धरान । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई धरानका लागि कुनै पनि वर्ग, समुदाय वा विचारधाराले विमति गर्न नसक्ने सर्वमान्य व्यक्तित्व भएको बताउनु भएको छ । उहाँले वामपन्थी विचारधाराका भए पनि सबैसँग समान व्यवहार गर्ने सालिन नेताका रूपमा राईलाई स्मरण गर्नुभयो।
नेकपा एमाले क्षेत्रीय कमिटी सुनसरी–१ को आयोजनामा शुक्रबार धरानमा सम्पन्न स्व. राईको शोक सभामा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले अप्ठ्यारो राजनीतिक परिवेशमा पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै उहाँले एमालेको साख पुनःस्थापित गरेको उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कार्कीका अनुसार स्व. राई २०७० सालमा संविधान सभा सदस्यका रूपमा निर्वाचित भई संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। पञ्चायती शासनकालमा समेत सामाजिक रूपमा सक्रिय रहनुभएका राई धरानको विकासको आधार तयार गर्ने व्यक्तित्व रहेको उहाँको भनाइ थियो। उहाँ प्रधानपञ्चदेखि राष्टिङय पञ्चायतको सदस्य भएर सहायक सञ्चार मन्त्रीसमेत हुनु भएको थियो ।
शोक सभामा वक्ताहरूले स्व. राईले धरानलाई सांस्कृतिक सहरका रूपमा स्थापित गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। धरानको विकास यात्रामा उहाँ एक “चम्किला हिरा” भएको भन्दै उहाँको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा व्यक्त गरिएको थियो। राईका समकालिन पूर्व धरान उमपहानगर प्रमुख कुमारबहादुर कार्की र पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बाले उहाँको व्यक्तित्व र नेतृत्वबारे चर्चा गर्नु भएको थियो । नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले स्व. राईको जीवनी सुनाउनु भयो ।
कार्यक्रम नेकपा एमाले क्षेत्रीय संयोजक मीनकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस धरान सभापति श्याम पोखरेल, कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, संस्थापक सभामुख प्रदीपकुमार भण्डारी, प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु टिकाराम लिम्बू, सुजेन्द्र तामाङलगायतको उपस्थिति रहेको थियो।



















