जनकपुरः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
संघीय समाजवादी फोरम र राजपाले ५–५ जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रीमण्डल विस्तार हुन लागेको हो। दुवै पार्टीले २–२ मन्त्री र ३–३ राज्यमन्त्रीको नाम टुंगो लगाएका छन्।
फोरमबाट शैलेन्द्र साह, ज्ञानेन्द्र यादव, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले शपथ लिने जनाईएको छ ।
यसैगरी, राजपावाट पनि मन्त्रीहरुले आजै सपथ लिनेछन् । तर, मन्त्री हुनेहरुको नाम सार्वजनिक गरिएको छैन। राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन्। त्यस्तै, परमेश्वर साह, सुरिता साह लगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन्।
राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र राजपाले सभामुखसहित ३ मन्त्रालयको बाँडफाँट गरेका छन्।
फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसकेका छन्।