हेटौंडा । ३० जना यात्रुको ज्यान जोगाएर मृत्युवरण गरेका चालक मेघनाथ विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्ने लगायत १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय प्रतिनिधि परिषद् हेटौंडामा सम्पन्न भएकोछ । 

नारायण मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा असार २८ गते रुपन्देहीको छपियाबाट यात्रु लिएर काठमाण्डैं जाँदै गर्दा लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सका चालक मेघनाथ विकलाई पहिरोबाट आएको ढुङ्ग लागेपछि घाइते अवस्थामै चालक विकले ३० जना यात्रु सहितको बसलाई ५० मिटर दुरीको सुरक्षित स्थानमा रोकेर यात्रुहरुको ज्यान जोगाएका थिए । 

तर घाइते चालक विकलाई भरतपुर अस्पताल लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चालक विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान सहित परिवारलाई राहतको व्यवस्था गर्न परिषद्ले सरकारसंग गरेकोछ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार र आइतबार सम्पन्न परिषद्ले  असार २८ गते बिहान साढे ३ बजे चितवनको सिमलताल पहिरोमा परि त्रिशूली नदीमा खसेर ज्यान गुमाउनु भएका गणपति डिलक्सका चालक राजकिशोर चौधरी, कण्डक्टर, ऋषि सिंह, सहचालक लक्ष्मण यादव, एन्जल डिलक्सका चालक, जाहिद महतो, कण्डक्टर, राजेन्द्र लामिछाने केसी, सहचालक प्रेम चौधरी सहित यात्रुहरुका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न परिषद् बैठकले सरकारसंग माग गरेकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका देशभरीका छानिसएका १ सय ४५ जना प्रतिनिधिहरु सहभागी रहेको परिषद्ले सडक दुर्घटनामा ज्यान गुमाएका, अंगभङ्ग भएका, आजिवन अपाङ्गता भएका र आश्रित परिवारलाई राहत तथा पुनस्र्थापनाका लागि “सडक दुर्घटना विपद् व्यवस्थापन कोष” स्थापनाका लागि सरकारसंग माग गरहेकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले फेरिएको सार्वजनिक सवारी यातायात र सुधारका लागि हाम्रो कार्यभार विषयक कार्यपत्र प्रस्तुत गरेको परिषद्मा ट्राफिक व्यवस्थापनको नाममा यातायात श्रमिकहरुलाई सडकमा अनावश्यक हैरानी दिने गरेको, आर्थिक संकलनको उदेश्यले सडकमा सवारी चेकजाँच गरि जरिवाना काट्ने, श्रमिकहरुलाई दुःख दिने काम गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसंग माग गरिएको छ । 

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न छुट्टै यातायात मन्त्रालयको स्थापना गरि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरेर लगानीको संरक्षण, श्रमिकहरुलाई सामाजिक सुरक्षा सहितको जीवनको सुनिश्चितता र यात्रुहरुको सुरक्षित, भरपर्दो र गुणस्तरिय सेवाको ग्यारेन्टी गर्नर सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई सरोकारवालाहरुको सुझावलाई समेटेर तत्काल संशोधन गर्न सरकारसंग माग गरिएकोछ । 

देशभरीका प्रतिनिधिहरुलाई ६ वटा समुहमा विभावन गरी वृहत छलफल गरिएको परिषद्को बन्दसत्रमा सडक दुर्घटना महामारी झैं फैलिरहेको भन्दै प्रत्येक दिन ७ देखि ८ जना व्यक्तिको ज्यान  गइरहेको र ४० जना घाइते हुने गरेको भन्दै सडक दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा परिषद् गठन गरि सडक दुर्घटना अघि शिक्षा, दुर्घटना हुँदा उद्धार र राहत र सडक दुर्घटनापछि घाइते, आपाङ्ग्गता भएका र पीडितलाई पुनस्र्थापनाको प्याकेज बनाउन सरकारलाई सुझाएकोछ । 

त्यस्तै सम्पूर्ण यातायात श्रमिकहरुले सामाजिक सुरक्षामा अनिवार्य दर्ता हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकोछ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको परिषद्ले भारतीय ट्रकहरुले निर्वाधरुपमा नेपालका विभिन्न सहरहमा मालसामान ढुवानी गर्दा नेपाली श्रमिक, स्वरोजगार तथा व्यवसायीहरु मर्कामा परेको र नेपाली व्यवसायीहरुले भारतीय व्यवसायीहरुसंग प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभएकाले सरकारी नीतिहरुलाई परिमार्जन गर्दै नेपाली भूमिमा भारती ट्रकहरुलाई निर्वाध प्रवेशमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएकोछ । 

त्यस्तै चिनसंग नाका जोडिकएका रसुवागढीको टिमुरेबाट चिनको केरुङसम्म जानका लागि पासको व्यवस्था रसुवा जिल्लाका नागरिकका लागि मात्रै गर्दा वार्षौदेखि ट्रक कन्टेनरका श्रमिक तथा स्वरोजगारहरु समस्यामा परेकाले सबै श्रमिकहरुलाई सिमापार आवतजात गर्ने व्यवस्था गर्न सरकारसंग परिषद्ले माग गरेकोछ । 

त्यसैगरी इन्धन ढुवानीमा काम गर्ने टेंकर चालक तथा सहचालकहरु भारतका विभिन्न डिपोहरुमा जाने क्रममा लुटिने, कुटिने र असुरक्षित हुनुपर्ने समस्या वर्षौदेखि भोग्दै आइरहनु परेको स्मरण गराउदँदै विदेशी भूमिमा श्रमिकहरुको सुरक्षाको प्रत्याभूतिका लागि सरकारको ध्यानाकर्षण गराएकोछ ।

परिषद् उद्घाटन समारोहमा जिफन्टका उपाध्याक्ष विदुर कार्की, महासचिव लक्ष्मण शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नारायणी यातायात व्यवसायी कम्पनीका अध्यक्ष गोकर्ण पराजुली, सञ्चालक खेम काफ्ले, लगायतका नेताहरुको सहभागीता रहेको थियो ।