सुनसरी । विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुने सबै सुनसरीको बर्जु गाउँपालिका–१ का एकै बस्तीका बासिन्दा हुन्। मृतकमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्।
प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडि पाँच जना सवार थिए। ट्रक पल्टिँदा पछाडि बसेका पाँचै जनामाथि मार्बल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
क्याबिनमा रहेका तीन जना घाइतेको विराटनगरस्थित नरसिंह होममा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



















