धरान । संविधानसभा सदस्य तथा पूर्व मन्त्री धरान–१० निवासी कृष्णकुमार राईको ८२ वर्षको उमेरमा आतबार निधन भएको छ। सुनसरी क्षेत्र नं. १ बाट २०७० सालमा निर्वाचित संविधानसभा सदस्य राईको काठमाडौँस्थित आफ्नै निवासमा टेलिभिजन हेर्दै गर्दा साँझ अकस्मात निधन भएको उहाँको परिवारजनले जानकारी दिएका छन् ।
उहाँका भतिज महेन्द्र राईले उहाँमा कुनै समस्या दिएन अकस्मात मृत्युको खवर आएर काठमाडौ लागेको बताउनु भयो । राजनीतिक वृत्तमा केके राई भनेर परिचित कृष्णकुमार राई नेपाली राजनीतिमा लामो समय सक्रिय रहनुभएका नेता हुनुहुन्थ्यो। पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक उतारचढावका साक्षी रहनुभएका राईले विभिन्न कालखण्डमा फरक–फरक जिम्मेवारी सम्हाल्दै राजनीति र सार्वजनिक जीवनमा योगदान दिनुभएको थियो। धरानको विकासमा उहाँको महत्वपूर्ण योगदान भएको उहाँ निकट सहकर्मीहरु बताउछन् ।
उहाँलाई नजिकबाट चिन्ने एमाले मजदुर नेता भीमज्वाला राईका अनुसार उहाँ २०३५ देखि २०४१ सम्म धरानको प्रधानपञ्च रहेर सेवा गनुृ भएको थियो । ।
२०४३ सालको निर्वाचनबाट सुनसरीबाट राष्ट्रिय पञ्चायत सदस्य हुनु भएको थियो । सोही समयमा सञ्चार साहयक मन्त्री हुनु भएको थियो । स्थानीय तहको नेतृत्व गर्दै विकास र प्रशासनमा भूमिका खेल्उनु भएका उहाँ व्यावहारिक, शान्त स्वभावका र प्रशासनिक अनुभव भएका नेताका रूपमा चिनिनुहुन्थ्यो।
२०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध रहनुभयो। समयक्रमसँगै बदलिँदो राजनीतिक परिवेशसँगै उहाँको राजनीतिक यात्रा पनि परिवर्तनशील रह्यो। २०७० सालपछि उहाँ नेकपा एमालेमा आबद्ध हुनुभयो र सक्रिय राजनीतिमा पुनः अग्रसर हुनुभयो। उहाँ एमालेको केन्द्रीय सल्लाहाकार कमिटी सदस्य हुनुहुथ्थ्यो ।
२०७० सालमा नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको राईले दोस्रो संविधानसभामार्फत संविधान निर्माण प्रक्रियामा सहभागिता जनाउनुभयो। लामो अनुभव, समन्वयकारी स्वभाव र मध्यमार्गी दृष्टिकोणका कारण उहाँ संविधानसभा भित्र पनि सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।
धरानमा स्थायी बसोबास गर्दै आएका राई सरल जीवनशैली, कम बोल्ने तर काममा विश्वास गर्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो । राजनीतिक मतभेदभन्दा माथि उठेर सामाजिक सद्भाव र स्थायित्वमा विश्वास गर्ने उहाँलाई सहकर्मीहरूले अनुभवी र समन्वयकारी नेताका रूपमा स्मरण गर्छन्।
पञ्चायतकालदेखि संविधानसभासम्मको लामो राजनीतिक यात्रा तय गर्नुभएका कृष्णकुमार राईको निधनले नेपाली राजनीतिले एक अनुभवी र संयमी नेता गुमाएको छ।



















