धरान / धरान–५ स्थित पञ्चकन्या स्वास्थ्य चौकीको भवन स्तरोन्नतीको कार्य प्रगति भइरहेको विषयमा प्रदेशसभा सदस्य एसोदा कायस्थ, वडा अध्यक्ष मनकुमार लिम्बुलगायत टोलीले अनुगमन गर्नुभएको छ। धरान उपमहानगरपालिका वडा नं ५ मा अवस्थित सो स्वास्थ्य केन्द्रमा अनुगमनका क्रममा सांसद कायस्थाले गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न सुझाव दिनुभएको छ ।
उहाँले स्वास्थ्य केन्द्रको घेराबार तथा ल्याब निर्माणका लागि प्रदेश योजना बैंकमा ४५ लाख रुपैयाँको प्रस्तावसमेत पेश गरिएको जानकारी दिनुभयो। ग्रामीण क्षेत्रका नागरिकले आफ्नै आँगनबाट सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सबै सरोकारवालाको सहकार्यमा सो वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभयो।
विशेषगरी स्थानीय महिलाहरूका लागि पाठेघर तथा व्रेष्ट क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्न वडासँग समन्वय गरी कार्यक्रम ल्याइएमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
अनुगमनकै क्रममा पञ्चकन्या स्वास्थ्य केन्द्रका प्रमुख सिपी खनालले सांसद पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद कायस्थद्वारा विनियोजित १५ लाख रुपैयाँ बजेटमा भवनको माथिल्लो तला निर्माण कार्य सुरु गरिएको जानकारी गराउनुभयो। उहाँका अनुसार स्वास्थ्य केन्द्रको जग्गा स्थानीय विष्णु सुनुवारले दान गर्नुभएको भए पनि भौतिक पूर्वाधारको अभावका कारण नियमित सेवा प्रवाहमा अवरोध आइरहेको थियो।
अब भने भवनको माथिल्लो तला थपेर क्षयरोगको डट सेवा, ड्रेसिङ उपचार, गर्भवती महिलाका लागि छुट्टै जाँच, ओपीडी सेवा सञ्चालन गर्न सकिने वातावरण तयार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
खनालले थपे, ‘‘हामीलाई अहिले भिडियो एक्स(रे सेवा तथा खोप भण्डारणका लागि एनआरएल डिफ्रिज अत्यावश्यक छ। प्रदेश सरकारसँग समन्वय गरेर ती आवश्यक सामग्री उपलब्ध गराइदिन सांसदज्यू र वडाध्यक्षज्यूसँग आग्रह गरेका छौं।’’
स्वास्थ्य चौकीमा एक अहेव, दुई जना स्टाफ नर्स र एक कार्यालय सहायक कार्यरत रहेको जानकारी दिँदै उनले मानव स्रोत व्यवस्थापनमा पनि थप सहयोगको अपेक्षा गरिएको बताए।
यसबीच, वडा अध्यक्ष मनकुमार लिम्बुले बालबालिका र स्वास्थ्य शिक्षामा विशेष प्राथमिकता दिँदै वडास्तरीय योजना निर्माण गरेर कार्यान्वयन भइरहेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य सेवा विस्तारका लागि वडास्तरबाट आवश्यक समन्वय गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
चौकी भवनको निर्माण कार्य धरान उपमहानगरपालिकामार्फत बोलपत्र आह्वान गरी इटहरीको एस बिल्डिङ प्रालिलाई दिइएको हो। निर्माण कम्पनीले यो आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइरहेको जनाएको छ।
अनुगमन कार्यक्रममा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादव, वडा सदस्यहरू र अन्य सरोकारवालाको पनि उपस्थिति रहेको थियो।