विराटनगर / नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले भन्नुभयो कि लोकतन्त्र बलियो भए मात्र श्रम आन्दोलन सशक्त र प्रभावकारी हुन सक्छ।
जिफन्ट कोशी प्रदेश समितिले सुरु गरेको ‘बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद अभियान’ को शुभारम्भ गर्दै उहाँले लोकतान्त्रिक मूल्य र प्रणाली नै श्रमिक अधिकारको मूल आधार भएको बताउनुभयो।
उहाँका अनुसार, जेन–जी आन्दोलनपछि श्रम बजार र श्रमिकहरूको जीवनमा परेको असरबारे मंसिर महिनाभर कोशी प्रदेशका सबै प्रतिष्ठानमा पुगेर श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
अध्यक्ष श्रेष्ठले जेन–जी आन्दोलनका नाममा भएका हिंसा र विध्वंसका घटनाले देशमा राजनीतिक अस्थिरता र संकट निम्त्याएको बताउनुभयो। उहाँले अहिलेको सरकार असंवैधानिक रहेको बताउँदै, विघटित संसदको पुनर्स्थापना गरी लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने जिफन्टको धारणा रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार, जेन–जी आन्दोलनपछि बनेको असंवैधानिक सरकारले लिएका एकपछि अर्को निर्णयले श्रमिकहरूलाई क्रमशः विस्थापित गर्दै लगिरहेको छ। श्रम बजारमा आएको क्षति र श्रमिकहरूको रोजगारीमा परेको असरबारे अभियानमार्फत गहिरो छलफल गरिने उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले श्रमिकहरूलाई समस्याबाट उन्मुक्ति र डरबाट मुक्ति दिलाउन जिफन्टका सम्पूर्ण नेतृत्व सक्रिय हुनुपर्ने बताउनुभयो।
उहाँले जेन–जी घटनाका क्रममा देशभरका उद्योग, कलकारखाना, निजी संरचना, होटल तथा रेष्टुरेन्टहरू ध्वस्त हुँदा ठूलो संख्यामा श्रमिकहरूले रोजगारी गुमाउनुपरेको र अहिले पनि धेरैजना त्रासमा रहेको बताउनुभयो। ती श्रमिकहरूको सुरक्षा र पुनर्स्थापनाका लागि जिफन्टले यो अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो।
कोशी प्रदेशमा अभियान सञ्चालनका लागि जिफन्ट उपाध्यक्ष विदुर कार्कीको संयोजनमा जिफन्ट सचिव बेलीमाया घले, राष्ट्रिय समिति सदस्यहरू भीमज्वाला राई, सन्तकुमार राई, किशोर धमला र माया भण्डारी सहभागी टोली गठन गरिएको छ।
अभियानका सदस्य भीमज्वाला राईका अनुसार जिफन्टसँग आवद्ध घटक युनियनका केन्द्रीय नेतृत्वलाई समेत समावेश गर्दै अभियानलाई अझ प्रभावकारी बनाइने छ ।




















