धरान / दुवै मृगौला फेल हुनु भएका  गंगाराम राईलाई एनप्याव्सन धरान नगर समितिले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।

विरामीको उपचारमा सहयोग होस् भनेर सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले जानकारी दिनु भयो । एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने बताउनु भयो । 

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश काेषाध्यक्ष प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भएपनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको वताउदै आत्मवल दरो वनाउन सुझाव दिनु भयो । त्यसैगरी एनप्याब्सन सुनसरीका सहसचिव पूर्णचन्द्र  ढकालले आत्ममनोवल वलियो वनाउन सुझाव दिदै पूर्ण स्वास्थ्य लाभको कामना गर्नु  भयो । 

धरानमा रहेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदैं आउनु भएका राई दुवै मृगौला फेल भएर त्रिभुवन शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचार गराई रहनुभएको छ । उहाँ धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलमा कार्यरत रहनुभएको छ । राई मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहनुभएको छ । उहाँलाई श्रीमतिले मृगौला दिनको लागि सवै कागजी प्रकृया पुरा भएको बताइएको छ ।