धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले यातायात मजदुरहरुसंग सडक सम्बाद गरेको छ । मंगलबार र बुधबार भानुचोक बसपार्कमा मजदुरहरुलाई भेटेर सम्बाद सँगसंँ ८१ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यता वितरण गरिएको छ ।
मजदुरहरुले सडकमा सामना गर्नुपर्ने समस्याहरु, व्यवसायजन्य स्वास्थ्य, पेशागत संकटहरुका बारेमा सम्बाद गरिएको हो । सम्बादमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरानका पूर्व अध्यक्ष कमल भट्टराई, धरान नगर अध्यक्ष किरण थापा लगायतका नेताहरु संलग्न रहेका थिए ।
मजदुरहरुले आफ्ना नेतृत्वसंग सडकमा हुने प्रशासनिक झमेला, सडक दुर्घटना पछि भौतिक असुरक्षा, कानुनी त्रुटिका कारण मजदुरहरुले भोग्नु पर्ने हैरानी लगायतका समस्याहरु राखेका थिए । त्यस्तै क्रमशः पेशा धरापमा पर्दै गइरहेको, काम गरेर जीवन चलाउन हम्मे भएको, श्रम कानुन अनुसारको सेवा सुविधाहरु नपाएको विषयमा मजदुरहरुले गुनासो गरेका थिए ।
मजदुरहरुसंगको छलफलमा मजदुर नेता तथा संगठनका अध्यक्ष भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात क्षेत्रमा स्थायी संरचना नबनेका कारण लामो इतिहास बोकेको यातायात क्षेत्र र यातायात मजदुरहरु संकटमा परेको बताउनुभयो ।
राईले भन्नुभयो लगानीकर्ताहरुको लगानीको संरक्षण, मजदुरहरुको व।जीवनको समृद्धिका लागि सामाजिक सुरक्षा ऐनको कार्यान्वयन र यात्रुहरुको सेवा पाउने अधिकारको ग्यारेन्टी सहितको कानुनी व्यवस्था नहुँदासम्म नेपालको यातायात क्षेत्रमा सुधार र मजदुरहरुको कामको सुनिश्चितता नहुने बताउनुभयो ।
संरचना परिवर्तन र कानुन संशोधनका लागि देशभरीका मजदुरहरु संगठनमा आवद्ध हुनुपर्ने राईले बताउनुभयो । सोही अवसरमा ८१ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यता वितरण गरिएको छ ।