- प्रदीप रसाइली
दार्जीलिङअन्तर्गत रमणीय सानो शहर घूम निवासी मञ्जुला तामङ सुब्बाको दोस्रो मुक्तकसङ्ग्रह ‘अक्षर-तरङ्ग’ भर्खरै पाठकहरूका हातमा आइपुगेको छ। यसअघि उहाँको पहिलो मुक्तकसङ्ग्रह ‘केही अक्षर केही भाव-तरङ्ग’ सन् २०२३ मा प्रकाशित भएको हो। त्यही वर्ष उहाँको शृङ्खला कवितासङ्ग्रह ‘कुहिरोभित्र घूम-जोरबङ्गलो’ प्रकाशित भएको थियो भने त्यसअघि सन् २०२१ मै उहाँको कवितासङ्ग्रह ‘इजा अर्घ्य’ पनि पाठकहरूले पाइसकेका हुन्। गत वर्ष उहाँको पहिलो कथासङ्ग्रह ‘सम्बन्ध र सम्बोधन’ प्रकाशित भयो। जम्मा पाँचवटा मौलिक कृतिहरू दिइसक्नुभएकी मञ्जुला तामङ सुब्बा यस दृष्टिले अव्वल कवि, कथाकार र मुक्तककारहरूको लहरमा दरिनुभएको यहाँ स्वतः प्रमाणित हुँदछ। यसबाहेक, उहाँका थुप्रै फुटकर लेख र अन्य रचनाहरू सामाजिक सञ्जाललगायत भारत र नेपालका विभिन्न पत्र-पत्रिका, समाचार- पत्र र पोर्टलहरूमा निरन्तर प्रकाशित भएका छन् ।
लेखनशैली र विशेषता
कवि, कथाकार, मुक्तककार मञ्जुला तामङ सुब्बाको लेखनीको सबैभन्दा
पहिलो विशेषताबारे भन्नुपर्दा उहाँ कुनै पनि लेखको थालनी आफ्नै मौलिक हरफहरू अथवा
मुक्तकबाट गर्नुहुन्छ जसलाई उहाँको हस्ताक्षर शैली (Signature Style) भन्न मिल्छ। उदाहरणको रूपमा, पश्चिम बङ्गालकी एक कर्तव्यपरायण समाजसेवी सुमनको
बारेमा लेख शुरु गर्नअघि उहाँले यसरी मुक्तक लेख्नुभएको छ-
मुस्कान छ मुहारमा, दया र सन्तुष्टि छ सुमनको मनमा
हर पल रमाउँछिन्, असहायहरूको सेवा निःस्वार्थ धनमा
छुट्टै संसार छ, नर्थ बेंगल मेडिकल कलेज अज्ञात कक्ष
आमा स्वरूपमा सुमन, मान्दिनन् घिन असहायको तनमा।
मञ्जुला तामङ सुब्बाको कुनै पनि लेख यसरी मुक्तकबाट शुरु
भएको हुन्छ जसलाई उहाँको मौलिक वा हस्ताक्षर शैली भन्नैपर्ने हुन्छ। थोरै
लेखक-लेखिकाहरूमा मात्रै यस्तो हस्ताक्षर शैली हुन्छ, जस्तै- राजनारायण प्रधानको हस्ताक्षर शैली हो लेखन र व्यवहारमा उनका अत्यन्त छोटा-छोटा
टिमिक्क परेका वाक्यहरू, एउटा उदाहरण- ‘‘यही त हो चौरस्ता!
फेरि भानुभक्तलाई हेरें। कत्रो जिउ! मोटो
घाटो, बलियो बाङ्गो। जिउ त यस्तो हुनुपर्छ नि। मर्दाना जस्तो।... आफ्नो जिउ हेरें।
लुतेलाङ्ग्रे, सुइँखुट्टे।’’(एउटा आइतवार यसरी बित्यो, पृष्ठ
१-बाट)। त्यस्तै, मुक्तकबाट शुरु गर्नु मञ्जुला तामङ सुब्बाको हस्ताक्षर शैली।
उहाँको लेखनीको अर्को विशेषता हो सरल अनि ठेट भाषा र शब्दहरू। पढ्नासाथ भनाइको आशय
स्पष्टरूपमा बुझ्न समय लाग्दैन। अर्को
विशेषता, सान्दर्भिक विषयहरूमाथि छोटोमा मीठा कुराहरू भनिएका हुन्छन् अनि दिइनुपर्ने
सन्देश प्रत्यक्ष र परोक्ष रूपमा, अथवा कतै व्यङ्ग्यात्मक रूपमा दिइएको हुन्छ।
आफ्नो पाँचौँ कृति मुक्तकसङ्ग्रह
‘अक्षर-तरङ्ग’ लिई प्रस्तुत हुनुभएकी स्रष्टा मञ्जुला तामङ सुब्बा भारतको पश्चिम बङ्गाल
राज्यबाट भारतीय नेपाली साहित्यमा नारी हस्ताक्षरहरूबाट
पहिलो मुक्तकसङ्ग्रह दिनुहुने मुक्तककार हुनुहुन्छ, उहाँको त्यो कृति ‘केही अक्षर केही भाव-तरङ्ग’-बारे माथि उल्लेख
भइसकेको छ। उहाँपछि पश्चिम बङ्गाल राज्यबाट नेपालीमा मुक्तकसङ्ग्रह दिनुहुने
दोस्रो नारी मुक्तककार मगरजोङ (दार्जीलिङ)-की स्रष्टा शर्मिला प्रधान (‘फूलका थुँगा र असिनाको चोट’, सन् २०२५) अनि तेस्रो
मुक्तककार डा. साङमु लेप्चा (‘तृषित जरुवा’, सन् २०२५) हुनुहुन्छ। यस सन्दर्भमा सिक्किमबाट नारी स्रष्टाहरूमध्ये पहिलो
मुक्तकसङ्ग्रह दिनुहुने मुक्तककार गीताश्री शर्मा (‘मुक्ता’, सन् २०२१) हुनुहुन्छ।
अतीतको तुलनामा वर्तमानमा पाठकहरूको सङ्ख्या घटेको, पुस्तक
बिक्री नभएको, नकिनिदिएको, उपहार दिँदा पनि नपढ़िदिएको आदि इत्यादि गुनासोहरू धेरै
सुनिन्छन्, तरैपनि पुस्तक अध्ययन गर्ने, पुस्तक-पुस्तिका लेख्ने अनि प्रकाशित
गर्ने स्रष्टा स्वयं वा अन्य प्रकाशकहरू भाषा-साहित्य, संस्कृति र अन्य तमाम
विषयहरूको संरक्षण-संवर्द्धनको दिशामा अत्यन्त सराहनीय पात्रहरू हुन्। कसैले भनेको
छ- कुनै जातिलाई मास्नु छ भने सबैभन्दा पहिला त्यो जातिको भाषा र संस्कृतिलाई
मासिदेऊ, अर्थात् कुनै जातिको भाषा र संस्कृति मासियो भने त्यो जाति मासिएर जान्छ,
तर भाषा र संस्कृतिलाई जोगाउने र संवर्द्धन गरेर लैजाने सर्वाधिक महत्त्वपूर्ण
कार्यमा साहित्य स्रष्टाहरू लागिपरेर, अग्रपङ्क्तिका भाषा-संस्कृतिका योद्धा बनेर
डटिरहनुभएको छ अनि यस्तै योद्धाहरूमध्ये एक लगनशील, कर्तव्यनिष्ठ साहित्यिक
स्रष्टा मञ्जुला तामङ सुब्बा पनि हुनुहुन्छ। साहित्य स्रष्टालाई अर्को रूपमा
बुझौं। मानौं कुनै बाटोको छेउमा कुनै जनावर मरेर सिनो गन्हाइरहेको छ अनि वातावरण
प्रदूषित हुनका साथसाथै धेरैको नम्ति समस्या उब्जाइदिएको छ। साधारण व्यक्ति अथवा समाजप्रति वास्ता नराख्ने
व्यक्ति त्यो बाटो हिँड्न चाहँदैन, ऊ अर्कै बाटो हिँड्छ, त्यो बाटो हिँड़े पनि नाक
थुनेर कसरी आफू त्यहाँबाट उम्किने ध्याउन्नमै हुन्छ, अरूको बारेमा सोच्दैन। तर
त्यही समाजमा कुनै सचेत र जागरूक व्यक्ति छ भने उसले भन्छ- म त्यही बाटो हिँड्छु,
त्यो सिनोलाई त हटाउनुपर्छ, सम्बन्धित विभाग वा निकायलाई खबर गर्नुपर्छ अथवा सङ्घ-संस्था
वा समाजका व्यक्तिहरू मिलेर त्यो फोहोरलाई हटाउनुपर्छ र त्यो बाटोलाई
दुर्गन्धविहीन बनाउनुपर्छ ताकि कसैलाई पनि कुनै समस्या नहोस्, वातावरण प्रदूषित
नहोस्। यस्तै असल उद्देश्यहरू राख्ने, सकारात्मक र फलप्रद परिवर्तन वा समाधानको
सोच राख्ने सचेत व्यक्तिसरह हुन्छन् साहित्य स्रष्टाहरू पनि। त्यस्तै एक स्रष्टा
मञ्जुला तामङ सुब्बाले ‘अक्षर-तरङ्ग’-मा
सुधारवादी, सचेतनामूलक, परिवर्तनकारी विषय र विचारहरूलाई प्रस्तुत गर्नुभएको छ।
सन्दर्भः ‘अक्षर-तरङ्ग’
मञ्जुला तामङ सुब्बाको पाँचौँ कृति मुक्तकसङ्ग्रह ‘अक्षर-तरङ्ग’हालै पाठकहरूका हातमा पुगेको छ। यो
पुस्तक मुक्तककार र उहाँका श्रीमान नवीन सुब्बाद्वारा आफ्नी प्राणप्रिय छोरी इजाको
स्मृतिमा सन् २०१४ मा स्थापित इजा प्रकाशन, घूम, दार्जीलिङद्वारा यसै वर्ष (सन्
२०२५ मा) प्रकाशित भएको हो। जम्मा १०० वटा मुक्तकहरू सामेल गरिएको यस सङ्ग्रहको गहकिलो
भूमिका प्रा. डा. देवी नेपालले लेख्नुभएको छ भने डा. महेश दाहालले पनि पुस्तकमा
आफ्नो सुन्दर मन्तव्य व्यक्त गर्नुभएको छ।
मञ्जुला तामङ सुब्बाको पाँचौँ कृति ‘अक्षर-तरङ्ग’ मुक्तकसङ्ग्रह नै हो। यहाँ यसलाई
मुक्तकसङ्ग्रह नै हो भन्ने कुरामाथि जोड़ दिनुको आवश्यकता किन आइपऱ्यो भने धेरै
ठाउँमा अथवा कार्यक्रमहरूको अवसरमा हामीले ‘अन द रेकर्ड’ वा ‘अफ् द रेकर्ड’ कुराकानी अथवा
औपचारिक कुराकानीहरूमा मुक्तकको संरचनाबारे प्रश्न उठाइएको अथवा रुबाईको कुरा
निकालिएको, ‘यो त मुक्तक होइन, मुक्तक कसरी भयो, यो त रुबाई
हो’ भन्ने मन्तव्यहरू अनि वादविवादहरू पनि सुनेका छौं। लेख्न
त मुक्तक नै लेखिएको हुन्छ तर त्यो मुक्तकलाई एक किसिमको अन्योल, दोधारको स्थितिमा
पुऱ्याइन्छ। यसरी कतिपय पाठकहरूले अज्ञानवश अथवा अपूर्ण जानकारीको कारण वा
अरूहरूको तर्कहीन कुरामाथि भर परेर ‘अक्षर-तरङ्ग’मा भएका रचनाहरू पनि ‘मुक्तक होइनन् यी त रुबाई हुन्’ भन्न बेर नहोला। यसकारण ‘अक्षर-तरङ्ग’-माथि पाठकीय दृष्टिकोण राख्नुअघि रुबाई र मुक्तकबीच समानता र भिन्नताबारे
यहाँ संक्षिप्तमा चर्चा गर्नुपर्ने औचित्य देखिएको छ।
रुबाई
रुबाई शब्द अरबी ‘रुबा’-बाट आएको हो जसको अर्थ हुन्छ – चार। रुबाई चार हरफमै लेखिन्छ, अर्थात्
रुबाई चार हरफमा लेखिने कविताको लघु रूप हो। एउटा हो भने ‘रुबाई’ अनि धेरै रुबाईहरू अथवा रुबाईहरूको कृति भए ‘रुबाइयात’ भनिन्छ। उर्दू र फारसीमा यो एक प्रकारको मुक्तक हो तर नियमहरूमा
बाँधिएको। पहिलो रुबाई अरबको देन भएपनि १२औं
शताब्दीमा ईरानमा उमर खय्यामले रुबाईहरू लेखेर यस विधालाई लोकप्रिय बनाए। तर
खय्यामले धेरै रुबाईहरू लेखे पनि उनी र उनका रुबाईहरू त्यति प्रसिद्ध भएका थिएनन्।
अङ्ग्रेज कवि एडवर्ड फिड्ज्जेराल्डले
उनका रुबाईहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि उमर खय्याम र उनका रुबाईहरू
संसारप्रसिद्ध भए। जसरी महान् चिन्तक, दार्शनिक, सामाजिक क्रान्तिकारी कार्ल
मार्क्सलाई अनि उनका दर्शन र सिद्धान्तहरूलाई संसारभरि प्रख्यात बनाउनुमा फ्रेडरिक
एंगेल्सको भूमिका रह्यो, आदिकवि भानुभक्त र उनका कृतिहरूलाई जनमानससित परिचित र
लोकप्रिय बनाउनुमा मोतीराम भट्टले मुख्य भूमिका खेले, उसरी नै उमर खय्याम र उनका
रुबाईहरूलाई विश्वप्रसिद्ध बनाउन एडवर्ड
फिड्ज्जेराल्डले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
रुबाई पनि छेस्का, युग्मक,अणु कविता, कणिका कविता, हाइकू,
एलाक, दुहक, तीहक आदिजस्तै कविताको लघु रूप हो, तर रुबाईका हरफहरू छन्द, लय, मात्रा वा मिटर आदिमा नियममा
बाँधिएका हुन्छन् अनि प्रत्येक हरफ एकअर्कासित सम्बन्धित रहेका हुन्छन्। रुबाईको निम्ति २४ वटा विशेष छन्द
निर्धारित छन्, अनि
प्रत्येक रुबाई यी छन्दहरूमध्ये कुनै एउटा अथवा धेरै छन्दहरूको मिश्रित रूप
हुनसक्छ। यसको पहिलो, दोस्रो र चौथो हरफमा तुक्का (काफिया) मिलेको
हुन्छ अर्थात् एउटै जस्तो ध्वनि सुनिने शब्दहरू हुन्छन्, तेस्रो हरफको अन्तिम शब्द
स्वतन्त्र रहेको हुन्छ अर्थात् तुक्का मिलेको हुँदैन। रुबाईको प्रत्येक हरफलाई ‘मिसरा’ भनिन्छ। रुबाईमा पहिलो मिसराले विषयको उठान,
दोस्रोले समर्थन, तेस्रो हरफ स्वतन्त्र रहेर चौथोले प्रहार गरेको हुन्छ, तर प्रत्येक
मिसराले स्वतन्त्र रूपमा (एक्लै रहेर) पूर्ण अर्थ नदिन पनि सक्छ अनि एकअर्कासित
सम्बन्धित रहेर मात्रै एउटा विषयवस्तुमाथि प्रकाश पारेका हुन्छन्। ती मिसराहरूलाई
तलमाथि पार्दा रुबाई नै अर्थहीन हुन सक्छ।
एडवर्ड फिड्ज्जेराल्डद्वारा
अङ्ग्रेजीमा अनुवाद गरिएको, खय्यामको एउटा रुबाई हेरौं-
“A Book of Verses underneath the Bough
A Jug of Wine, a Loaf of bread-and Thou
Beside me singing in the Wilderness
Oh, Wilderness were Paradise enow!”
अङ्ग्रेजीमा अनुवाद गरिएको उक्त रुबाईलाई विद्वान् प्रा.
डा. गोविन्दराज भट्टराईले नेपालीमा यसरी सरल र सुन्दर अनुवाद गर्नुभएको छ-
वृक्षको क्षहारीमा एउटा कविताको पुस्तक अनि
मदिराको प्याला, एक रोटी साथमा तिमी पनि
मेरो छेउमा तिमी गाइरहेकी त्यो वन्यतामा
आहा त्यो वन्यता नाचेको आज नयाँ स्वर्ग बनि।
यस रुबाईका मिसरा वा हरफहरू निश्चित छन्द र मिटरमा छन्।
पहिलो, दोस्रो र चौथो हरफमा तुक्काबन्दी छ तर तेस्रो हरफ स्वतन्त्र छ। तुक्का वा काफियाचाहिँ ‘अनि’ छ। यिनीहरूले एकअर्कासित सम्बन्धित रहेर एउटा
विषयमाथि प्रकाश पारेका छन्। यहाँ पहिलो
हरफले विषयको उठान गरेको छ, दोस्रोले समर्थन, तेस्रो स्वतन्त्र रहेको छ अनि चौथोले
प्रहार गरेको अर्थात् विषयलाई चरममा पुऱ्याएको छ।
पाठकहरूलाई दार्जीलिङ भेकबाट रुबाईसङ्ग्रह दिनुहुने पहिलो नारी
स्रष्टा हुनुहुन्छ- नम्रता संस्कार।
उहाँको रुबाईसङ्ग्रह ‘तिम्रो प्रेरणा’-बाट
एउटा रुबाई हेरौं-
सृष्टिको अमूल्य रचना हो नारी
समाजको अलङ्कृत गहना हो नारी
बिक्रीको सामान त पक्कैनि होइन
ईश्वरको अनुपम सृजना हो नारी। (तिम्रो
प्रेरणा, पृ. ३१)
मुक्तक
मुक्तक पनि कविताको लघु रूप नै हो। अधिकांश मुक्तकहरू प्रायः चार हरफमै लेखिए पनि
मुक्तक तर अधिकतम चार हरफमै हुनुपर्छ भन्ने छैन। छः अथवा आठ हरफमा पनि मुक्तकहरू
लेखिन्छन्, लेखिएका छन्। चार हरफको मुक्तक झट्टै हेर्दा र पढ्दा रुबाईजस्तै लाग्छ किनभने
रुबाईमा जस्तै मुक्तकमा पनि पहिलो र दोस्रो हरफले विषयको क्रमैसित उठान र समर्थन
गर्दछ, तेस्रो स्वतन्त्र रहेको हुनसक्छ अनि चौथोले प्रहार गरेको वा चरम बिन्दु
छोएको हुन्छ। अनि, रुबाईमा जस्तै मुक्तकमा पनि पहिलो, दोस्रो र चौथो हरफमा
तुक्काबन्दी हुन्छ। तर, मुक्तकचाहिँ लय, छन्द, मिटरको नियमबाट मुक्त रहेको हुन्छ।
ती नियमहरूबाट मुक्त रहेको अथवा बन्धनमा नरहेको लघु कविता नै मुक्तक हो। मुक्तकमा
चाहिँ प्रत्येक हरफ एकअर्कासित सम्बन्धित रहेको हुँदैन, अर्थात् प्रत्येक हरफ
आफूमै स्वतन्त्र रहेर पनि पूर्ण अर्थ दिइरहेको हुन्छ, जुन प्रायः रुबाईमा हुँदैन,
माथि नै भनियो। मुक्तकका हरफहरूको स्थान बद्ली गर्दा अथवा तलमाथि पार्दा पनि
अर्थहरूमा कुनै फरक पर्दैन, पूर्ण अर्थ बोकिरहेकै हुन्छन्।
अर्को सजिलो भाषामा रुबाई र मुक्तकबीच भिन्नता बताउनु हो
भने हेर्दा उस्ताउस्तै लागे पनि रुबाई र मुक्तक जम्ल्याहा दाजुभाइजस्तै हुन्
जसमध्ये रुबाई विभिन्न कठोर नियमहरू पालन गर्ने गम्भीर स्वभावको जेठो दाजु हो भने
मुक्तकचाहिँ ती नियमहरू पालन नगर्ने, अलिक
स्वच्छन्द स्वभावको कान्छो भाइ हो। ती
दुवै दाजुभाइका हावभाव रोचक र चेतनामूलक सन्देश दिने नै हुन्छन्।
मुक्तकका केही उदाहरण हेर्नुपर्दा नारी स्रष्टाहरूमध्येबाटै
दार्जीलिङबाट डा. साङमु लेप्चाको मुक्तकसङ्ग्रह ‘तृषित
जरुवा’-बाट एउटा लिइहेरौं-
तिमीलाई भेट्न समय बचाएर आएकी हुँ म
मन्दिरमा फूल, भेंटी पनि चढ़ाएर आएकी हुँ म
एक सिक्काका दुइ पाटासरह हुन् नारी-पुरुष
दलान छोड़ी तिम्रो हात समाएर आएकी हुँ म। (‘तृषित जरुवा’, पृ. ३७)
उसरी नै मगरजोङ, दार्जीलिङबाट मुक्तककार शर्मिला प्रधानको एउटा मुक्तक उदाहरणमा राखौं-
सरोकार राख्छौ किन जल्नेहरूसित?
राख बरु सतर्कता तिमी छल्नेहरूसित।
गयो समय बसिरहने, सीधालाटा
बनी;
होशियारको होश पुर्याउनू दल्नेहरूसित। (‘फूलका थुँगा र असिनाको चोट’, पृ. ४१)
नारी स्रष्टाहरूकै लहरमा ओयाम सरोकार समाज, काठमाडौंबाट
प्रकाशित, मुक्तककार शान्ति
लिम्बू (फार्नबोरो, बेलायत)-को ‘कस्तुरी
यात्रा’-बाट एउटा मुक्तक हेरौं-
हरेक नयाँ बिहानीले जीवनको नयाँ अध्याय बनाउँछ
हरेक नयाँ चुनौतीले
सफलताको अर्को बाटो खुलाउँछ
प्रत्येक नयाँ दिन पाउनुमा भाग्यमानी मानौं
थाहा हुन्न जिन्दगीले कुन क्षण अन्तिम उत्सव मनाउँछ। (‘कस्तुरी यात्रा’, पृ. १०५)
अब रुबाई र मुक्तकबीच समानता र भिन्नताहरूबारे यी सम्पूर्ण बुँदा र उदाहरणहरू हेरेपछि मञ्जुला तामङ सुब्बाको पाँचौं कृति ‘अक्षर-तरङ्ग’ मुक्तकसङ्ग्रहहरूकै लहरमा दरिएको सप्रमाण भन्न सकिन्छ।
‘अक्षर-तरङ्ग’-माथि मुख्य पाठकीय दृष्टिकोण
शीर्षकहरूबाटै थाहा लाग्छ, अक्षरहरूको तरङ्ग वा छाल। जसरी
समुद्रका तरङ्ग वा छालहरूले मन्द बतास, पवन, सामान्य हावादेखि लिएर हुरी-बतासहरू
सृष्टि गर्दछन् जसले विभिन्न प्रकारका परिदृश्य र परिवर्तनहरू ल्याउँदछन् उसरी नै
प्रस्तुत कृतिमा पनि अक्षर र भावहरू चेतना, चिन्तन, आह्वान, विद्रोह र सुझाउरूपी
छालहरू भई उठेका छन् जसले सकारात्मक परिवर्तनका दिशामा जागरूक गराएका छन्। यस
कृतिमा मुक्तककार मञ्जुला तामङ सुब्बाले प्रगतिशील साहित्यको धारालाई अप्नाएकी
छन्। प्रगतिशील साहित्यका मुख्य विशेषताहरू हुन्- सामाजिक यथार्थको चित्रण,
शोषकवर्गप्रति विरोध, जनसाधारणका भावनाहरूको
समर्थन, अनि एउटा अझ असल समाजको स्थापनाको निम्ति प्रयास। जात,
धर्म, लिङ्ग, राजनीति,
कुसंस्कार, रुढ़िवाद इत्यादिबाट माथि उठेर समाजलाई अग्रगामी दिशामा
लैजाने उद्देश्य राखी लेखिने साहित्यलाई प्रगतिशील साहित्य भन्दा अतियुक्ति हुँदैन।
यस्तै प्रगतिशील साहित्यभित्र परेका छन् ‘अक्षर-तरङ्ग’-का मुक्तकहरू।
साधारण व्यक्ति र साहित्य स्रष्टाहरूबीच धेरै धेरै अन्तरहरू
हुन्छन्। सोच एउटै भए पनि कल्पना र यथार्थ अनि अभिव्यक्तिको शैली र प्रतिभा फरक
हुन्छ। सोच र कल्पना बेग्लै हुनु त सबैभन्दा ठूलो अन्तर हो। यसलाई यसरी बुझौं- मानिलिऔं
कुनै समुद्रमाथिबाट एउटा हवाईजहाज उड़िरहेको छ। त्यस हवाईजहाजभित्र साधारण वा निम्नस्तरीय
सोच राख्ने अनि नकारात्मक कल्पना गर्ने व्यक्तिहरू पनि हुनसक्छन् अनि त्यही
हवाईजहाजभित्र विशिष्ट वा उच्चस्तरीय सोच राख्ने, सकारात्मक र सुन्दर कल्पना गर्ने
अनि अभिव्यक्तिको बेजोड़ प्रतिभा रहेका व्यक्तिहरू पनि हुनसक्छन्। साधारण
व्यक्तिले मनमनै यसो भन्छ- ‘यो हवाईजहाज
दुर्घटनाग्रस्त भयो भने मुनिको समुद्रमा खस्नेछ अनि सबैको कति मर्मान्तिक मृत्यु
हुनेछ, किनकि समुद्रमा डरलाग्दा मांसाहारी प्राणीहरू छन्।’
साहित्य स्रष्टाले चाहिँ मनमनै यसो भन्न सक्छ- ‘माथि नीलो
आकाश, मुनि निलो समुद्र। अहा कति सुन्दर! यो समुद्रले निलो
आकाशको रङ्ग ओढ़ेको हो कि आकाशले नीलो समुद्रको रङ्ग चोरेको हो?’ यस्तै विशिष्ट सोच र कल्पनाको उड़ान भर्नुहुने साहित्यिक स्रष्टाहरूमै
पर्नुहुन्छ मञ्जुला तामङ सुब्बा। उहाँले ‘अक्षर-तरङ्ग’-मा विविध अनुभूतिहरूसँगै सकारात्मक सोच, विचार अनि परिवर्तनकारी आह्वान र
सुन्दर कल्पनाहरूलाई समेट्नुभएको छ। उहाँको यस्तै सोचको प्रमाणस्वरूप उहाँको पहिलो
मुक्तकसङ्ग्रह केही ‘अक्षर केही भाव-तरङ्ग’बाट एउटा मुक्तक अघि सारौं-
किपट यी हुन् हाम्रा नबिगारौं ठाउँको नाम
अर्थ मनन गरौं, बुझौं, जानौं गाउँको नाम
बनौं सतर्क नथपौं, नघटाऔं पुर्खाको देन
थुतिदेलान जिब्रो अरूले लिँदा बाउको नाम।
(‘केही अक्षर केही भाव-तरङ्ग’, पृ. ४५)
यस मुक्तकमा मुक्तककारले आफ्ना गाउँठाउँका नामहरू नबिगारौं
भन्ने चेतनामूलक आह्वान गर्नुभएको छ। हुन पनि, हाम्रा गाउँठाउँहरूका नामहरू धेरैले
बिगार्दै गइरहेका छन् जुन चिन्तनीय र सोचनीय विषय हो। उदाहरणस्वरूप हेर्नुपर्दा, खास नाम त ‘खरसाङ’ हो नि, तर अङ्ग्रेजी र अन्य भाषामा अर्कै
भएको छ- ‘कर्सियाङ’। ‘तीनधारे’ हो नि, ‘तीनधारिया’ भएको छ।
पोख्रेबुङ ‘पोखरियाबोङ’ भएको छ। ‘शिलगढ़ी’ (सिलगढ़ी) अर्थात् शिलाहरूको गढ़ी,
ढुङ्गाका किल्लाहरू, ‘सिलीगुड़ी’ भएको
छ। उता ‘मगरजोङ’-लाई पनि कतिले ‘मगरजुङ’ भन्न र लेख्न थालेका छन्। ‘मगरजोङ’ भनेको वीर योद्धा मगरहरूको ‘जोङ’ अर्थात् ‘किल्ला’। सिक्किममा पनि छ, दार्जीलिङ नागरी भेकमा पनि छ मगरजोङ। यस्ता धेरै
उदाहरण छन् जसबाट बुझ्न सकिन्छ, हाम्रा गाउँठाउँहरूका नामहरू धेरैले बिगारिरहेका
छन् अथवा बिगार्न चाहँदैछन्। जातिको चिन्हारी र अस्तित्वको सन्दर्भमा यो अत्यन्त
दुखद र चिन्तनीय विषय हो अनि यस्तै अन्य विषयहरूलाई मुक्तककार मञ्जुला तामाङ
सुब्बाले ‘अक्षर-तरङ्ग’मा समेट्नुभएको
छ। केही मुक्तकहरू हेरौं-
‘नबनाऊ माटोको मूर्ति’ भन्न
सकिनँ मैले
‘नगर विसर्जन पुजेर जलमा’ भन्न सकिनँ मैले
पूजा र आस्था रुमलिएको देखेर अँध्यारोमा
‘हे भक्तजन, मन दुख्छ
मेरो’ भन्न सकिनँ मैले।
(पृ. ७१)
मुक्तकमा भनिएको कुरा स्पष्टै छ, विश्लेषणको आवश्यकता नै
छैन। तरैपनि, यति भन्नु उचित हुनेछ- मुक्तककारले यहाँ उठान गर्नुभएको विषय आस्था र
विश्वाससित जोड़िए पनि त्यो अर्थव्यवस्था, धनको दुरुपयोग अनि नदीनाला र वायु प्रदूषणसित
पनि जोड़िएको छ। फ्याँक्नुमा हामी साह्रै उस्ताद छौं। पुरानो समयका सिक्काहरू
पुलमाथिबाट खोला-नालातिर फ्याँकेरै सक्यौं। विभिन्न अवसर र पूजाआजामा धेरै पैसा
तिरेर पटेका किनेर पड्काएरै, फ्याँकेरै धन नाश र वातावरण विनाश गर्न अनि प्रदूषण
फैलाउनमा खप्पिस भएका छन् धेरै मानिसहरू। आस्था र विश्वासबीच रुमलिएका यस्तै यस्तै
मिल्दाजुल्दा कुराहरूलाई मुक्तककारले उठान र आह्वान गर्न खोज्नुभएको छ।
यसै कृतिबाट अर्को मुक्तक हेरौं-
धन्य बन्यौ ब्रह्माण्ड पर्यावरण निःशुल्क दिएर
सहन्छौ कसरी आफ्नै प्रदूषित जलवायु पिएर
हरे! बुद्धि हामी मानवको अति लज्जाजनक
गर्छौं अभिनय ‘पर्यावरण
बचाऔं’-को नारा लिएर।
(पृ. १०६)
पर्यावरण प्रदूषणको मुद्दा अहिले सर्वोपरि विश्वव्यापी
मुद्दा बनेको छ। पर्यावरण संरक्षण र प्रदूषण न्यूनीकरणका कुरा धेरै हुन्छन् तर काम
थोरै अथवा शून्य। प्रकृतिले त आफै बताएको छ नि- ‘हे
मानव, मलाई जति दिन्छौ त्योभन्दा अत्यन्त धेरै, असङ्ख्य, अनगन्ती म दिनेछु, चाहे
त्यो आदर होस् वा तिरस्कार, सिर्जना होस् वा संहार।’ पहाड़
पखेरोमा गएर ‘नमस्कार’ भनेर कराउँदा
पहाड़मा प्रतिध्वनि हुन्छ र त्यस्तै आदरको ‘नमस्कार’ धेरैपल्ट फर्केर आउँछ। ‘तँ’
भनेर कराउँदा त्यस्ता धेरै धेरै ‘तँ’हरू
फर्केर आउँछन्। धरतीलाई हामीले एउटा बिउ दियौं भने त्यही धरतीको माध्यमबाट
प्रकृतिले अजस्र असङ्ख्य अन्न र बिउ प्रदान गर्दछ। यसरी मानवले प्रकृतिलाई जति दिन्छ चाहे त्यो
आदर होस् वा तिरस्कार, सिर्जना होस् वा विनाश- प्रकृतिले त्योभन्दा धेरै दिन्छ भनी
जान्दाजान्दै पनि मानवले टेर्दैन। यस्तै चिन्तनीय कुराबारे यस मुक्तकमा
मुक्तककारले दह्रो प्रहार गर्नुभएको छ।
अर्को मुक्तक-
एकतमासले घुर्दैछ भेन्टिलेटरमा जीवनको गणित
मदिराको खुशीमा गुणा गरे शान्तिहरू अगणित
जोड़-घटाउ, पाइलाहरू
असन्तुलन शरीरको गति
मिलेन हिसाब अहिले अर्धमस्तिष्क अवगणित। (पृ. ११४)
मदिराको प्रसङ्ग माथि पनि थियो, यहाँ पनि छ। माथिको रुबाईमा
भनिएको मदिरा सोझै नभनिएर प्रतीक पनि हुनसक्छ- पुस्तकको मात, वातावरणको मात,
प्रेयसीको साथको मात। प्रतीक वा बिम्बले धेरै विभिन्न अर्थ दिन्छ, जस्तै- कुनै
कवितामा ‘जीवनको घाम’ भनिएको छ
भने त्यो घाम नै होइन, त्यो घामको अर्थ नयाँ ऊर्जा, नयाँ आशा वा उमङ्ग, काम गर्ने
नयाँ जोश हुन सक्छ, त्यो प्रतीक वा बिम्ब हो। त्यसरी नै ‘गुलाफ’ भनियो भने त्यो कोमलता, सुन्दरता अथवा मन परेको वस्तुको प्रतीक वा बिम्ब
हुनसक्छ। तर यहाँ माथिको मुक्तकमा भनिएको मदिरा प्रतीक वा बिम्ब होइन, यहाँ सोझै
मदिराकै कुरा गरिएको छ, मदिराको अत्यधिक सेवनले जीवन भेन्टिलेटरमा पुगेको उदाहरणको
कुरा छ। यसैकारण मदिरा सेवन तथा अन्य त्यस्तै दुर्व्यसन परित्याग गर्ने
मुक्तककारको आह्वान छ। स्रष्टाहरूले आफ्नै प्रकारले धेरै वा थोरै भनेका हुन्छन्
त्यसलाई लिनेले आफ्नै प्रकारले थोरै वा धेरै वा सकारात्मक अथवा नकारात्मक प्रकारले
लिन सक्छन्। यही मदिरा (सेन्तेरेम)-को प्रसङ्गमा भन्नुपर्दा एउटा गाउँमा एक प्रेरक
व्यक्ति मदिरा सेवन रोक्ने अभियानमा पुग्यो। उपस्थित व्यक्तिहरूबीच उसले प्रदर्शन
गर्दै एउटा बोतलमा पानी र अर्को बोतलमा रक्सी राख्यो, केही बेरपछि उसले दुइवटै
बोतलभित्र कीराहरू हालिदियो। केही बेरपछि...
सेन्तेरेम हालिएको बोतलका कीराहरू मरे, पानी भएको बोतलमा हालिएका कीराहरू
जस्ताको जस्तै, जिउँदै थिए। प्रेरक व्यक्तिले
सोध्यो, ‘यसबाट तपाईंहरूले के बुझ्नुभयो?’ एकजनाले हात उठाएर भन्यो- ‘सेन्तेरेमले पेटका
कीराहरू मार्छ, यसकारण सेन्ते पिउनु राम्रो हो।’ उक्त प्रेरक व्यक्तिले जस्तै साहित्य स्रष्टाहरूले आफ्नै प्रकारले सन्देश
वा अर्ती दिए पनि लिनेहरूले के कति र कसरी लिन्छन् त्यो उनीहरूकै सोच, विवेक र
व्यवहारमाथि भर पर्दछ।
‘अक्षर-तरङ्ग’मा मञ्जुला तामङ सुब्बाले यस्तै विभिन्न विषयहरू, पर्यावरण, संस्कार-संस्कृति, नैतिकता, गाउँले अथवा शहरिया सामाजिक परिवेश, विडम्बनापूर्ण स्थितिहरू, प्रेम-प्रणय, पारिवारिक सम्बन्ध, जातीय अस्तित्व र चिन्हारी तथा स्वाभिमान, बेरोजगारी तथा पलायनवाद, धार्मिक र सामुदायिक सद्भाव, आधुनिकताका नकारात्मक असरहरू, आदि इत्यादि विषयहरूलाई समेट्नुभएको छ। कतै प्रत्यक्ष रूपमा राख्नुभएको छ भने कतै वक्रोक्ति अथवा व्यङ्यात्मक रूपमा पनि समेट्नुभएको छ।
भाषाशैली र स्तरीयता
‘अक्षर-तरङग’मा पनि
मञ्जुला तामङ सुब्बाले, माथि भनिएझैं, सरल र ठेट शब्दहरू प्रयोग गर्नुभएको छ। एक
सयवटा मुक्तकहरू सामेल रहेको ‘अक्षर-तरङ्ग’मा वर्तनी, व्याकरण र वाक्य-विन्यासहरू भारतीय नेपाली भाषा र व्याकरणको
दृष्टिले अत्यन्त शुद्ध छन्। भ्रान्तिमूलक अथवा गलत शब्दहरूका प्रयोग कतै भएका
छैनन्।
उपसंहार
साहित्यका विभिन्न विधाहरूमा निरन्तर कलम चलाउनुहुने साहित्य स्रष्टा मञ्जुला तामङ सुब्बाको पाँचौं कृति मुक्तकसङ्ग्रह ‘अक्षर-तरङ्ग’मा विविध विषयहरूलाई समेटिएको छ अनि सम्पूर्ण दृष्टिले यो एक स्तरीय कृति बनेको छ। भारतीय नेपाली साहित्य भण्डारमा ‘अक्षर-तरङ्ग’ थपिदिनुभई उहाँले मुक्तक विधाको क्षेत्रमा थप अत्यन्त सराहनीय र उदाहरणीय योगदान दिनुभएको छ। आगामी दिनहरूमा पनि उहाँको कलम यसरी नै ऊर्जाशील र चेतनामूलक बनी यथावत् चलिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। (लेखक वरिष्ठ अनुवादक, सम्पादक, समीक्षक एवम् पत्रकार हुनुहुन्छ।–सं.) सिलगढ़ी, भारत