , जसले ३५ हजार रुपैयाँसम्म संयुक्त रूपमा जिते। प्लेयर अफ द म्याच प्लानिङका पुजन थापाले नगद १० हजार रुपैयाँ प्राप्त गरे। निरनतर समाचार लेख्ने कपुरी न्युजकी रश्मि प्रधान ११ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।