विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा धानको उत्पादन बढाएर परनिर्भरता घटाइ निर्यात गर्ने वातावरण सृजना गर्ने बताउनु भएको छ । 

धान दिवसको अवसरमा शनिबार मोरङको जहदामा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार धानको उत्पादन बढाएर निर्यात गर्नेगरि योजनाबद्ध काममा लागिपरेको बताउनु भयो । 

नेपाल ४० वर्ष अघिसम्म धान निर्यात गर्नसक्ने राष्ट्रको रुपमा रहेको स्मरण गर्दै उहाँले सरकारले कृषि क्षेत्रलाई प्राथामिकता दिएर काम गरेको बताउनुभयो । सरकारले ल्याएको नीति र बजेट पनि कृषि क्षेत्रलाई प्राथामिकता दिएको भन्दै उहाँले २१ वर्ष अघिदेखि धानको उत्पादन बढाउने उद्देश्य र यसको विकास गर्ने हेतुले सुरू गरिएको धान दिवसले अझै मुर्तरूप लिन नसकेको कार्कीले बताउनुभयो । उहाँले अव्यवस्थित, बसोबास, बढ्दो सहरीकरण र जग्गाको खण्डीकरण तथा दुरुपयोगले धान उत्पादन घटिरहेको बताउनुभयो ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयले संयोजन गरेको कार्यक्रममा कोशी प्रदेशमा हालसम्म १३.७१ प्रतिशत धान रोपाई भएको जानकारी कृषि विकास निर्देशानलयका प्रमुख प्रकाश डाँगीले दिनुभयो । 

शनिबार धान दिवसकै अवसरमा मोरङको रंगेलीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले धान खेती प्रवद्र्धनको लागि सरकार लागिपरेको बताउनुभयो । नेकपा एमाले रंगेली नगर कमिटिले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले कृषिमा विद्युत सहुलियत प्रदान गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार विऊ उत्पादनमा आत्मनिर्भर र खाद्यान्नमा आत्मनिर्भर हुने योजनासाथ अगाडि बढेको छ ।’

कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडियाले रंगेलीका समस्याबारेमा बोल्नुुभएको थियो । उहाँले कृषि उत्पादनसँग जोडिएका सडक निर्माण र किसानलाई खेती गर्नका लागि सिचाई गर्न विद्युत उपलब्ध गराउनुपर्ने लगायतका समस्या राख्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायतको सहभागिता रहेको थियो ।