झापा / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको झापा जिल्ला कार्यसमितिको पहिलो अधिवेशन आज झापाको सुङ्गामा सम्पन्न भएको छ। अधिवेशनमा झापाका १५ वटै स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य सम्हाल्नु भएका महासंघका केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता काशीनाथ दङगालले सामुदायिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि, योगदान र आजका चुनौतीबारे विश्लेषणात्मक दृष्टिकोण प्रस्तुत गर्नु भयो। उहाँले भन्नुभयो, “हाम्रा अग्रजहरूले छानो, मानो र रहर समेत बन्दक राखेर बनाएका सामुदायिक विद्यालयहरू हाम्रो साझा धरोहर हुन्। तिनको संरक्षण र गुणस्तर अभिवृद्धि हामी सबैको साझा दायित्व हो।”

कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, जिल्ला विद्यालय निरीक्षण समिति (जिविस) झापाका सभापति विश्वनाथ बराल, महासंघका सल्लाहकार युवराज बास्कोटा र कोशी प्रदेश अध्यक्ष हरिबहादुर कार्कीले पनि शुभकामना मन्तव्य राख्नु भयो।

प्रदेश अध्यक्ष कार्कीले भन्नुभयो, “राज्यले सामुदायिक विद्यालयमा गरेको लगानीको वास्तविक प्रतिफल जनस्तरमा अनुभूति गराउन विद्यालय व्यवस्थापनमा सामूहिक दृष्टिकोण आवश्यक छ।”

कार्यक्रममा सहभागीहरूले विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय राजनीतिक नेतृत्व, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकमात्र होइन, सम्पूर्ण अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै नियमित पठाउने संस्कार बसाल्न सकियो भने विद्यालय सुधारको काम सहज र छिटो हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै बुद्धिमान कार्कीले सामुदायिक विद्यालयको अस्तित्व, गुणस्तर र अभिभावकीय सहभागिता सुनिश्चित गर्न महासंघ अझ सक्रिय ढंगले जिल्लास्तरीय अभियानहरू अघि बढाउने प्रतिबद्धता जनाउनु भयो।

उहाँले भन्नुभयो, “अधिवेशनले सामुदायिक विद्यालयप्रतिको साझा उत्तरदायित्वलाई पुनः एकपटक पुष्टि गरेको छ। अब हामी नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म सक्रिय भूमिका निर्वाह गर्छौं।”

यस अधिवेशनमार्फत सामुदायिक शिक्षा सशक्तीकरणका लागि जागरण, सहकार्य र स्थायित्वका भावनाहरू पुनः जागृत गरिएका छन्। सहभागीहरूबीच साझा समझदारी बनेको यो अधिवेशन अब जिल्ला मात्र नभई प्रदेशस्तरमा समेत सुधारको सन्देश फैलाउने अपेक्षा गरिएको छ।