धरान / मनमोहन अधिकारीको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुन्छ । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा मनमोहन अधिकारी समकालीन राजनीतिको एउटा ‘रोल मोडल’का रुपमा स्थापित हुनुहुन्छ ।
तीनै सरल नेताको आज स्मृति गर्ने दिन अर्थात उहाँ स्वर्गारोहण भएको दिनको सम्झना गर्ने दिन । २०५६ वैशाख १३ गते उहाँको मृत्यु भए पछि हरेक बर्ष नेकपा एमालेले उहाँलाई सम्झने गर्दछ । शनिवार नेकपा एमाले धरान उपमहानगर वडा नं. १५ ले पनि उहाँलाई सम्झेको छ । धरान १५ स्थित श्यामचोकमा एक कार्यक्रमको आयोजना गरेर उहाँको सालिकमा माल्याणपन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहाकार समिति सदस्य तथा कोशी प्रदेश सभाका संस्थापक सभामुख प्रदिप भण्डारीले मनमोहन अधिकारीको धरानसँगको सामिप्यताबारे सम्झाउनु भयो । भूमीगत कालमा उहाँ धरानलाई सेल्टर बनाएर राजनीतिक गतिविधी गरेका कुराहरु स्मरण गराउनुु भयो ।
२०५१ सालमा नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा नौ महिना नेकपा (एमाले) को सरकारको नेतृत्व गर्दा मनमोहन अधिकारीले आर्जन गरेको प्रतिष्ठा आज पनि गौरवको विषय भएको उल्लेख गर्नु भयो । जनमुखी र लोकप्रिय सरकार कस्तो हुन्छ भनेर आज पनि कसैलाई सोधियो भने सहजै उत्तर आउँछ– मनमोहन अधिकारीको जस्तो । 'लचकता र इमानको समन्वय, सामूहिक नेतृत्वमा विश्वास, आफूभन्दा पछिका नेताहरुमाथिको भरोसा र कुनै गलत काम गर्दिनँ भन्ने अठोटले मनमोहन अधिकारीलाई विश्वमा चिन्छन् ।'- उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ एभङले मनमोहन मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री र सिंगो नेपाली समाजको सम्मानित नेता भएको बताउनु भयो । उहाँले २०४९ सालको आम निर्वाचनमा धरान क्षेत्रबाट लोकप्रिय मत ल्याए विजयी हुनुभएको समेत अध्यक्ष एभेङले स्मरण गराउनु भयो ।
अधिकारी नेपाल कम्युनिस्ट पार्टी भन्दा पनि जेठो कम्युनिस्ट हुनुहुन्थ्यो । किनकि, उहाँले भारतमा रहँदा नै त्यहीँको कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरिसक्नुभएको थियो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा संलग्न हुन नपाए पनि उहाँ २०१० सालमा आयोजित नेकपाको प्रथम राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।
नौ महिना नेकपा (एमाले) को सरकारको नेतृत्व गर्दा मनमोहन अधिकारीले देखाएको इमान, नेतृत्व र निष्ठा सबैका लागि अनुकरणीय छ । त्यही सरकारले अघि सारेका लोकप्रिय कार्यक्रमहरुले कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने उदाहरणीय प्रस्तुती उहाँले देखाउनु भएको थियो । जनताले तिरेको करबाट कसरी जनता कै घरदैलोमा विकासको लहर सिर्जना गर्न सकिन्छ भन्ने दृष्टान्त पनि उहाँले नै स्थापित गर्नु भएको थियो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नौ स’को अभियान, जेष्ठ नागरिकका लागि बृद्ध भत्ता जस्ता आजसम्म कसैले चुनौती दिन नसकेको कार्यक्रमहरुले नेकपा (एमाले) लाई अझ मजबुत र लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मनमोहनबारे गहन अध्ययन गरेका स्थानीय नेता शिव धमला बताउनु हुन्छ ।
नेकपा एमाले १५ नं. वडा कमिटी अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश, जिल्ला, नगर तथा वडासम्मका नेता एंव कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । स्व. मनमोहन अधिकारीको सालिमका फूलमाला र अभिर पैराएर उहाँको स्मरण गरेका थिए । सचिव आनन्द राईले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे ।