धरान  / आइडियल स्कुलबाट एसईई दिएर बस्नु भएकी धरान १४ की सिम्रण राई फुर्सदको समय कसरी सदुपयोग गर्ने होला भनेर चिन्तामा हुनु हुन्थ्यो । खाली समयको सदुपयोग गर्नका लागि कर्हीँ कतै केही सीप आर्जन गर्न सकियोस भन्ने लागेको थियो । नभन्दैं धरान वास्केटवल संघ सुनसरीले आयोजना गरेको बास्केटवल प्रशिक्षण हुदैं गरेको थाहा पाउनु भयो । ट्रनिङमा सहभागि हुने अवसर  पाएपछि उहाँ यति बेला विहानको समय बास्केटवल खेल सिक्न व्यस्त हुनु हुन्छ । समयको सदुपयोग अनि शारिरीक व्यायाम दुवै हुने भएपछि उहाँको खाली समय सदुपयोग भएको बताउनु हुन्छ । 

संघले बास्केटवल ट्यालेन्ट हण्ट ट्रनिङ धरान–१६ स्थित कवर्ड हलमा संचालन गरेपछि उहाँ जस्तै धरान पर्वत बोर्डिङ स्कुलबाट एसईइ दिनु भएका अनमोल राई पनि आज भोली विहान झिमिसेमा आँखा मिच्दैं  कर्वड हल पुग्नु हुन्छ । सिम्रन कै साथी खुशी राई पनि बास्केटवल प्रशिक्षणमा विहानै कर्वड हलमा भेटिन्छिन । उनीहरु जस्ता अरु पनि एसइई दिएका र विद्यालय जादैं गरेका बालबालिका वास्केटवल प्रशिक्षणमा सहभागि छन् । सवै वालवालिका ट्रनिङको सयम तालिका अनुसार आउँछन् र विहान ८ वजे फर्किने गरेका छन् । ६५ जना भन्दा वढी वालवालिका धरान उपमहानगरपालिकाको सहयोग र धरान वास्केटवल संघको आयोजनामा संचालन भइरहेको तीन हप्ते वास्केटवल प्रशिक्षणमा सहभागी छन् । 


सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठलगायतले नियमित प्रशिक्षण दिदै आउनु भएको छ । संघले विगत १३ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा. आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, तविन मगर, तनु राई, सीतल तामाङ, जियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, रवि वास्फोरलगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ । 

कोशी प्रदेशमा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघ सक्रिय छ । त्यसको नेतृत्व प्रशिक्षक विकास राईले गरिरहनु भएको छ । 

वास्केटवलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जेठ १० गतेसम्म ट्रेनिङ संचालन हुने वताउनु भयो । ‘विशेष गरि एसईई दिएर वसेका विद्यार्थीलाई लक्षित गरेर वास्केटवल प्रशिक्षणको आयोजना गरिएको हो, तर हामीले धरानका विभिन्न स्कुलका विद्यार्थीलाई पनि अवसर दिइरहेका छौ ।’, उहाँले भन्नु भयो, ‘तालिम प्रभावकारी रुपमा संचालन भइरहेको छ ।’ हरेक वर्ष गरिने वास्केटबल तालिमले वास्केटवल प्रति विद्यार्थीहरुको रुचीलाई वढाउँदै गए पनि वास्केटवल प्रति सरोकारवाला निकाय र सरकारले वेवास्ता गरेको प्रशिक्षक राईको गुनासो छ । धरानमा केवल फुटवल मात्रै होइन, वर्षेनी लाखौ रकम फुटवलको लागि भनेर खर्च हुने गरेको छ तर अन्य खेल विधालाई पनि लगानी वढाउनु पर्छ अनि मात्रै धरानको समग्र  खेलकुदको विकास हुने राईको भनाई छ । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्ति र स्कुलमा उत्कृष्ट प्रशिक्षार्थीलाई कोचको  लागि सिफारिस गरिदैं आएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रनिङमा सहभागि  हुने उत्कृष्ट हुने प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको हो । विद्यालयहरसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आएको छ । 


हालसम्म ९ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा ३ सय खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालयहरुमा एक सय जना भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइरहेका छन् । 

संघका अनुसार धरानको मेघा हिमालयन कलेज, धरान उच्च मावि, डिपोट कलेज, एम्से कलेजलगायतमा खेलाडीहरुले २५ प्रतिशतदेखि सय प्रतिशत नै छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको अवसरमा पाउदैं आएको प्रशिक्षक राईले बताउनु भयो । 

धरानको बास्केटवलको इतिहास 

२०११ सालमा धरानमा रहेको व्रिटिस कयाम्प(हाल पोखरा सरेको छ)बाट नेपालमा बास्केटवल भित्रिएको नेपाल बास्केटवल संघका तत्कालिन केन्द्रीय अध्यक्ष स्व.टेन्डीलामा शर्पाले एउटा कार्यक्रममा बोल्नु भएको थियो । धरानबाट राजधानी भित्रीएकाहरुले काठमाण्डौमा बास्केटवल खेल भित्राएको उहाँको दावी थियो । 

बास्केटवल शुरुवात हुने स्थान धरानलाई केन्द्रले भने अहिलेसम्म चिनेको छैन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हँुदा धरानले थाहा पाउदैन् । धरानले मात्र होइन पूर्वमा कुनै खेलाडीले राजधानीको प्रतियोगिताहरुमा सूचना नपुग्ने गरेको प्रशिक्षक विकास चाम्लिङ राई बताउँनु हुन्छ ।  

२०६६ सालमा करारमा बास्केटल प्रशिक्षक नियुत्ति भएदेखि उहाँले धरान तथा पूर्वका ठूला शहरहरुमा बास्केटवल प्रशिक्षण दिदै आउँनु भएको छ ।  ‘यो अवधीमा ४÷५ सयले बास्केटल प्रशिक्षण लिए तर राष्ट्रिय खेलमा अवसर भने एकादुईले त्यो पनि मुस्किलले पाएकाछन् ।’–प्रशिक्षक राईले भन्नु भयो । राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा ५ जना प्रशिक्षकहरु राखेको छ । ४ जना काठमाण्डौमै छन् । प्रशिक्षक एउटा पूर्वलाई दिएको छ तर सार्वजनिक स्थलमा बास्केटल कोट छैन् । सरकारी स्तरमा कोट बनाउन कुनै पहल नभए पछि धरानमा स्थानीय सरकारले बनाएको कवर्ड हललाई बास्केटवल कोर्टका रुपमा प्रयोग गरिदैं आएको छ । डिपोट उच्च मावि धरान–१८ मा जिल्ला बास्केटल संघ र प्रशिक्षक राईको सकृयतामा अन्तर्राष्ट्रिय मापदण्डको कोट निर्माण गरिएको छ । ७ औ साफ गेमसमेत यही कोटमा भएको थियो ।  

काठमाण्डौले मोफसललाई विर्सिए पनि धरानमा नियमित प्रशिक्षण तथा प्रतियोगिताहरु भने हुदै आएको छ । १६ बर्षदेखि राईले नियमित प्रशिक्षण गराउदै आउनु भएको छ ।