धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सङ्घीय सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा प्रयोग गरिएको भाषाशैलीप्रति तीव्र आलोचना सुरु भएको छ। पुरानो धरान अस्पतालको जग्गा फिर्ता माग गर्दै लेखिएको सो पत्रमा प्रयोग गरिएका अशोभनीय शब्द र अभिव्यक्तिले औपचारिक पत्राचारको मर्यादालाई चुनौती दिएको टिप्पणी गरिएको छ।

मेयर साम्पाङले सो पत्रमा लेख्न भएको छ – ‘छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्गारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। Please  फिर्ता गरिदिनु होला। धन्यवाद।’

उक्त अभिव्यक्तिले स्थानीय सरकार प्रमुखबाट अपेक्षित गरिमा र संयमताको उल्लंघन भएको भन्दै विभिन्न पक्षबाट आपत्ति जनाइएको छ। सामाजिक सञ्जालमा समेत साम्पाङले यस्तै शैलीमा स्टाटस लेख्दै आफ्ना भनाइलाई दोहो-याउनु भएको थियो । 

बीपी प्रतिष्ठानको कडा प्रतिक्रिया

धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङद्वारा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अभिव्यक्तिलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले औपचारिक विज्ञप्तिमार्फत आपत्ति जनाएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा कानुनी प्रक्रिया र सरकारको निर्णयअनुसार प्रतिष्ठानको नाममा नामसारी गरिएको स्पष्ट उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ–‘‘हपेको’, ‘सुुसुक्कै लगेको’ जस्ता शब्द प्रयोग गरेर भ्रम सिर्जना गरिनु शोभनीय होइन। स्थानीय सरकार प्रमुख जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो।’

Untitled-1 copy

जग्गा नामसारीको कानुनी प्रक्रिया

प्रतिष्ठानका अनुसार २०४८ साल माघ ४ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार धरान बजारस्थित पुरानो अस्पतालले चर्चेको ३ बिघा ८ कठ्ठा १२ धुर जग्गा प्रतिष्ठानको नाममा कानुनी रूपमा नामसारी गरिएको थियो। त्यसका लागि प्रतिष्ठानको सञ्चालक परिषद्को निर्णय, कानुनी प्रक्रिया र सरकारी स्वीकृति सबै पूर्ण गरिएको थियो।

प्रतिष्ठानका रजिष्टार प्रा.डा. सूर्यप्रसाद सग्रौलाले भन्नु भयो–‘नगर प्रमुख साम्पाङ आफैं प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्को सदस्यसमेत हुनुहुन्छ। उहाँबाट यस्तो अशोभनीय भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण हो। सम्वाद गरेर समाधान खोजिनुपर्ने विषयमा धम्कीपूर्ण शैली उपयुक्त हुँदैन।’

प्रतिष्ठानले मेयरले सार्वजनिक रूपमा प्रयोग गरेका भनाइहरू सच्याउन आग्रह गर्दै सामाजिक सञ्जालमा जताभावी लेख्नुको सट्टा समन्वय र सम्वादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ। ‘पुरानो अस्पताल क्षेत्रलाई धरानवासीको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा संवाद गर्न हामी सकारात्मक छौं, तर अमर्यादित अभिव्यक्ति र असंयमित व्यवहारले सहकार्यको सम्भावना कमजोर बनाउँछ।’ रजिष्टार प्राडा. संग्रौलाले भन्नु भयो–‘अहिले पनि उपमहानगरले नै उपभोग गरिरहेको छ । नगरले अस्पताल सञ्चालन गर्दा हामी जनशक्ति र उपकरणहरु सहयोग गर्न सक्छौं तर सहकार्य विना कसरी काम हुन्छ ।’