धरान / धरानको समसामयिक अवस्थाप्रति चिन्तित सामाजिक क्षेत्रमा सक्रिय एउटा समुहले छलफल थालनी गरेका छन् ।
धरानमा आयोजित पहिलो भेला परिवर्तनशील समाजको अगुवाइ र वीरेन्द्रसिंह थापाको सहजीकरणमा सम्पन्न भएको हो। भेलामा सहभागीहरुले दलगत राजनीतिभन्दा पृथक ढंगले समग्र धरानबासीको हितलाई केन्द्रमा राखी कार्य अघि बढाउनु पर्ने साझा दृष्टिकोण प्रस्तुत गरेको भेलामा सहभागी समाजसेवी हरीबहादुर कार्कीले जानकारी दिनु भयो ।
'धरान हाम्रो साझा घर हो, यसलाई सबैको प्रिय र समृद्ध बनाउने जिम्मेवारी हामी धरानेकै हो ।' भन्ने धारणा भेलामा प्रमुखरूपमा व्यक्त गरिएको उहाँले बताउनु भयो ।
भेलामा भएका छलफल र सहमतिअनुसार आगामी दिनमा समय मिलाएर निरन्तर छलफल र योजना निर्माणलाई अघि बढाउने समझदारी गरिएको बताइएको छ ।
भेला कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द सुब्बा, धरान उपमहानगरपालिकका पूर्व मेयर बम देवान, डा. खालिद हुसेन, बंशी मोक्तानलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














