धरान / काठमाण्डौमा भएको राष्ट्रिय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले शुन्य स्वर्ण प्राप्त गरेको छ ।
शुक्रबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेशमा टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्य सहित दोस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्दै तेस्रो स्थानमा रहयो ।
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य, मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौँ स्थानमा रहयो । स्वर्ण पदक विहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक लिएर अन्तिममा रहेको छ ।
कोशी प्रदेशमा छनौट मै विवाद भएको थियो । प्रतियोगितामा सहभागि हुन ३ सय भन्दा बढी विभिन्न विधाका खेलाडीहरु बञ्चित भएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पार्यो ।
११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेस्रो स्थानमा चित्त बुझायो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो । गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसाथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।