धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाडजोर्नी(आर्थोपेडिक्स) विभाग अन्र्तगत तीनवटा उच्च विशेषज्ञ सेवा औपचारिक रूपमा विस्तार गरेको छ। उपचारको प्रभावकारिता, सहजता र विशेषज्ञ केन्द्रिकरणलाई प्राथमिकता दिँदै विभागले मेरुदण्ड (स्पाइन) यूनिट, खेलकुद चिकित्सा तथा जोर्नी पुनर्निर्माण यूनिट, र सामान्य तथा जटिल अंग (हात–खुट्टा) पुनर्निर्माण यूनिटलाई सम्पन्न संरचनासहित सुदृढ बनाएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार विगतदेखि नै यी सेवाहरू दिइंदै आए पनि यूनिटगत संरचना स्पष्ट भएपछि बिरामी व्यवस्थापन, चिकित्सकको समन्वय तथा शल्यक्रियाको गुणस्तरमा गुणात्मक सुधार आउने अपेक्षा राखिएको छ। सेवामा एकीकृतभन्दा केन्द्रिकृत प्रणालीले बिरामीलाई सही समस्या पहिचानदेखि उपचारको सम्पूर्ण प्रक्रियामा सहजता प्रदान गर्ने उद्देश्य अनुरुप छुट्टाछुट्टै सोव विस्तार गरिएको प्रा.डा. प्रधानले बताउनु भयो ।
विभाग प्रमुख प्रा.डा. राजु रिजालका अनुसार तीनवटै यूनिटमार्फत अब बिरामीलाई समयमै, विशेषज्ञसँग, र नियत क्लिनिक समयसहित उपचार प्राप्त हुने वातावरण निर्माण भएको छ। विगतमा भइरहेको सेवालाई अझ व्यावसायिक, आधुनिक र शैक्षिक रूपमा मजबुत बनाइएको विभागले जनाएको छ । अब झन्झटविनै सीधै आफ्नो रोगअनुसार सम्बन्धित विशेषज्ञकहाँ पुग्न सकिने छ ।
स्पाइन यूनिट
मेरुदण्डसम्बन्धी समस्या—ढाड तथा घाँटीका हड्डी खिइने, मेरुदण्ड सर्ने, नसा च्यापिने—जस्ता रोगको शल्यक्रिया तथा उपचार अब हरेक आइतबार र बुधबार उपलब्ध हुनेछ। यो यूनिटमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा। राजु रिजाल, डा। प्रमोद बराल र डा। दीपेन्द्र मिश्राले सेवा दिनेछन्।
स्पोर्ट्स मेडिसिन तथा जोर्नी पुनर्निर्माण
खेलकुदजन्य मांसपेशी च्यातिने, जोर्नीमा चोट लाग्ने, हड्डी भाँचिने, भुँडा बिचलनजस्ता समस्याको शल्यक्रिया तथा उपचार हरेक सोमबार र बिहीबार सञ्चालन हुनेछ। यस यूनिटमा प्रा।डा। राजिव महर्जन, डा। विष्णु पोखरेल, डा। अमित विक्रम शाह र डा। आशिषकुमार पाण्डे सेवा प्रदान गरिरहेका छन्।
लिम्ब रीकन्स्ट्रक्सन (हात–खुट्टा पुनर्निर्माण)
दुर्घटना वा अन्य कारणले हात–खुट्टा बाङ्गिनु, समयमा उपचार नपाएर जटिलता उत्पन्न भएको विकृत अंग सुधार गर्ने सेवा हरेक मंगलबार र शुक्रबार सञ्चालन गरिन्छ। यस यूनिटमा डा। अमित लिम्बु, जितेन्द्र साह र डा। यमबहादुरले सेवा दिइरहनु भएको छ ।
यी तीनै विधामा पेइङ सेवा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकहरूको सहभागितामा फेलोसिप कार्यक्रम र अतिरिक्त प्रशिक्षणसमेत सञ्चालन हुने स्पाइन विशेषज्ञ डा. प्रमोद बरालले जानकारी दिनु भयो । आगमी दिनमा विरामीको समस्या अनुसार बार मिलाएर सम्बन्धित विशेषज्ञलाई आफ्नो समस्या राख्न सहज हुने उहाँको भनाई छ ।
आर्थोपेडिक्स विभागले आगामी दिनमा हड्डीको क्यान्सर उपचार, बाल हाडजोर्नी समस्याको उपचार तथा खुट्टा–एङकलसम्बन्धी शल्यक्रिया सेवा थप विस्तार गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।



















