• विकास चाम्लिङ राई

हङकङ / नविन सुव्वाद्वरा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ हङकङस्थित हङकङ एकेडेमी अफ आर्ट्स फर परफर्मिङ मा अध्ययनका उद्देश्यले बुधबार प्रदर्शन गरिएको छ। उक्त विश्वविद्यालयका फिल्म विभागका प्राध्यापकहरूले चलचित्रबारे हङकङमा देखिएका समीक्षा र दर्शक प्रतिक्रिया अध्ययन पछि दोस्रो चरणमा विद्यार्थीलाई प्रत्यक्ष हेर्न दिने निर्णय गरेको निर्माता अमोड राईले बताउनु भयो।

राईका अनुसार ‘गाउँ आएको बाटो’ हङकङको बक्स अफिसमा प्रदर्शन भएको पहिलो नेपाली चलचित्र हो। त्यस्तै, विश्वविद्यालयले विदेशी चलचित्रमध्ये पहिलोपटक अध्ययन सामग्रीका रूपमा नेपाली चलचित्रलाई समावेश गरेको विषयलाई पनि उहाँले महत्वपूर्ण उपलब्धि भएको भन्नु भयो।

प्रदर्शनका क्रममा करिब तीन दर्जन विद्यार्थी तथा प्राध्यापक उपस्थित थिए। चलचित्र प्रर्दशनपछि भएको अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले निर्देशन, छायांकन, अभिनय, सम्पादनदेखि ध्वनि डिजाइनसम्मका विभिन्न विषयमा जिज्ञासा व्यक्त गरेका थिए । सो अन्तरक्रियामा प्रोफेसर सिन यीम र वर्न लोले सहजिकरण गर्नु भएको थियो । 

चलचित्रले गाउँमा भित्रिँदो शहरीकरणका कारण पहिचान, मौलिकता र स्थानीय संस्कृतिमा परेको प्रभावलाई उठान गरेको प्रसंगलाई अन्तर्राष्ट्रिय सरोकार पनि जोडिएको छ। यस विषयले फिल्ममाथि विदेशी समीक्षकको ध्यान आकर्षित गरेको कुरा राईले आफ्नो अनुभव सुनाउनु भयो । 

हङकङसँगै युके र थाइल्याण्डमा समेत बक्स अफिसमा रिलिज भएको उल्लेख गर्दै, ‘स्तरीय नेपाली फिल्म बनाउन सकेमा विदेशी हलमा पनि व्यावसायिक रूपमा चलाउन सकिने बाटो खुल्छ ।’– उहाँले अन्तरक्रियामा भन्नु भयो । 

‘गाउँ आएको बाटो’ टोरन्टो, बुसान, साओ पाउलो, गोथेनबर्ग, मुम्बई र बेइजिङका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शन भइसकेको छ। नेपालमा सुपरहिट मानिएको यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, बाल कलाकार पसन राई र प्रेम सुव्वाको मुख्य भूमिका छ। चलचित्रको अधिकांश छायांकन भोजपुरमा गरिएको र केही भाग धरानमा खिचिएको पनि निर्माता राईले जानकारी गराउनु भयो।

hk