धरान / डिपो स्कुलको आयोजनामा भइरहेको विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको फाइनल खेलमा सुनाखरी स्कुल, धरान र प्याराडाइज स्कुल, तरहरा आमनेसामने हुने भएका छन्।
भारी वर्षाका कारण धरान–१६ स्थित इन्डोर बास्केटबल कोर्टमा आइतबार सम्पन्न दुई सेमिफाइनल खेलहरूमार्फत फाइनलको समीकरण तय भएको हो। पहिलो सेमिफाइनलमा सुनाखरी स्कुलले आइडल स्कुललाई ४८–३९ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। खेलको पहिलो क्वार्टरमा आइडल स्कुलले ९–७ को अग्रता लिए पनि दोस्रो र तेस्रो क्वार्टरमा सुनाखरीले क्रमशः २३–६ र १०–८ को स्पष्ट अग्रता बनाएको थियो। यद्यपि चौथो क्वार्टरमा आइडल स्कुलले १६–८ अंक जोडे पनि समग्र खेलमा पछि पर्यो।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा प्याराडाइज स्कुल, तरहराले धरानको कार्मेल हाइ स्कुललाई ३९–३६ को झिनो अन्तरले पराजित गर्यो। खेलको पहिलो क्वार्टर ६–६ को बराबरीमा टुंगिएको थियो भने दोस्रो क्वार्टरमा कार्मेल स्कुलले ९–३ को अग्रता बनाएको थियो। तेस्रो क्वार्टरमा प्याराडाइजले १६–८ को बढत लिएको थियो भने चौथो क्वार्टरमा कार्मेलले १५–१४ को समान प्रदर्शन गरे पनि समग्र स्कोरमा पछि पर्यो।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनाखरीका बिक्रम श्रेष्ठ र दोस्रो सेमिफाइनल खेलमा झल्किएको प्रदर्शनका आधारमा प्याराडाइजका प्रिन्स खत्री ‘म्यान अफ द म्याच’ घोषित भए। उनीहरूलाई राष्ट्रिय रेफ्री युगल लिम्बू र आयोजक डिपो स्कुलका खेलकुद संयोजक उमेश ताम्रकारले ट्रफी प्रदान गरे।
कक्षा १० सम्मका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने यस प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, प्रतियोगिताका ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) लाई नगद एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट स्कोरर (हाइ स्कोरर) लाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताका सम्पूर्ण खेलहरू डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुँदै आएका छन्। फाइनल खेल सोमबार बिहान ८ बजे प्रारम्भ हुनेछ।