- मञ्जुला तामङ सुब्बा
उनले आफ्नै ठाउँलाई असाध्यै माया गरिरहे, एकलासको सुनसान, चिसो र अनकण्टार स्थानमा आफ्नो अनि देशको उज्यालो खोजिरहे । एक्लो बने, अर्द्धपागल बने¬, मानिसहरूको उत्सुकतामा मौन रहे, शङ्काको घेरोभित्र सङ्घर्षरत रहिरहे अनि निरन्तर प्रयास, धैर्य र मेहनतको बलमा एक सफल, उदाहरणीय र प्रेरक उद्यमी बनिछोड़े। उनी हुन् नेपालको पूर्वी पर्यटकीय क्षेत्र भेडेटारवासी विष्णुराज श्रेष्ठ, संस्थापक होटल एसोसिएशन भेडेटार।
‘‘यही भेडेटारमा केही निश्चय नै छ र म यहाँको निम्ति केही गर्छु’’ भनी अठोट मनमा साँची विसं २०५०(सन् १९९३) देखि पाइला टेके। १२३० मिटर उच्च भागमा भएको चिसो स्थान, प्रायः जलवायु २३ डिग्रीसम्म झर्ने, त्यस समय त्यहाँ भनेजस्तो मानिसहरूको बसोवास थिएन। नेपालस्थित धनकुटाको तल्लो कोप्चेमा जन्मेका युवक विष्णु श्रेष्ठ राजधानी काठमाडौंको दरवार मार्गस्थित पाँचतारे डीएल अन्नपूर्णबाट होटल व्यवसायको दुईवर्षे अनुभव लिएर भेडेटार पसे, त्यसो त उनलाई विदेश जान नजुरेको होइन। धेरै आफन्तहरूबाट उनलाई विदेशमा राम्रो ‘अफर’ मिलेको पनि हो तर केही स्वदेशकै मायाले उनलाई विदेशको डलरले तान्न सकेन। स्वावलम्बी विष्णुले काठमाडौंको न्यू रोडमा केही समयको लागि ‘फास्ट फूड’ रेष्टुरेन्ट चलाएको अनुभव पनि बताउँछन्।
वर्तमान भेडेटार पूर्व नेपालकै एक खूबै आकर्षक पर्यटनस्थल हो, नेपालका ७६ जिल्लामध्ये ‘तेस्रो’ पर्यटन क्षेत्र भेडेटार ६ मा साँगुढीगढी गाउँ पालिका अन्तर्गत पर्दछ। विष्णुराज श्रेष्ठको दशवर्षे सङ्घर्षमय एकल यात्राले जन्माएको रूप हो आजको भेडेटार। भेडेटार क्षेत्रअन्तर्गत प्रत्येक पर्यटन क्षेत्रका उनी संस्थापक हुन् । कुनै समय उनी यस ठाउँको मोहमा पागल बने, उनी एक्लो कदापि थिएनन्, तरैपनि परिवारको भरण पोषणलाई समेत दाउमा राखेर केवल आत्मविश्वासको भरमा लागिपरे।
उनले होटल ‘अरुण भ्याल्ली’ नाममा एउटा होटल व्यवसाय प्रारम्भ गरे जसको नामकरण उनका बुबाद्वारा गरिएको बताउँछन्, जसको अर्थ हो अरुण उदय अर्थात् सूर्योदय। यो कोशी प्रदेशको बृहत्तर जल परियोजनाको नाममा रहेको छ। आफ्नो प्रथम व्यावसायिक होटलकै नाम आफ्नै ठाउँबाट प्रेरित बनी कोशी हाइड्रो प्रोजेक्टको नाममा राख्न पाउनु ठूलो आशीर्वाद सम्झन्छन् उनी। होटल ‘अरुण भ्याल्ली’(को प्रारम्भिक काल ढुङ्गाको भात चपाउनु बराबर थियो। मानिसहरूले उनको खिल्ली उढाउँथे । उजाड़, उराठिलो, बाक्लो कुहिरो, सिमसिमे पानी परिरहने स्थानमा कुन उद्देश्य लिएर विष्णुराजले लगानी गरिरहेका छन् ? यस्ता धेरै शङ्कालु द़ृष्टिहरूको माझबाट दूरदर्शी विष्णुराज अडिग थिए। केही त सङ्केत अवश्य अनुभव गरिरहेका थिए, तब त उनी एकल यात्रामा लागिपरिरहे। त्यस समयका रोड विमान इन्जीनियर योगेन्द्रकुमार राईको घरमा सपरिवार किरायामा बसेर ‘अरुण भ्याल्ली’ होटल सञ्चालन गरेका थिए।
आफूले सोचेको जस्तो झट्ट सफलताको शिखर चुम्न कहाँ सहज थियो र । बुबा गजराज श्रेष्ठ अनि मुमा रत्नकुमारी श्रेष्ठको कोखबाट जन्म ग्रहण गरेका आठ सन्तानहरूमध्ये विष्णुराज काइँलो छोरो हुन्। उनको लगाव साथै आफ्नै भेनाज्यूको प्रेरणास्वरूप विदेशबाट होटल व्यवसायको विशेष प्रशिक्षण प्राप्त गरेका हुनाले त्यस समय भेडेटारमा खुबै व्यवस्थित ढङ्गमा सञ्चालन हुने होटल ‘अरुण भेल्ली’ नै थियो, तथापि ग्राहकवर्ग भने कहिलेकाहीँ सोचे जस्तो नहुने, राम्रा नराम्रा सबै स्वभावका ग्राहकसँग आफू हाँसेर व्यावहारिक हुनुपर्ने तिता अनुभवहरू सुनाउँछन्। भनेजस्तो कारोबारले जरा गाड़्न कठिन परिस्थितिको सामना गर्नुपर्दा र आफूलाई मानसिक, शारीरिक, आर्थिक कमीकमजोरीहरूले घेरा हाल्दा पनि उनले हरेश खाएनन्, धैर्य धारण गरिरहे। उनकी सहधर्मिणी श्रीमती शान्ति मादेन श्रेष्ठ अडिग बनी हरेक पाइला पाइलामा उनको साथमा रहेर कदममा कदम चालिरहिन्।
समय आफ्नै गतिमा अघि बढढिरह्यो, इतिहासका पानाहरूमा नयाँ अध्यायहरू थपिँदै गए, गतिशील प्राणी जगतमा परिवर्तनका रूपरेखा देखा पर्न थाले। भनिन्छ नि, कठोर तपस्या गरे ईश्वरले पनि फल प्राप्तिको वरदान दिनुहुन्छ अरे, सोही कथन सिद्ध बन्यो विष्णुराजको सङ्घर्षमय जीवनमा पनि।
धरानदेखि १६ किलोमिटर माथि पहाडी क्षेत्रमा अवस्थित वर्तमान भेडेटार सुन्दर प्राकृतिक वरदानहरूको थुम्का बनेको छ। मानिसमा कुनै सुन्दर प्रयोजन छ भने ‘हठी’ पनि हुनुपर्दो रहेछ। हो, भेड़ेटारका प्रायोजक हुन् विष्णुराज श्रेष्ठ।
हामी सपरिवार धरानको यात्रामा जाँदा उखरमाउलो गर्मीदेखि केही राहत पाउन (धराने भाषामा भन्नु हो भने ‘चिसो खान’) भेडेटार जाने गर्छौं। सन् १९९४ देखि आजसम्मको भेडेटारको स्वरूपको एक प्रत्यक्षदर्शी म पनि हुँ। त्यहीँ विष्णुराज श्रेष्ठ एक सफल व्यवसायीका रूपमा प्रतिष्ठित छन्।
एउटा साक्षात्कारमा उनी भन्छन् ‘‘यस स्थानप्रतिको मेरो मोह देखेर अरूले मलाई ‘पागल’ समेत भने। आफन्तहरू विदेश गएर राम्रो आम्दानी गर्ने सुझाउहरू राख्थे तर म भने यहीं स्वावलम्बी बन्न चाहन्थें जुन चाहना आज सार्थक बन्न सक्यो।’’ उनी खूबै गर्व गर्दै भन्छन, ‘‘आफ्नै गाउँ आफ्नै ठाउँ, रमाइलो र आकर्षणीय भेडेटार हो यसको नाउँ। मैले आफ्नो र परिवारको मात्र सुख, भोग विलासको स्वार्थमा कहिल्यै सोचिनँ, म त यहीं विरानो ठाउँको गर्भमा रहेको पर्यटनका स्रोतहरूको खोजीमा रहन्थें।’’
होटल ‘अरुण भ्याल्ली’ सञ्चालनको क्रममा देशका विभिन्न ओहोदामा रहेका प्रतिष्ठित व्यक्तित्वहरू पर्यटक बनेर आए, मिष्टभाषी, सरल व्यक्तित्व व्यवसायी विष्णुराजको सम्पर्कमा आए, उनीसितको सम्पर्कमा आप्लुप्त बने, अनि विभिन्न क्षेत्रबाट, निकायहरूबाट पर्यटनका बिरुवाहरू मौलाउन थाले। गाउँघर, क्षेत्र विकसित हुन थाले। रोजगारको ठूलो फाँट छ हिजोआज।
श्रद्धेय इतिहासकार इमानसिंह चेम्जोङको भव्य सालिक मुख्य बजार (मूलचोक)को मध्यमा अवस्थित छ जसद्वारा यो पर्यटन स्थल भेडेटार स्रष्टाहरूप्रति श्रद्धा चेतनाको प्रतीक पनि हो भन्ने बुझिन्छ। यस्ता सचेत नागरिकहरूको बसोवास र पहलले स्थानहरू विकासको शिखरमा पुग्ने गर्दछन्। धार्मिक स्थलहरूमध्ये ताप्लेजुङ पाथीभरा मन्दिरको दर्शन गर्न माउन्टेन फ्लाई (हेलीकप्टर) सुविधा हेतु हेली प्याड निर्माण गरिएको पाउँछौं। यहाँ सुप्रसिद्ध सानो पाथीभरा मन्दिर पनि अवस्थित छ। भेडटार पाथीभरा लायन्स क्लबद्वारा निर्मित लायन (सिंह) अनि भेडाका दुई स्तम्भले शंखेश्वर मन्दिर, शंख पार्कले थप आकर्षण भरिएको छ। बिहान बेलुकीको नित्य पूजा र धार्मिक एवम् आध्यात्मिक वातावरणले मनै लोभ्याउने गर्दछ अनि मोहित पर्यटकहरू तस्विर कैद गर्न भी८ लाग्ने गर्दछन्। ‘वर्ल्ड ग्रुप नेपाल कम्पनी’ द्वारा ‘स्काई वक्’ निर्माणाधीन अवस्थामा रहेको छ । निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
भेडेटारदेखि १२ किलोमिटर अघि एसियाकै बृहत्तम् ठूलो वरवृक्ष पाइन्छ जसले ५० हजार स्क्वायर फिट अर्थात् तेह्र रोपनी क्षेत्रफल ओगटेको छ। यसको दर्शन गरेर पर्यटकहरू मन्त्रमुग्ध हुन्छन्। १९ किलोमिटर परतिर राजरानी ताल, सूर्योदय र सूर्यास्तको रमणीय दृश्यपानको निम्ति धोजेडाँड़ा १२ किलोमिटरको दूरीमा अवस्थित छ।
‘नमस्ते’ झरना यहाँको अर्को एउटा प्रमुख आकर्षणको बिन्दु हो। ८ देखि १३ किमी अन्तर्गत ‘ओलिभ पार्क’ पर्दछ। यस्तै पर्यटन क्षेत्रमा पर्ने विश्व पर्यटन सूचीमा अन्तर्भुक्त भएका १२ वटा पर्यटन गन्तव्य, १९ वटा होम स्टे छन् । नाम्जेमा बुद्धका १००० वटा प्रतिमा निर्माण भइरहेका छन्। प्याराग्लाइडिङ, हाइकिङ, स्काइवक्, चतरा मूलघाट ऱ्याफ्टिङ इत्यादिले स्थानीय र देश विदेशका पर्यटकहरूका मन लोभ्याइरहेका छन्। जनवरी महिनामा त्यहीँ पर्यटन, व्यवसाय अनि ‘फूड फेस्टिवल’ आयोजन गरिन्छ जहाँ देश विदेशबाट गण्यमान्य व्यक्तिहरूको ओइरो लाग्दछ। जनवरी १ तारिकमा विशेष गरि भारतीय पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।
आत्माघर अर्थात् आत्मा बस्ने घर, एउटा पवित्र समाधि स्थल ‘आत्माघर’ नाउँले निर्मित छ। खूबै आश्चर्यजनक तरिकामा सीसा (ऐना) द्वारा निर्माण गरिएको समाधि देखिन्छ। शान्त वातावरण, सड़कदेखि निकै माथि स्थापित यो हामी सबैको आस्थाको स्थल मानिन्छ। छानो नभएको आत्माघरमा ढुङ्गाद्वारा निर्माण गरिएका ससाना कोठा र पर्खालहरू छन्। यो साचिकै आश्चर्य लाग्दो छ । यस चाखलाग्दो स्थलबारे श्रेष्ठबाट जानकारी पाइएअनुसार शिक्षाको क्षेत्रमा कार्यरत एकजना राजीव गोयल नामक विदेशी भोलन्टियरको संसर्गमा १८ जना विदेशी आर्किटेक्टहरूद्वारा, १८ दिनमा, मगर समुदायका ११८ वटा चिहानबाट ढुङ्गाहरू भेला गरी एउटै सिङ्गो सीसा र्( ऐना)(को समाधिभित्र एकमुष्ठमा प्रवर्द्धन गरियो, जहाँ सम्पूर्णको देवतुल्य पितृशक्तिलाई इच्छाशक्तिले गोत्र पुकारेर शक्ति माग्ने विश्वास राखेको पनि उनले जानकारी दिए। यस्तो आध्यात्मिक, विचित्र स्थलको दर्शन गर्न देश(विदेशबाट धेरै मानिसहरूको भीड़ लाग्ने गर्दछ।
यी वर्णनहरू गरिरहेको क्रममा उहाँको अनुहारमा धपक्क बत्ती बले झैं देख्छौं, कुनै युद्ध जितेर विजेता घोषित हुँदाको खुशी झैं अपार खुशीहरू देख्छौं, तब त होला उनी हरेक क्षेत्रद्वारा सम्मानित हुन्छन्।
सफल व्यवसायी तथा अन्य उद्यमीहरूको निम्ति प्रेरणाका एक स्रोत विष्णुराज श्रेष्ठको धेरैले गुनगुनाउदै गाउदैं आएका छन् । देशका धार्मिक, सामाजिक, राजनैतिक, कला, संस्कृति, साहित्य सबै क्षेत्रसँग जोड़िएर सामाजिक कार्यप्रति उनी सदैव अग्रसर छन्।
बौद्धिक स्तरमा पनि श्रेष्ठको सोच उच्च रहेको पाउँछौं। उनले पर्यटन उद्योगका निम्ति देशका उच्च ओहोदामा आसिन गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउबा, झलनाथ खनाल, प्रचण्ड, बाबुराम आचार्य, माधव कुमार नेपाल, सूर्य बहादुर थापा, रामचन्द्र पौड्याल, सुवासचन्द्र, केपी ओली जस्ता प्रधानमन्त्री तथा अन्य संघ सस्थाहरुमा पनि पर्यटन विकासको निम्ति अर्जी चढ़ाई वार्तालाप गरिसकेको उनी जनाउँछन्। विष्णु राज श्रेष्ठद्वारा प्रदान गरिने उच्च सम्मानको क्रममा राजा ज्ञानेन्द्र र युवराज परिवारसम्मलाई सम्मान हेतु मायाको चिन्ह प्रदान गरिसकेको उनी बताउछन् । काठमाडौंका एक प्रमुख युवानेता बालेन शाह, धरानका हर्क साङपाङ र ज्ञानेन्द्र शाही जस्ता विशिष्ट व्यक्तित्वहरूलाई पनि आफ्ना आदर्श सम्झी उनले मायाको चिनो प्रदान गरेका छन्।
अति गर्वको कुरो, विष्णु राज श्रेष्ठ सन् २०११ मा विदेशी पर्यटन सङ्गठनबाट साथै सन् २०२२ मा ‘इष्ट टुरिज्म मार्ट’ नेपालबाट ‘टुरिज्म पायोनियर अवार्ड’ ले सम्मानित भइसकेका छन्। ‘लोनली प्लानेट नेपाल टुरिज्म गाइड बुक’मा आफ्नो होटल ‘अरुण भेल्ली’ को पनि नाम दर्ता गराउन आफू सफल भएको कुरा उनी खुबै गर्वसाथ बताउँछन्। होटल व्यवसाय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा अझ बढ़ी अनुभव बटुल्न उनी आफ्नै लगानीको बलबुतामा सन् १९९६ देखि २०१७ सम्म सिंगापुर, हङकङ, यूरोपको शिकागो, फ्लोरिडा, वाशिङ्टन डीसी, बफेल्लो हुँदै न्यूयोर्कसम्मका अनुभवहरू बटुलेर आफ्नो भेडेटारस्थित ‘अरुण भेल्ली’ होटल कुशलतासाथ सञ्चालन गर्दै आइरहेका छन्। उनी भेडेटार पाथीभरा लायन्स क्लबका चार्टर्ड प्रेसिडेन्ट साथै संस्थापक पनि हुन्।
आधुनिक भेड़ेटारमा धेरै भव्य होटलहरू पाउँछौं। तीमध्ये विष्णुराजकी सुपुत्री सुश्री स्नेहा श्रेष्ठले पनि यसै होटल व्यवसायमा पर्दापण गरी ‘नेपालाया बुटिक’ नामक होटल सञ्चालन गरिरहेकी छन् भने छोरो बनित श्रेष्ठ अष्ट्रेलियामा कार्यरत छन्। श्रीमती शान्ति मादेन श्रेष्ठ एक कर्मनिष्ठ नारी, वरिष्ठ समाजसेवी साथै लायन्स क्लबको एउटा होम क्लब ‘लायन्स क्लब अफ् धरान बुढ़ासुब्बा’को डिस्ट्रिक्ट चीफको पदमा आसीन छिन्।
यसरी एक साधारण परिवारबाट आफ्नो परिश्रम, लगनशीलता, धैर्य र स्वनिर्भरताको धरतीमा उभिएर सम्भ्रान्त परिवार बन्न सफल भए अनि आफू एक उदाहरण बने, आफ्नो स्थानलाई विश्वमै चिनाए। यसरी सबैको हृदयमा राज गरेका छन् विष्णु राज श्रेष्ठले। उनको यो संघर्षमय जीवनबाट कुनै पनि काममा दत्तचित्त भएर लागि रहे सफलताको शिखरमा एक दिन चढ्न सकिन्छ भन्ने प्रेरणा हामी सबैलाई दिएको छ । उनको विचार, जीवनशैली र मेहनेतको सबैले अनुशरण गर्न सकिन्छ ।
(लेखिका भारतमा बस्ने नेपाली भाषाकी कवि हुन । घुम, दार्जिलिङ)