• स्थलगत रिपोटिङ

इलाम / इलामको माङसेबुङ पालिकाको वडा नं. ४ की बुद्धमाया लिम्बुु १८ अघिदेखि यहाँ बसाइ सरेर आउनु भएको थियो । अहिलेसम्म उहाँ र उहाँको परिवारले भएका निर्वाचनमा मतदान गरेकोमा खेर नगएको बताउनु हुन्छ । उहाँले स्व. सुवास नेम्बाङले यस क्षेत्रमा गरेको भौतिक निर्माण र अन्य कामको स्मरण गराउनु भयो । 

उहाँको पहलमा दमक पञ्चमी सडक निर्माण भएको बताउदैं त्यसलाई कालो पत्रे लगाउछु भन्नु भएको झलझली याद आइरहेको बताउनु हुन्छ । उहाँको सपना पुरा गर्न अहिले छोरा आउनु भएको छ । स्व. सुवासको सपना पुरा गर्न सुवाङलाई एक पटक मौका दिनुपर्ने उहाँको भनाई छ । 

उहाँलाई चुनावी प्रश्न गर्दा गदैं भेला भएका कृष्ण लिम्बु, मंगल राई, विनिता राईलगायतको  कुरा पनि उहाँको जस्तै थियो । 'बाउ पनि राम्रै थिए । छोरा पनि रामै छ भन्छन् । सुहाङलाई यहाँका जनताले मन पराएका छन् ।'-बुद्धमायाले भन्नुभयो । 

अघिल्लो चुनावमा नेपाली कांग्रेसलाई भोट हालेको बताउने कृष्णकुमार राई यसपालि एमालेको विकल्प नभएको बताउनु भयो । माङसेबुङ वडा नं.-५ लारुम्वामा सानो होटल चलाएर बस्दैं आउनुु भएकी मनमाया राईले सबैसँग सल्लाह गरेर यस क्षेत्रको विकास गर्नेलाई भोट दिने बताउनुु भयो । सुवासलाई अघिल्लो चुनावमा भोट हालेको बताउने राई यसपालि पनि उहाँकै छोराले यहाँको भोट पाउने बताउनुहुन्छ । माङसेबुङ वडा नं. -५ लारुम्वा किरात धर्मगुरु आत्मनन्द लिङ्देन बसोवास गरेको क्षेत्र हो । करिव १७ हजार जनसंख्या रहेको लारुम्बामा झण्डै दुई हजार भोट धर्मगुरुको पकटमा भएको स्थानीयको भनाई छ । धर्मगुरुका अनुयायीहरुको बसोवास रहेको यस क्षेत्रका बासिन्दाले सबै दल र नेताहरुलाई मिलाएर मत दिने गरेको बताइन्छ । अघिल्लो निर्वाचनमा स्व. सुवासलाई समर्थन गरेको यहाँका स्थानीय बताउछन् । 

माङसेबुङ वडा नं.-२ गजुरमुखीकी होटल व्यवसायी सीता खड्काले पनि युवा उम्मेद्वार सुहाङ नेम्बाङको नाम लिनु भयो । आफुहरुको मत सूर्यलाई भन्दा दायाँवायाँ नजाने उहाँको भनाई थियो । मकै गोड्दैं गरेका अर्का किरण राईले पनि माहौल त सुहाङकै भएको बताउनु भयो । सुहाङलाई भोट किन दिने भन्ने प्रश्नमा उहाँले यसरी जवाफ दिनु भयो-'धेरै कांग्रेस, एमाले र माओवादीका नेताका छोराहरु तस्करी र दुई नम्बरी धन्दामा लागेका छन् । कतिपय जेलमा छन् । कतिपय विभिन्न अपराधहरु बाउको शक्तिको आडमा दवाएर अर्को अपराध गदैं बसेका छन् । इमान्दार छोरोहरु पढ्ने बहानामा विदेशमा गुलाम गरिरहेका छन् । सुहाङले न बुबाको शक्ति भजाएर, न विदेश गएर उतै पलायन भए । विदेशमा पढेर उनी नेपाल मै केही गरौं भन्ने सोचका छन् । यस्ता इमान्दार व्यक्तिलाई इलामबासीले अवसर दिनु पर्छ ।' 

गजुरमुखी देखि केही माथि उकालोमा भेटिएका  स्थानीयले भने कोही पनि भोट माग्न नआएको बताउनु भयो । धेरै पटक एमालेलाई जिताएकाले यस पटक कांग्रेसलाई जिताउने बताउनु  भयाे । पाका उमेरका मिलन राईले गजुरमुखीदेखि मंगलबारेसम्म जाने सडक पिच गर्ने नेतालाई गाउँलेहरुले भोट दिने बताउनु भयो । उक्त सडकको ट्र्याक खेल्ने काम स्व. सुवासले नै गरेको देउमाई नगरपालिका नेकपा(एमाले) नगर सचिव नेत्र ढुङगेलले बताउनु भयो । देउमाई-५ बोरीबोटेमा सानो बजार छ । त्यहाँका स्थानीय धेरैजसो एमाले कांग्रेसलाई नै जिताउने बताउदैं आएका छन् । केही युवा पुस्ताहरु भने नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने बताउनु भयो । देउमाई एमाले पटक क्षेत्र मानिन्छ । स्थानीय तहमा एमालेबाट मेयरमा सूर्य पोखरेल र उपमेयरमा पविमाया राईले चुनाव जित्नु भएको  थियाे  । 

देउमाई नगरपालिकाको सदरमुकाम मंलगबारे बजारका व्यवसायीहरु भने नयाँ पार्टीलाई जिताउने राय व्यक्त गर्नु भयो । कपडा व्यवसाय गदैं आउनु भएका नविन बुडाथोकीले २५ बर्षदेखि रुख र सूर्यलाई जिताइयो यो पटक घण्टीमा भोट गर्ने बताउनु हुन्छ । बजारमा पहिलेका कांग्रेस र एमालेका मतदाताहरु घण्टीलाई अवसर दिने राय व्यक्त गरेका छन् । 

इलाम नगरपालिकाका जम्मा १२ वटा वडामा १० बाहेक सबै दुई नं. क्षेत्रमा पर्छ । ३४ हजार दुई सय ४० मतदाता रहेको इलामको शहरी क्षेत्र नेपाली कांग्रेसको पटक क्षेत्र पर्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट केदार थापाले चुनाव जित्नु भएको थियो । 

इलाम वडा नं.-११ बेलासेका सोम लिम्बुले कांग्रेसलाई मतदान गर्ने बताउनु भयो । तर उहाँकै छिमेकी दिलमाया लिम्बुले भने यस पटक भालेमा भोट हाल्ने बताउनु भयो । भाले मंगोल अर्गानाइजेसनको चुनाव चिन्ह हो । 

बजार क्षेत्रको कांग्रेसको मत उपनिर्वाचनमा घण्टीले धेरै काट्ने कांग्रेसकै एक पुराना नेताको विश्लेषण छ । नेपाली कांग्रेसबाट टिकट पाउनु भएका डम्बर खड्कालाई मन नपराउने कांग्रेसका पुराना नेता कार्यकर्ताहरुले खुलेर घण्टीमा भोट मागेको उहाँ बताउनु हुन्छ । इलाम नगरपालिकाबाट कांग्रेसको भोट घण्टीले काट्ने हुँदा एमालेलाई फाइदा पुग्ने नेकपा एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदी बताउनु हुन्छ । 

केही दिन अगाडीको इलामको क्षेत्र नं.-२ का छ पालिका मध्य माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिकाका वडा नं. ६, ७ र ८ नं. वडा.र चुलाचुली नगरपालिकाको केही वडाको भ्रमणमा भेटिएका ३ सय जना व्यक्तिसँग कुराकानी गर्दा ३४ प्रतिशत सुहाङको पक्षमा २४ प्रतिशत कांग्रेसका डम्बर खड्काको पक्षमा, १९ प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीको पक्षमा १६ प्रतिशत स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको पक्षमा ५ प्रतिशत मंगोलको भालेमा र अन्य उम्मेवारको पक्षमा ३ प्रतिशत रहेको पाइयो । माङसेवुङ गाउँपालिका–५ मा भेटिएका नविन लिम्बूले आफू माओवादी समर्थक भए पनि पहिचानको मुद्दा उठाएका थेगिमलाई मूढा चिह्नमा भोट हाल्ने बताउनु भयो । 

भेटिएका मतदाता  जस्तै बुद्धिमाया, कृष्णकुमार, सीता, किरणजस्ता सदाबहार एमाले र कांग्रेसको निरन्तर वर्चश्व धानेका मानिस मानिन्छन् । जेसुकै राजनीतिक मुद्दा हुन वा चुनावमा जुनसुकै नयाँ पार्टी वा नेता उठे पनि रुख र सूर्य भन्दा दायाँबायाँ हात नजाने उनीहरुको भनाई थियो । शहरी क्षेत्रमा भेटिएका नयाँ पुराना मतदातामध्ये अधिकांशले रास्वपालाई चुन्ने बताउनुभएको छ । तर गाउँ क्षेत्रमा ठूलो संख्यामा रहेका पुराना मतदाताको झुकाव भने कांग्रेस र एमालेतिरै पाइएको छ । वैदेशिक रोजगारबाट छुट्टीमा आएकाहरूले नयाँ पार्टीलाई रोज्ने बताउनुभएको थियो भने माङसेवुङकै केही क्षेत्रका विशेष गरि राई लिम्बुसमुदायका केही व्प्यक्तिहरुले पहिचानवादीलाई भोट दिने बताउनु भएको थियो । 

इलाम–२ अन्तर्गत पर्ने इलाम, देउमाई र माई नगरपालिका र चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका ४२ वटै वडा पर्दछन् । यहाँको मतदाता संख्या एक लाख १५ हजार ८ सय ८९ रहेको छ । 

इलाम–२ को उपनिर्वाचनमा अघिल्लो पटक प्रतिस्पर्धा भएको नेकपा एमाले र नेपाली कांग्रेसकै बीच कडा प्रतिस्पर्धा हुने छ । तर एमाले र कांग्रेसको निकै भोट अन्य दल तथा उमेदवारमा  बाढिने देखिन्छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र मूढा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले कांग्रेस र एमाले दुवै दलका भोट काट्ने देखिन्छ । कांग्रेसको बढि भोट काट्नेमा रास्वपा अगाडि छ । एमालको बढी भोट काट्ने स्वतन्त्र उम्मेदवार देखिन्छन् ।

नयाँ दल र मूढामा भोट काटिए पनि इलाम–२ मा दुवै पुराना दलले आ–आफ्नो राजनीतिक साख जोगाउने देखिन्छ । पहिलो स्थानका लागि एमाले कांग्रेस र तेश्रो स्थानका लागि रास्वपा र स्वतन्त्र उम्मेदवारको हुने छ ।  यो निर्वाचन क्षेत्रमा २०५६, २०७४ र २०७९ को आमनिर्वाचन अनि २०६४ र २०७० का दुइटै संविधानसभा निर्वाचनमा एमालेका सुवास नेम्वाङ विजयी हुदैं आउनु भएको थियो । गएको भदौ २६ मा हृदयाघातका कारण उहाँको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँको विरासत थाम्ने र सुवासले सुरु गरेका योजनाहरु सम्पन्न गर्न छोरा सुहाङलाई एमालेले निर्वाचनमा उठाएको छ । 

अन्य दलहरुबाट राप्रपाका लक्ष्मी गुरूङ, एकीकृत समाजवादीका जीतबहादुर राई, राप्रपा नेपालबाट गणेशबहादुर चौहान र डोजर चिह्न भएका स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीलगायत मैदानमा छन् । 

स्थलगत रिपोटिङमा भेटिएका जस्तै इलाम-२ मा दुई ठूला पार्टी विच कडा प्रतिस्पर्धा हुने धेरै राजनीतिक विश्लेषकहरुको मत रहेको छ । २०७९ मंसिरको आमनिर्वाचनमा ति नै सुवाससँग ११४ मतले मात्र हार्नु भएका इलाम कांग्रेसका पार्टी सभापति खड्का पनि यो पटक चुनाव जित्ने गरि आफु लागेको बताउदैं आउनु भएको छ । तर युवा, जनजाती उम्मेवार एमालेले दिए पछि खड्कालाई चुनाव जित्न त्यति सजिलो छैन् । 

मंसिरको आमनिर्वाचनमा यहाँ सुवास नेम्वाङले झिनो मतान्तरमा नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्नु भएको थियो । कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलहरूको मोर्चाबन्दीका बाबजुद उहाँ ११४ मतान्तरले नेम्वाङभन्दा पछाडि पर्नु भएको थियो । नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा उहाँको २९ हजार ९०६ मत आएको थियो । तर त्यो गठबन्धन मध्यबाट हाल माओवादी एमालेसँगको गठबन्धनमा छ । समाजबादीले आफ्नै उम्मेदवार उठाएको छ । 

त्यति बेला समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल भएको थियो । कांग्रेसले २२ हजार ३३ मत पाएको थियो । माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६८६ मत पाएको तथ्याङक रहेको छ । माओवादीको यो समानुपातिक मतको ठूलो हिस्सा नयाँ गठबन्धनका कारण सुहाङतिर जाने छ । त्यस कारण पनि एमाले उपनिर्वाचनमा बलियो हुने धेरैको आंकलन रहेको छ । 

चुनाव जित्ने आधारहरु

सुहाङ नेम्वाङको सबभन्दा बलियो पक्ष उहाँका बुबा सुवास नेम्वाङको राजनीतिक विरासत मानिन्छ । २०५६ देखि इलाम–२ मा अनवरत चुनाव जित्दै आउनुभएका सुवासले यो क्षेत्रमा आफ्नो मजबुत पकड बनाउनुभएको छ । गाउँगाउँमा सडक, विजुली पुर्याएका कारण उहाँको निधनलगत्तै चुनाव हुन लागेकाले सहानुभूतिको मत सुहाङतिर जाने धेरैको अनुमान छ । दमक -माङसेबुङ सडक, गजुरमुखी- मंगलबारदेखि इलाम बजारसम्मको सडक विस्तार सुवास कै पालामा भएको हो । केही कालो पत्रे भएको छ भने केही प्रक्रियामा छ । तराईबाट इलाम जाने पुरानो पैदल मार्ग विर्तामोड- इलाम भञ्ज्याङ ४७ किमी सडक निर्माण प्रक्रियामा छ । नाली बनाउने काम भइरहेको छ । यो सडक पिच भए पछि इलामबाट तराई झर्ने दुरी निकै कम हुने छ । हाल झापाको चारआलीबाट इलाम पग्न करिव ८२ किमी दुरी पार गर्नु पर्छ । 

रोचक कुरा त सुवासले केन्द्र र प्रदेशबाट ल्याएका भौतिक निर्माणका योजनाहरुमा ठेक्का भने तिनै कांग्रेसका उम्मेदवार खडकाले पाउदैं आउनु भएको छ । ठेक्कापट्टाबाट नाम र दाम दुवै कमाउनु भएका खड्काले ठेक्का लिएको अधिकाशं सडक योजना अपुरा रहेकाले उहाँलाई यो उपनिर्वाचन कठिन भएको स्थानीय बताउछन् । 

पछिल्लो समय युवा र पढे लेखेका उम्मेदवार छान्नुपर्छ भन्ने मत धेरैमा छ । त्यसमा सुहाङको पल्ला भारी देखिन्छ । उहाँको घरदैलोको क्रममा युवाहरुको अकर्षणले पनि उहाँ बलियो उम्मदेवारको रुपम लिन सकिन्छ ।  संसद भनेको कानुन बनाउने थलो हो । यसको निम्ति कानुन नै पढेका सुहाङभन्दा बलियो उम्मेदवार अरुलाई मान्न नसकिने इलाम चुलाचुलीका बुद्धि मगर बताउनु हुन्छ । 

सुवास नेम्वाङमाथि कहिल्यै भ्रष्टाचारको दाग लागेन । संविधान बनाउन महत्त्वपूर्ण भूमिका उहाँले खेल्नु भएको छ । शक्ति दुरूपयोग कहिल्यै गरेनन् । राष्ट्रिय विभूति घोषण, धर्मनिपेक्ष राज्य घोषणा तथा आदीवासी जनजातीलाई अधिकार दिलाउने पक्षमा उहाँको नाम अगाडी आउने गरेको छ । सुवास कै कारण पनि सुहाङले इलाममा बाजी मार्ने धेरैको आङ्कलन रहेको छ । सुहाङ ले पनि बुबाको शक्तिलाई कहिल्यै दुरुपयोग गर्नु  भएन । विदेशमा शिक्षा लिएर नेपालको सेवा गर्नु नेपाली नेताका छोराहरुमा एउटा गतिलो उदाहरण मानिन्छन् । 

इलाम–२ सडक विस्तार भए पनि सबै स्थानमा पिच सडक छैन् । फाकफोकथुम गाउँपालिकामा त अहिलेसम्म पक्की सडक छैन । धेरै गाउँ दुर्गम छन् । इलामकै कर्णाली मानिने यि क्षेत्रमा विकास पुर्याउन उपनिर्वाचनमा विजयी उम्मेदवारलाई निकै चुनौती पनि छ । 

बुबाको नामले राजनीतिमा आएको भन्ने प्रचार र राजनीतिमा नभिजेको अपरिपक्कता उहाँमा लाग्दैं गरेको आरोप हो । सुवासले सुरु गरेका योजनाहरु पुरा नहुनु पनि सुहाङका लागि चुनौती हो । यता उहाँका कडा प्रतिस्पधी डम्बर खड्काले कोरोनाकालमा स्थानीय स्तरमा गरेको सहयोगका कारण कांग्रेसी मतदाता माझ प्रभाव छाडेको पाइन्छ । अहिलेसम्म सुवास नेम्वाङले जितिरहेको ठाउँमा सुहाङको उदय हुने देखेर कांग्रेसीहरूले जितको निम्ति जोडबल पनि उतिकै गरिरहेका छन् । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा लगायतका दलहरूले पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा उहाँको चर्चा निकै चुलिएको छ । २०७९ फागुन १७ मा तत्कालीन प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आफूलाई ुपहिचानवादीु दाबी गर्ने समूहहरू लामो समयपछि एकै ठाउँ उभिएर अहिले इलाम २ को निर्वाचनमा परीक्षण गर्ने योजनाका साथ मैदानमा निस्किएका छन् । प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्तावको मुख्य प्रस्तावक एमालेसँग इलाम–२ का आदिवासी–जनजाति मतको एउटा हिस्सा असन्तुष्ट रहेकाले सुहाङका लागि अर्को चुनौती देखिन्छ ।