धरान  / धरानमा प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा साेमबारदेखि सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगिता धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन भइरहेको छ । 

पहिलो खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी हुँदै आ–आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएका छन् ।  पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबे्ररी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अङ्कसहित समूह बीको शीर्ष स्थानमा रहेको छ । गाईघाटको जितको लागि प्रवीन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ दी म्याच प्रवीन राई घोषित हुनु भयाे ।

  दोस्रो खेलमा धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ताप्लेजुङको प्रगतिशील युवा क्लब तीन अङ्कसहित समूह डीको शिर्ष स्थानमा रहेको छ । प्रगतिशीलको जितका लागि सविन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सविन राईले एक गोल फर्काएका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच प्रगतिशील युवा क्लबका सविन तामाङ घोषित हुनुभए । 

प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तर प्रादेशिक लिगका लागि योग्य हुने उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुनेले रु  एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री षडानन्द मण्डलले धरानमा खेल पर्यटनको अपार सम्भावना रहेको भन्दै त्यसैअनुसार प्रदेश सरकारले योजना बनाएर खेलकुदको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।