धरान । डिपो सेकेन्डरी स्कुल, धरान–१८ को आयोजनामा भइरहेको २० औं ललित–अम्बर डिपो कप–२०८२ अन्तर्गत भोली विहीबार फाइनल खेल हुने भएको छ । फाइनल खेलमा आयोजक डिपो सेकेन्डरी स्कुल, धरान–१८ र धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ बीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
बुधबार दुई महत्वपूर्ण खेल सम्पन्न भएका छन्। डिपो कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस स्कुल, धरान–१३ ले आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ लाई २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
नेपाल पुलिस स्कुलको जितमा शुभम लिम्बू र सौगात श्रेष्ठ ले एक–एक गोल गरेका थिए। दुवै गोल मध्यान्तरपछिको खेलमा भएको थियो। खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुलका शुभम लिम्बू घोषित भए।
तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस स्कुलले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। पुलिस स्कुल अघिल्लो वर्ष सम्पन्न १९ औं ललित–अम्बर डिपो कपको विजेता विद्यालयसमेत हो।
‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप’ हिमशिखरलाई
यसैबीच, प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएका विद्यालयहरूबीच आयोजना गरिएको ‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२’ को फाइनल खेल पनि बुधबार सम्पन्न भएको छ।
फाइनलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ बीच प्रतिस्पर्धा भएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो। टाइ–ब्रेकरबाट पनि निर्णय नआएपछि खेल सडन डेथ मा पुगेको थियो, जहाँ हिमशिखरले जित दर्ता गर्यो।
प्लेट च्याम्पियनसिपको उपाधिसँगै हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता प्रभात इङ्लिस बोर्डिङ स्कुलले नगद २ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।



















