धरान   / धरान बास्केटबल संघको आयोजना कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता धरानमा हुने भएको छ । धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कोशी प्रदेश सरकार खेलकुद विकास वोर्डको संयोजन तथा धरान उपमहानगरपालिकाको विशेष सहयोगमा हुने लागेको प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख पाउने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सम्भवत राजधानी बासकेटवल प्रतियोगितामा यति पुरसकार राशी सबै भन्दा धेरै हो । 

प्रतियोगितामा कोशी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउने छन्। टिमले कोशी प्रदेश अन्तर्गतका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ भने बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि खाना र बस्नको व्यवस्था गरिने आयोजकले जनाएको छ।

२०५९ सालदेखि विद्यालय तहबाटै बास्केटबलको प्रवर्द्धनमा सक्रिय धरान बास्केटबल संघले प्रतियोगितामार्फत खेलाडी उत्पादन, खेल विकास तथा धरानलाई प्रदेशस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ।

संघले अघिल्ला वर्षहरूमा काठमाडौंमा आयोजना हुने विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगितामा धरानका खेलाडीहरूलाई सहभागी गराउँदै आएको छ। यसै क्रममा १३औं दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडी र प्राविधिकहरूले कास्य र रजत पदक जितेका थिए।

प्रतियोगिताका विजेता टोलीलाई नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी (एभिपी) लाई १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।