धरान / धरान उपमहानगरपालिका अन्तर्गतको धरान नगर बाल सञ्जालले बालबालिकाको राजनीतिक दुरुपयोग र त्यसविरुद्ध आवाज उठाउँदा ज्यानमार्ने धम्की आएको भन्दै सञ्जालले शुक्रबार निर्वाचन आयोग र नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गरेको छ ।
सञ्जालका अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राईले गत माघ १९ गते चुनावी प्रचारप्रसार कार्यक्रममा बालबालिकालाई प्रयोग गरेका थिए। उक्त कार्य बालबालिका ऐन, २०७५ को दफा ७ तथा निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै सञ्जालले यसअघि नै निर्वाचन अधिकृतको कार्यालय, धरानमा प्रमाणसहित उजुरी दिएको जनाएको छ।
तर उजुरीपछि कानुनी सुनुवाइ हुनुपर्नेमा उल्टै सम्बन्धित पक्षका समर्थकहरूले सामाजिक सञ्जालमार्फत गालीगलौज, चरित्रहत्या र ज्यानमार्ने धम्की दिन थालेको सञ्जालले जनाएको छ। सञ्जालका प्रतिनिधि रोजन शंकरका अनुसार निरन्तर धम्की र त्रासका कारण आफूहरू जीवनरक्षाका लागि काठमाडौं पुग्न बाध्य भएको बताउनु भयो ।
रोजन शंकर र सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा गृह मन्त्रालयमा समेत निवेदन पेश गर्दै शान्ति–सुरक्षाको माग गर्नु भएको छ । निवेदनमा माद्ध २९ गते राति करिब ८ः३० बजे अज्ञात व्यक्तिहरूले पिछा गरी ज्यानको खतरा हुने किसिमले धम्की दिएको उल्लेख छ।
सञ्चारमाध्यममा समाचार प्रकाशन र सामाजिक सञ्जालमा फोटो–भिडियो सार्वजनिक भएपछि बाल सञ्जालका पदाधिकारीमाथि सुनियोजित रूपमा साइबर आक्रमण, अपशब्द प्रयोग र धम्की निरन्तर आएको उनीहरुले जनाएका छन् । यस विषयमा निर्वाचन अधिकृतको कार्यालय, सुनसरी क्षेत्र नं १, इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सुनसरीमासमेत निवेदन दिइएको भए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो उनीहरुले गरेका छन् । राई, मीना सिंघक र धनबहादुर राई विरुद्ध उनीहरुले आयोगमा पुन उजुरी पेस गरेका छन् ।
बाल सञ्जालले दोषीको पहिचान गरी तत्काल कानुनअनुसार कारबाही गर्न, आफूहरू तथा परिवारको सुरक्षाको प्रत्याभूति दिन र बालअधिकारमाथि भइरहेको हस्तक्षेप रोक्न सम्बन्धित निकायलाई कडा चेतावनीसहित ध्यानाकर्षण गराएको छ। निर्वाचन अधिकृतको कार्यालय, सुनसरी क्षेत्र नं १ ले हर्कराज राईलाई स्पष्टिकरण समेत सोधेको थियो । उहाँले लिखित जवाफसमेत पठाएको समाजिक सञ्जालमा पोष्ट गर्नु भएको थियो ।



















