सिरहा / गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।
गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।
त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।
अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।